महाकाली नदीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खालको दुवै देशका नापी अधिकृतद्धारा स्थलगत अध्ययन
2021/04/22, 10:11
 
sima

दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खालको दुवै देशका नापी अधिकृतले स्थलगत अध्ययन गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चैत ३० गते नेपाल र भारतका नापी अधिकृतको टोलीले महाकालीमा बन्दै गरेको पर्खालको स्थलगत अध्ययन गरिएको र अध्ययनले कुनै त्रुटि नभएको बताउनुभयो ।

भारतले महाकालीमा एकतर्फी रूपमा पर्खाल लगाएकोले नेपालतर्फको भूमि जोखिममा परेको भन्दै संसदमा पटक–पटक सरकारको आलोचना भएको थियो । त्यसपछि सरकारले गएको पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको संयोजकत्वमा टोली बनाएर अध्ययन गरिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

एकतर्फी पर्खाल लगाएको विषयमा भारतसँग कुरा भएको र पर्खाल ठिक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, भनेर अध्ययन गर्दा पर्खाल अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको भएको पाइएको थियो।