जनशक्ति नहुँदा थन्किए आइसीयु र भेन्टिलेटर 
2021/04/22, 10:24
 
corona

सुदूरपश्चिममा कोरोनाको दोस्रो लहर फैलन थालेको छ । नयाँ संक्रमित फेला पर्ने दर दैनिक रुपमा वृद्धि भइरहेको छ । कोरोनाको त्रासले रोजगारीका लागि भारत गएकाहरु धमाधम घर फर्कन थालेका छन् र फर्कनेमध्ये धेरैजसोमा कोरोना संक्रमण देखिन थालेको छ ।

चिकित्सकका अनुसार पछिल्लो समय जटिल अवस्थाका संक्रमित बढेका छन् । संक्रमण भयावह बनेमा अहिलेको स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै आवश्यक उपकरण र जनशक्ति थप्नुपर्ने सुझाव जनस्वास्थ्य विज्ञहरुले दिइरहेका छन् । तर सुदूरपश्चिमका अस्पतालहरुमा जडान गरिएका आइसीयु र भेन्टिलेटर भने प्रयोगविहिन छन् ।

आवश्यक जनशक्तिको अभावमा अस्पतालहरुले ती उपकरणहरु प्रयोग गर्न सकेका छैनन् । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दश वटा अस्पतालमा करिब पाँच महिनाअघि दुई÷दुई वटाका दरले २० वटा भेन्टिलेटर र २० वटा आइसीयु जडान गरेको थियो । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल र पहाडी जिल्लास्थित अन्य छ वटा जिल्ला अस्पतालमा उपकरण जडान गरिएका थिए । 

तीमध्ये सेती, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र उपकरण प्रयोगमा रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्राविधिक जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको अस्पतालहरूले जनाएका छन् । भेन्टिलेटर र आइसीयु चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ । उक्त जनशक्ति सेती र महाकाली अस्पतालमा मात्र रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डडेल्धुरामा तालिम लिएका चिकित्सकले चलाइ रहेका हुन् ।

एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन नभए पनि कार्यरत चिकित्सकलाई तालिम दिएर ती उपकरण सञ्चालनमा निर्देशनालयले चाँसो दिएको छैन । प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जनशक्ति नहुँदा अधिकांश अस्पतालमा आइसीयु र भेन्टिलेटर प्रयोगमा आउन नसकेको बताए । संक्रमणको अवस्था सामान्य नभएकाले स्वास्थ्य जनशक्तिलाई आइसीयु र भेन्टिलेटर चलाउने लामो अवधिको तालिममा पठाउन नसकिएको निर्देशक अवस्थीले बताए ।

जिल्ला अस्पताल बझाङमा पाँच महिनाअघि जडान गरिएका दुई वटा भेन्टिलेटर र तीन वटा आइसीयु उपकरण प्रयोगविहिन छन् । आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्थाका बिरामीलाई अस्पतालले डडेल्धुरा र कैलाली रेफर गर्छ । ती उपकरण जडान गरेपछि एक पटक पनि प्रयोग गर्न नपाएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सन्दिप ओखेडाले बताए । ‘आइसीयु र भेन्टिलेटर चलाउने जनशक्ति अस्पतालमा छैन । त्यसैले उपकरणहरु उत्तीकै थन्किएका छन् ।’ उनले भने । 

जिल्ला अस्पताल डोटीमा पनि जडान गरिएका आइसीयु र भेन्टिलेटर उपकरण प्रयोगमा आउन सकेका छैनन् । यी उपकरण प्रयोग गर्नका लागि जिल्ला अस्पतालमा जनशक्तिमात्रै होइन, आवश्यक ल्याब र अक्सिजनको अभाव छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश ठकुल्लाले उपकरण भएर पनि सेवा दिन नसकिएको बताए । 

उपकरण थन्क्याउनु परेकाले गम्भीर अवस्थाका बिरामीलाई जिल्ला बाहिरका अस्तालमा पठाउनुपर्ने बाध्यताको अन्त्य हुन नसकेको उनले बताए । मेसु ठकुल्लाका अनुसार आइसीयु र भेन्टिलेटर चलाउन जनशक्ति नभएको अस्पतालमा आइसीयु सञ्चालन गर्न आवश्यक पर्ने ल्याब पनि छैन  ।

‘आइसीयु चलाउन चाहिने ल्याबसमेत हामीसँग छैन । अक्सिजन पनि तराइबाट ल्याउनु पर्छ ।’ उनले भने । जिल्ला अस्पताल डोटीमा पनि करिब पाँच महिनाअघि तीन वटा आइसीयु र दुई भेन्टिलेटर जडान गरिएका थिए ।  

प्रदेश स्वास्थ्य आपूर्ति यव्यवस्थापन केन्द्रले अहिले थप एक सय २५ वटा आइसीयु खरिद गरेर यी अस्पतालहरुमा जडान गरिरहेको छ । उपकरण थन्क्याउनु परेपछि प्रदेश र केन्द्र सरकारसँग पटक–पटक जनशक्ति माग गरिएको टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दिपक रावलले बताए । उपचारका लागि आउने गम्भीर अवस्थाका संक्रमितलाई नेपालगञ्ज मेडिकल कलेज पठाउने गरेको उनले बताए । 

गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्न थालेपछि यहाँका अस्पतालहरु भरिभराउ हुन थालेका छन् ।  संक्रमितको उपचारका लागि सेतीमा १५ शैय्याको आइसीयु र १० शैय्यामा भेन्टिलेटर सुविधा छ । यस्तै महाकालीमा छ वटा आइसीयु र पाँच वटा भेन्टिलेटर रहेको निर्देशनालयले जनाएको छ । संक्रमण भयावह बनेमा उपचारका लागि आइसीयु र भेन्टिलेटरको अभाव हुने स्वास्थ्यकर्मी बताउँछन् ।

संक्रमितको उपचारका लागि रेफरल अस्पताल तोकिएको सेतीको कोरोना अस्पतालमा अहिले २१ जना संक्रमितको उपचार भइरहेको छ । यीमध्ये छ जनालाई आइसीयु र एकजनालाई भेन्टिलेटरमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले भेन्टिलेटर र आइसीयु चलाउने जशक्ति नपाउँदा पूर्ति गर्न नसकेको जनाएको छ । संक्रमण फैलन थालेकाले आइसीयु र भेन्टिलेटर सञ्चालनका लागि चिकित्सकलाई तत्काल लामो अवधिको तालिममा पठाउने अवस्था पनि नरहेको प्रदेश स्वास्थ्य निर्देशक अवस्थीले बताए ।

जनशक्ति नहुँदा प्रदेशका अधिकांश अस्पतालमा जडान गरिएका आइसीयु र भेन्टिलेटर प्रयोगविहिन अवस्थामा रहेका उनले । ‘आइसीयु र भेन्टिलेटर गम्भीर अवस्थाका बिरामीलाई दिइने अत्यन्तै संवेदनशील सेवा हो । त्यसैले यो सञ्चालनका लागि उच्चस्तरको जनशक्ति आवश्यक पर्छ ।’ उनले भने, ‘तर हामीसँग त्यो जनशक्ति छैन । पाउन पनि गाह«ो छ । त्यसैले उपकरण प्रयोगविहिन छन् ।’

मेडिकल अधिकृत तहका चिकित्सकलाई न्यूनतम तीन महिना लामो तालिम दिएर आइसीयु र भेन्टिलेटर सेवा सामान्य रुपमा सञ्चालन गर्न सकिने उनले बताए । ‘त्यतिबेला कोरोनाका कारण चिकित्सकलाई लामो अवधिको तालिममा पठाउन सकेनौँ । प्रदेशमा जनशक्ति कम छ । संक्रमण बढ्न थालेकाले अहिले पनि तालिममा पठाउनसक्ने अवस्था छैन ।’ अवस्थीले भने । 

तालिम दिने सुविधा पनि बीर अस्पताल, शिक्षण अस्पताललगायत थोरै ठाउँमा मात्र रहेको उनले बताए । यसअघि उपकरण जडान गर्दा केही दिनको सामान्य अभिमुखीकरणमात्र दिइएको निर्देशनालयको भनाइ छ । सरकारले सेवा, सुविधा दिएन भन्नु भन्दा पनि संक्रमणबाट जोगिन नागरिक आफै सतर्क हुनुपर्ने डा. अवस्थीको सुझाव छ ।