शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैंडा
2021/04/22, 12:37
 
6tt

६ वर्षको अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या वृद्धि भएको छ । सन् २०१५ मा गरिएको राष्ट्रिय गणनाको तुलनामा यहाँ गैंडाको संख्या ४ ले बढेको हो । राष्ट्रिय गणना कार्यक्रमअन्तर्गत चैत १९ देखि २५ गतेसम्म गरिएको गणनाअनुसार निकुञ्जमा गैंडाको संख्या ३ भाले, ४ पोथी, ६ पहिचान खुल्न नसकेको र ४ केटो गरी १७ पुगेको हो । सन् २०१५ मा गरिएको राष्ट्रिय गणनामा यहाँ गैंडाको संख्या ८ थियो । सन् २०१७ मा चितवन राष्ट्रिय निकुञ्जबाट ५ गैंडा स्थानान्तरण गरिएको थियो ।

गत वर्ष गरिएको अनुगमनमा निकुञ्जमा गैंडाको संख्या १७ नै थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले गैंडाको संख्यामा केही वृद्धि भए पनि सन्तोषजनक भने नरहेको बताए । गैंडाको संख्या बढी भएको क्षेत्रमा वृद्धि पनि त्यही अनुपातमा हुन्छ । संख्या कम भएको क्षेत्रमा वृद्धि पनि कम हुने गर्छ । शुक्लाफाँटामा पनि संख्या न्यून भएकाले वृद्धिको अनुपात पनि न्यून रहेको चौधरी बताउँछन् ।