धनगढीका व्यापारीको भक्तपुरमा दुर्घटना हुँदा मृत्यु
2021/04/22, 4:44
 
aa

धनगढीका एक जना व्यापारीको भक्तपुरमा दुर्घटना हुँदा मृत्यु भएको छ । धनगढीको चौराहमा रहेको पाठक चस्मा सेन्टरका सञ्चालक पदमराज पाठकको दुर्घटनामा मृत्यु भएको हो । व्यवसायकै सिलसिलामा राजधानीमा पुगेका ४३ वर्षीय पाठक सवार रा २ प ४४३७ नम्बरको मोटरसाइकल र बा ३ ख ४४६५ नम्बरको टिपर भक्तपुरको गठ्ठाघरमा बुधवार राति सवा ९ बजे ठोक्किँदा घाईते भएका थिए ।

मोटरसाइकलको पछाडि सवार धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा मृत्यु भएको हो । पाठकका एक श्रीमती र दुई छोरी छन् । उनको शव भोलि धनगढी ल्याउने परिवारले जनाएको छ । उनी पछिल्लो पटक कैलाली उद्योग वाणिज्य संघको निर्वाचन हुँदा उम्मेदवार थिए । सोही दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका छन् । उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।