हुलाक बैंकका बचतकर्तालाई साँवै गुम्ने चिन्ता
2021/04/23, 5:27
 
hulako

डडेलधुराको अमरगडी नगरपालिका–५ का शिवराज पन्त लामो समयदेखि बझाङ सदरमुकाम चैनपुरमा होटल व्यवसाय गर्दै आएका छन् । होटलबाट भएको आम्दानीबाट बचेको पैसा उनले हुलाक बचत बैंकमा श्रीमती रिता पन्त र आफ्नो संयुक्त खातामा जम्मा गर्दै आएका थिए ।

उनीहरुको दश लाख रकम हुलाक बचत बैंकमा बचत छ । सोही बैंकमा उनले छोरी ममता र छोरा त्रिलोकको नाममा पनि खाता खोलेका छन् । उनीहरुको खातामा १ लाख ७ हजार जम्मा छ । पन्त परिवारको मात्र हुलाक बचत बैंकमा ११ लाख रकम छ । तर पन्त परिवारले आफ्नो बचत खाताबाट पैसा निकाल्न सकेको छैन । अहिले उनीहरुलाई आफूले जम्मा गरेको साँवा पनि गुम्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ ।

जयपृथ्वी नगरपालिका–७ सुवेडाकी महेश्वरी बम हप्ता दिन बिराएर जिल्ला हुलाक कार्यालय पुग्ने गर्छिन् । हुलाकका कर्मचारीसँग उनको एउटै प्रश्न हुन्छ– हामीले रुपैयाँ कहिले पाउने ? सधैंजसो कर्मचारीको एउटै जवाफ हुन्छ– पैसा आएको छैन । हुलाक बचत बैंकमा उनले साढे सात लाख रुपैयाँ जम्मा गरेकी छन् । उनी भन्छिन्, “उबेलामा अहिलेजस्तो धेरै बैंकहरु पनि थिएनन् । अन्य बैंकभन्दा ब्याज पनि राम्रो पाइने भएपछि बचत गर्न थालियो । अहिले आफ्नै धनले आफैंलाई दुःख दियो ।”

उनीहरूजस्तै हुलाक बचत बैंकबाट पीडितहरु दैनिकजसो रकम फिर्ता माग्न कार्यालयमा आउने गरेका छन् । बझाङ जिल्लाका होटल व्यवसायी, महिला समूह, विभिन्न सहकारी, विद्यालय, व्यक्तिगत गरी १ हजार ७ सय जना बचतकर्ताहरुले हुलाक बचत बैंकबाट आफ्नो कारोबार गर्न पाएका छैनन् ।

अधिकांश बचतकर्ता हिंसापीडित र न्यून आय भएका ग्रामीण महिला, ज्येष्ठ नागरिक तथा बालबालिका छन् । उनीहरू दिनहुँजसो हुलाक कार्यालय पुगेर आफूले जम्मा गरेको रकम कहिले आउँछ भनेर सोध्ने गरेको कार्यालयका कर्मचारी यज्ञराज खत्री बताउँछन् । उनले भने, “आफूले बचत गरेको रकम फिर्ता माग्न दिनमा आठदेखि दश जनासम्म आउँछन । सेवाग्राहीलाई रित्तै फर्काउनु पर्दा मन दुखेर आउँछ । सेवाग्राहीलाई तपाईंको बचत रकम गुम्दैन, हामीले आवश्यक प्रक्रिया सुरु गरेका छौं भनेर सम्झाएर फर्काउँदा, फर्काउँदै थाकिसकें ।” कर्मचारीले रकम हिनामिना गरे पनि बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व राज्यको भएकाले समयमै भुक्तानी गरिनुपर्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०७०÷०७१ मा हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेको थियो । तत्कालिन समयमा जिल्लामा कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंकहरु नभएको र आकर्षक ब्याज पाउने भएपछि बचतकर्ताहरु हुलाक बचत बैंकतर्फ आकर्षित भए । सेवा सुचारु भएसँगै बचत बैकमा बचतकर्ताको भीड लाग्न थाल्यो । तर जिल्ला हुलाक कार्यालयका कर्मचारीले बचतकर्ताको रकम हिनामिना गरेपछि बचतकर्ताहरुलाई आफ्नो साँवा गुम्ने चिन्ताले पिरोलिरहन्छ । आकर्षक व्याजसहित कारोबारमा सहयोग पुग्ने आशाले हुलाक बचत बैंकमा बचत गर्ने १ हजार ७ सय १ जनाको ५ करोड ७८ लाख ६४ हजार रुपैयाँ गुम्ने अवस्था आएको छ ।

हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेकै वर्ष करिब एक करोड भन्दा बढी रकम जम्मा भयो । बचतकर्ताहरु बढेसँगै तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायको नजर बचतकर्ताको बचतमा पर्न थाल्यो । दुबै जना मिलेर कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैं चलाउने गरेका कारण रकम हिनामिना भएको हो ।

बैंकले सेवा सुरु गरेकै पहिलो वर्षमा उनीहरुले झण्डै ७५ लाख रुपैयाँ अपचलन गरेको देखिन्छ । बचतकर्ताले जम्मा गरेको रकम हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने भएपनि दुवै जना मिलेर व्यक्तिगत काममा चलाउँदै आएका कारण रकम हिनामिना भएको जिल्ला हुलाक कार्यालय प्रमुख राजेन्द्र बोहराको भनाइ छ ।

आर्थिक वबर्ष २०७४÷०७५ सम्म आइपुग्दा बचतकर्ताले जम्मा गरेको ५ करोड ७८ लाखमध्ये ४ करोड ९५ लाख रकम अपचलन गरेको पाइएको छ । उनीहरुले पैसा आफैंले राखेर बाहिरका मानिसहरुसँग चर्को ब्याजमा लगाउने, घरजग्गा खरिद बिक्री गर्ने र बचतकर्ताहरु बचत फिर्ता वा ऋण माग्न बैकमा आए व्यक्तिगत रुपमा खल्तीबाटै दिएर बैंक चलाउने गर्दै आएका थिए ।

कार्यालय प्रमुख र खरिदारको यो चर्तिकला थाहा पाएपछि बचतकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे । अख्तियारमा उजुरी परेपछि अख्तियारको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले हुलाकका कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायमाथि प्रारम्भिक छानबिन ग¥यो । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले हुलाक कार्यालयका प्रमुख र खरिदार दुबै जनाले बचतकर्ताले जम्मा रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने ठाउँमा कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले व्यापक अनियमितता भएको प्रतिवेदन अख्तियारमा पेस गरी सो सम्बन्धमा थप छानबिन गरी कारबाहीे अघि बढाउन पत्र पठायो ।

प्रतिवेदनका आधारमा आयोगको टोली बझाङ पुग्यो । अख्तियारको टोलीले छानबिन गर्दा दुबै जनाले बचतकर्ताकोे ४ करोड ९५ लाख अनियमितता गरेको ठहर गरी कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता ग¥यो । मुद्दा दर्ता भएपछि विशेष अदालतले २०७६ माघ २४ मा दुबै जनालाई नियन्त्रणमा लियो । तर अदालतले एक महिना नपुग्दै फागुन १२ गते तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायतसँग १५ लाख र खरिदार शिवराज उपाध्यायसँग १२ लाख धरौटी लिएर रिहा गरेको थियो ।

अहिले दुबै जनाको मुद्दा अदालतमा विचाराधीन छ । आरोपित धरौटीमा छुटेको एक वर्षभन्दा बढी भयो । पाँच करोड भ्रष्टाचार गर्नेलाई २७ लाख धरौटी लिएर छोडेकोे विशेष अदालतको निर्णयप्रति बचतकर्ताहरु सन्तुष्ट छैनन् । बचतकर्ताको रकम फिर्ताबारे जिल्लाका मात्रै होइन, केन्द्रीय कार्यालयका कर्मचारी पनि अन्योलमा छन् । आफूले पटक पटक बचतकर्ताको रकम र तोकिएको ब्याजसहित फिर्ता गर्नुपर्छ भनेर माथिल्ला निकायमा अनुरोध गरिरहेको जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले बताए ।