क्वारेन्टाइन व्यवस्थापनमा स्थानीय तहको बेवास्ता
2021/04/24, 11:35
 
corona

कञ्चनपुर  जिल्लामा दैनिक ५०/६० भन्दा बढी संक्रमित थपिँदै गएका छन् । भारतबाट आउनेमा बढी मात्रामा संक्रमण देखिन थालेको छ । संक्रमण बढ्दै गए पनि स्थानीय तहले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापनमा बेवास्ता गरेका छन् ।

गत वर्ष लकडाउन सुरु हुँदा जिल्लामा कोरोनाको संक्रमण देखिएको थिएन । स्थानीय तहहरूले हरेक वडामा रहेका विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेका थिए । भारतबाट आउनेलाई नाकाबाटै सिधै क्वारेन्टाइनमा राख्ने गरिन्थ्यो । तर अहिले नाकामा सामान्य चेकजाँचका भरमा सोझै घर पठाउने गरिएको छ । यसबाट समुदायमा संक्रमण तीव्र गतिमा फैलिइरहेको छ ।

‘स्थानीय तहहरूले क्वारेन्टाइन व्यवस्थापनमा ध्यान दिन नसक्दा अवस्था जटिल हुन सक्ने देखिन्छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘अहिलेसम्म जिल्लाका कुनै पनि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गरेका छैनन् ।’ उनका अनुसार भारतबाट घर फर्केकालाई नाकामा सामान्य जाँचकै भरमा घर पठाउने गरिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरू भने तत्काल क्वारेन्टाइनको आवश्यकता नभएको र केन्द्रबाट पनि कुनै निर्देशन नआएको भन्दै बेवास्ता गरिरहेका छन् । भारतबाट फर्केकाहरू होम क्वारेन्टाइन र संक्रमितहरूसमेत होम आइसोलेसनमा बसिरहेको उनीहरू बताउँछन् ।

‘भारतबाट फर्केका भन्दा पनि समुदायमै संक्रमण बढी देखिएको छ,’ भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला सिंहले भनिन्, ‘क्वारेन्टाइन बनाउने विषयमा केन्द्रबाट पनि कुनै परिपत्र आएको छैन, हामी अन्योलमै छौं ।’ भीमदत्त नगरपालिकामा सक्रिय संक्रमितको संख्या एक सयको हाराहारीमा पुगेको छ ।

नगरपालिकाका कर्मचारीमा समेत संक्रमण देखिएपछि बुधबारदेखि सबै सेवाहरू बन्द गरिएका छन् । ‘अहिले सबै होम क्वारेन्टाइनमै बसिरहेका छन्,’ दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले भने, ‘नगरपालिकामा क्वारेन्टाइन बनाउने विषयमा तत्काल कुनै तयारी छैन ।’ दोधारा चाँदनी नगरपालिकामा अहिले सक्रिय संक्रमितको संख्या १० छ ।

जिल्लाका दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ । भारतसँगै सीमा जोडिएका र गौरीफन्टा नाकाबाट सोझै नगरपालिकामा भित्रिने भएकाले यहाँ पनि क्वारेन्टाइन अति आवश्यक नै हो । तर नगरपालिकाले अहिलेसम्म क्वारेन्टाइन व्यवस्थापन गर्न सकेको छैन ।

‘गत वर्ष त विद्यालय बन्द थिए त्यही क्वारेन्टाइन बनायौं,’ पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले भने, ‘अहिले विद्यालय पनि चलेकै छन्, भारतबाट आउने पनि बढेकै छन् ।’ उनले होम क्वारेन्टाइन र होम आइसोलेसनमा बसेकाहरूसमेत खुलेआम घुम्न थालेकाले झनै चुनौती थपिएको बताए । पुनर्वास नगरपालिकामा अहिले सक्रिय संक्रमितका संख्या १७ छ । उनीहरू सबैलाई त्रिभुवनबस्ती स्वास्थ्य चौकीको आइसोलेसन केन्द्रमा राखिएको छ । उक्त आइसोलेसन केन्द्रको क्षमता १५ बेडको हो ।

शुक्रबार कञ्चनपुरमा एन्टिजेन परीक्षणबाट ४७ र पीसीआर परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा एन्टिजेन परीक्षण गराएकामध्ये संक्रिय संक्रमित ३ सय ५८ र पीसीआर परीक्षण गराएकामध्ये १ सय ३९ सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गराएका ३ सय ४६ मध्ये ३८ जनामा संक्रमण देखिएको हो । महाकाली अस्पतालमा २४ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो । यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ९ जनामा संक्रमण देखिएको छ ।