सरकारले मुक्त हलियाको पुनःस्थापना गरेको दाबी गरिरहेको भए पनि पश्चिम नेपालमा मुक्त हलियाहरू अझै घरबासकै प्रतीक्षामा छन् । केही मुक्त हलिया परिवारले आफूले पाएको जग्गा यकिन नभएर बसोबास गर्न पाएका छैनन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका– २ को ग्रिनबेल्टमा टहरा बनाएर बसेका ६० वर्षीय गणेशराम चुनारा मुक्त हलिया हुन् । उनीसँग जग्गाधनी पुर्जा छ तर पुर्जामा भएको जमिन भने कहाँ छ भन्ने ठेगान छैन । ‘खल्लातिर छ भन्छन्, त्यहाँ गयो भने सबैले आफ्नै भन्छन्,’ चुनाराले भने, ‘भूमिसुधार कार्यालयले पनि हाम्रो जमिन छुट्याइदिएन ।’ उनकाअनुसार भूमिसुधार कार्यालयका कर्मचारीलाई समेत जमिनबारे कुनै जानकारी छैन । उनले ५ वर्षअघि तत्कालीन भूमिसुधार कार्यालयबाट घरबासका लागि ११ धुर जमिनको लालपुर्जा पाएका थिए । लालपुर्जा पाए पनि जमिन नछुट्याइएकाले उनी हालसम्म घरबासको व्यवस्था हुन नसकेर बिचल्लीमा परेका हुन् ।
उनले घर निर्माणका लागि सरकारबाट १ लाख ५७ हजार रुपैयाँ पनि पाए । तर जमिनको टुंगो नभएका कारण त्यो रकम त्यत्तिकै खर्च भयो । ‘नगरपालिकाको ग्रिनबेल्टमा छाप्रो बनाएर बसेको छु,’ चुनाराले भने, ‘घर बनाउन दिएको पैसा पनि त्यत्तिकै सकियो, आम्दानी केही छैन त्यसैले घर खर्च चलाइयो ।’
चुनारा बैतडीमा करिब २ दशक हलिया बसेका थिए । सरकारले मुक्त घोषणा गरेपछि उनी तराई झरेका हुन् । उनीसँगै मुक्त भएका धेरैले जमिन पाएर घर निर्माण गरे । तर उनले लालपुर्जामात्रै पाए । त्यही लालपुर्जा सिरानीमा राखेर सुत्छन् । घर निर्माणका लागि पाएको रकम पनि त्यत्तिकै सकियो ।
बेलडाँडी गाउँपालिका– २ मै बसोबास गरिरहेकी वसन्ती सुनारसँग पनि करिब आधा का जमिनको लालपुर्जा छ । तर उनको लालपुर्जामा भएको जमिनको पनि ठेगान छैन । बेलडाँडी गाउँपालिका–१ को रतनपुरतिर जमिन दिएको भन्ने उनले सुनेकी थिइन् । तर त्यो जमिन खोज्न जाँदा स्थानीयले लखेटेको उनी बताउँछिन् ।
‘लालपुर्जा हामीसँग छ, तर जमिन कता छ थाहा छैन,’ सुनारले भनिन्, ‘हामीले घर बनाउनसमेत जमिन पाएनौं ।’ घर बनाउन दिएको पैसा पनि त्यत्तिकै सकियो । उनले पनि घर बनाउन १ लाख ५७ हजार रुपैयाँ पाएकी थिइन् ।
सुनारका अनुसार २०७२ मा बेलडाँडी गाउँपालिका–१ रतनपुरमै २२ मुक्त हलिया परिवारलाई लालपुर्जा दिइएको थियो । तत्कालीन भूमिसुधार कार्यालयले महिला र पुरुष दुवैका नाममा संयुक्त लालपुर्जा उपलब्ध गराएको थियो । लालपुर्जा पाउँदा निकै खुसी भएका उनीहरू अहिले भने घरबासका लागि जमिनको ठेगान नहुँदा निराश भएका छन् ।
‘जग्गाको पहिचान नगरेरै लालपुर्जा वितरण गर्दा यस्तो समस्या आएको हो,’ मुक्त हलिया पुनःस्थापना समितिका संयोजक हरि श्रीपाइलीले भने, ‘अधिकांशलाई बाढी लाग्ने, कटान हुने, जंगल किनारमा घर बनाउन दिइएको छ ।’ उनका अनुसार त्यस्तो ठाउँमा जमिन पाएकाहरू प्नि बसोबासका लागि घर बनाउन गएका छैनन् ।
कञ्चनपुरको वेदकोट नगरपालिका–८ गाउजीमा मुक्त हलियाका लागि निर्माण भएका घरहरू अहिले रित्ता छन् । उक्त क्षेत्रमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण भएका १९ घरमध्ये अधिकांश खाली छन् । चुरे फेदीमा पुनःस्थापना गरिएका उनीहरू ज्याला मजदुरीको कामसमेत नपाइने भएपछि घरहरू छाडेर हिँडेका हुन् ।
केही स्थानमा मुक्त हलिया परिवारलाई व्यवस्थित ढंगले पुनःस्थापना गर्न एकीकृत बस्ती निर्माणका योजना अघि सारिए पनि अधिकांश ठाउँमा मुक्त हलियाको बिजोग भएको छ । पछिल्लोपटक सरकारले पुनःस्थापनाको जिम्मा स्थानीय तहलाई दिएको छ तर कतिपयले अहिलेसम्म परिचयपत्र पाएका छैनन् । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार जिल्लामा २ हजार ५ सय १६ मुक्त हलिया परिवारको लगत संकलन भए पनि १ हजार ९ सय ९१ जनाले मात्रै परिचयपत्र पाएका छन् । हालसम्म १ हजार ८ सय ३० परिवारको पुनःस्थापना भएको छ ।