काठमाडौंमा उपचाररत कैलालीका पत्रकार पुष्पराज (पिआर)चटौतको उपचारका लागि सहयोग रकम संकलन अभियान शुरु गरिएको छ । प्रेस यूनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा शनिबारदेखि सो अभियान शुरु गरिएको हो ।
अभियानको पहिलो दिन सञ्चारकर्मीहरुबाट झण्डै १६ हजार नौ सय १५ रुपैया“ संकलन गरिएको थियो । संकलित रकमलाई नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीलाई हष्तान्तरण गरिएको थियो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल र प्रेस यूनियन कैलाली शाखा अध्यक्ष देउवाले संयूक्त रुपमा महासचिव पुरीलाई रकम हष्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै महासचिव पुरीले पत्रकारको स्वास्थ्य उपचारका लागि संकलित रकम भेटेर हष्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले केन्द्रिय समितिले पनि पत्रकार चटौतका लागि आर्थिक सहयोगका लागि पहल गर्ने बताए । उनले भने –‘अहिले सञ्चारकर्मीहरु जटिल अवस्थामा पुग्दा स्वास्थ्यउपचार गर्न आर्थिक अभाव झेलिरहेका छन । यस विषयमा महासंघ गम्भिर हुनेछ र पहल थाल्नेछ ।’
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले पत्रकारको स्वास्थ्यउपचारका लागि एक करोडको कोष स्थापना गरिने घोषणा गरे । उनले भने –‘अहिले पत्रकारहरु विरामी पर्दा आर्थिक अभाव झेलिरहेका छन । यो समस्या आउन नदिन महासंघले एक करोडको अक्षयकोष स्थापना गर्ने छ । मेरो पहिलो अभियाननै यही हुने छ ।’
प्रेस यूनियनका अध्यक्ष श्रवण देउवाले सानो–सानो रकम संकलन गरेर पत्रकार चटौतको उपचार खर्चमा केही राहत पुगोस भनेर अभियान सञ्चालन गरिएको बताए । पत्रकार चटौत २०६४ सालमा मोटरसाईकल दुर्घटनामा परि घाइते भएका थिए । अहिले उनको कुइनोको नशा च्यापिएको जनाइएको छ । सो को अप्रेसन गर्न महगो शूल्क लाग्ने भएकाले आर्थिक सहयोग अभियान गरिएको हो ।