भारतसँग जोडिएका सिमानाका क्षेत्रमा कडाइ 
2021/04/26, 10:00
 
corona

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै  कञ्चनपुर जिल्लाका सिमानाका क्षेत्रमा कडाइ गरिएको छ । जिल्लाको भारतसँग जोडिएका प्रमुख नाकामा जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको हो । प्रशासन कार्यालयका अनुसार कोरोनाको जोखिम जिल्लामा उच्च हुने अवस्था दिनप्रति दिन बढ्दै गएकोले नाका क्षेत्रमा कडाई गरिएको छ । 

जिल्लाको गड्डाचौकी, गौरीफान्टा र टनकपुर-ब्रह्मदेव लगायत भारत सँग जोडिएका नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । प्रशासन कार्यालयका अनुसार भारत सँग खुल्ला सिमाना जोडिएका क्षेत्र जिल्ला भएता पनि कोरोनाको जोखिम उच्च रहेको भन्दै आउ जाउ गर्ने मुख्य सिमा क्षेत्रमा कडाई गरिएको छ । 

“कोरोनाको जोखिमको दृष्ट्रिले हेर्दा कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको अवस्था छ, त्यसकारण सिमानाका क्षेत्रमा कडाइ गर्न पनि आवश्यक हुन्छ ।” प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, “महामारी सँग जुध्ने श्रोतसाधन तथा जनशक्तिको एकदमै अभाव छ, अभाव भएपनि अभाव रहेको जनशक्तिको पनि उच्च प्रयोग गरिएको छ, सिमानाका क्षेत्रमा कडाइ देखि लिएर महामारीको संक्रमण कम हुन दिन एक भएर लागिएको अवस्था छ ।”

लामो समय देखि कोरोनाले बन्द भएको नाकामा आवतजावत पनि व्यवस्थित गरिएको छ । अतिआवश्यक काम बाहेक अन्यत्र कामकाजको लागि वारीपारी गर्न दिइएको छैन । कोरोनाको जोखिम उच्च रहेका कारण सिमावर्ती भारतीय बजार क्षेत्रमा आवतजावत गर्न कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी महताले बताए । 

यस्तै पश्चिमी सिमानाका क्षेत्रमा रोजगारीको शिलशिलामा भारत गएका नेपाली नागरिकहरुो स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ । स्वदेश फर्किने नेपालीको सङ्ख्या बढ्दै गएपनि पश्चिमी सिमानाका गड्डार्चाकीमा १ हजार क्षमताको होल्डिङ सेन्टर पनि राखिने भएको छ । 

प्रजिअ महतोको अनुसार जिल्लामा ९० जना क्षमताको आइसोलेन कक्ष पनि व्यवस्था गरिएको छ । कोरोनो बढ्दो जोखिमलाई मध्यनगर गरेर आइसोलेन तथा होल्डिङ सेन्टर जस्ता कुराहरुको व्यवस्था गरिने लागेको उनले बताए । सिमानाकामा कडाइ गरिएसँगै भारतबाट नेपाल आउने भारतीय तथा नेपाली नागरिकहरुलाई पनि स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गराउन लगाइएको छ । 

“प्रशासन कार्यालयले भारतबाट स्वदेश फर्कने नेपाली नागरिकका लागि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गराउने तथा आवश्यक प्रक्रिया गरेर स्वदेश फार्कने व्यवस्था गरिएको छ ।” प्रजिअ महतोले भने, “यस्तै अतिआवश्यक कामकाजको लागि नेपाल आउन चाहने भारतीय नागरिक तथा भारतबाट स्वदेश फर्किने नेपाली नागरिकहरुलाई आवश्यक स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गराएर सिमाक्षेत्रमा सहजता गर्ने गरिएको छ ।”

नाका क्षेत्रमा महामारीको उच्च जोखिम रहेको भन्दै प्रशासन कार्यालयले महामारीको विषयलाई सम्बेदनशिल रुपमा राखेर आवश्यक काम कारवाही अगाडी बढाइरहेको जिल्ला प्रमुख अधिकारी रामकुमार महतोले बताए । 

यसैगरी भारतीय पक्षले पनि सिमानाका क्षेत्रमा कडाइ गरेको छ । नेपाली सिमासँग जोडिएको भारतीय शहर बनबासा लगायत अन्य क्षेत्रहरुमा पनि कोरोना महामारी बढ्दै गएको हुनाले आधा दिन जति कर्फ्यु पनि लगाएको छ ।