लयमा धनगढी
2021/04/28, 10:47
 
dfc

अक्सन, विदेशी खेलाडी र आईकोनीक खेलाडी हेर्दा कागजमा धनगढी एफसी एनएसएलको सबैभन्दा बलियो टिम देखिन्छ । तर आफ्नो पहिलो खेलमै धनगढीले विराटनगर सिटी एफसीसँग नमज्जाकाे हार व्यहाेर्याे । त्यो पनि ३–० को नतिजामा । प्रशिक्षक युगलकिशोर राईले भनिहाले, तीन गाेल अन्तरकाे हार निकै ठुलो हो । धनगढी हराएकाे विराटनगर पहिलो चरणमा बलियो देखियो । सुरुवातमै गोल गरेपछि विराटनगरले खेलमा एकोहोरो दबाब बनाएकाे थियो । र महत्वपूर्ण तीन अंक हासिल गर्याे ।

खेलमा पराजित भएसँगै पत्रकारसंग धनगढीका प्रशिक्षक युगल किशोर राईले खेलमा गोल गर्नु र गोल रोक्नु महत्वपुर्ण हुने उल्लेख गर्दै आफ्नो टिम दुवैमा असफल भएको बताएका थिए । उनले भनेको थिए, ‘खेलमा दुई चिज निकैनै महत्व हुन्छ । एक गोल गर्ने, अर्काे गोल रोक्ने । हामीले दुबै पुरा गर्न सकेनौं ।’

मंगलबार दोस्रो खेलमा भने धनगढी मैदानमा पुरा समय छायो । बलियो टोली काठमाडौं रेजर्सको सामना गरेको धनगढी सबै पोजिसनमा बलियो देखियो । मंगलबार जित निकाल्ने पालो धनगढीको थियो । पहिलो चरणमा बलियो देखिएको काठमाडौं रेजर्सविरुद्ध धनगढीले शानदार जित निकाल्यो । खेलको १९ औं मिनेटमा टंक बस्नेतले आकर्षक गोल गरे । उनले मैदानको दायाँ भागबाट क्रस गरेको बल दोस्रो बारमा लागेर गोलरक्षक बिकेश कुथुलाई ‘टच’ हुँदै जाली चुमेका थियाे ।

बाँकी दुई गोल उस्तै उत्कृष्ट थिए । दुवै काउन्टर गोल थिए, दुवै गोल पहिलो हाफमै सम्भव भएका थिए ।

2

पहिलो गोल भएको चौथो मिनेटमै धनगढीका लागि नाईजेरियन खेलाडी ओलादिपो ओलावाले आफिजले गोल गरे । काउन्टरमा सो गोल भएको थियो । धनगढीका मार्की खेलाडी विशाल राईले काठमाडौंका विदेशी खेलाडीबाट बल खोस्छन्, सो बल दर्शन गुरुङले काउन्टरमा आफिजलाई दिन्छन् । मैदानको ठिक मध्यभागमा बल पाएका आफिज ओलावाले तिब्र गतिमा बललाई काठमाडौंको पोष्टको दिशातर्फ पुर्याउँछन् । डिफेण्डर फ्लोरेन्ट कोअरा र गोलरक्षक विकेश कुथुलाई बिट गर्दै आकर्षक गोल गर्छन् ।

तेस्रो गोलपनि उत्कृष्ट रह्यो । काठमाडौं रेजर्सका खेलाडीले कुनै भेउनै पाएनन् । यस गोलको श्रेय जान्छ, अशोक खवासलाई । कप्तान किरण कुमार लिम्बुले हातले बल ‘रिलिज’ गर्दै ‘राईट ब्याक’ अशोक खवासलाई बल दिन्छन् । अशोकले तिब्र गतीमा बल अगाडी बढाउँदै मिडफिल्डरद्वय संजोक राई र तेज तामाङलाई बिट गर्दै दर्शन गुरुङलाई पास निकाल्छन् । दर्शनले ६ खेलाडीलाई बिट गर्दै मैदानको बायाँ भागबाट पास मिलाउँछन् । र ‘सिक्स यार्ड बक्स’ भित्र रहेका आफिजले सहजै बललाई पोष्टको दिशा दिन्छन् । यो गोल ‘थ्री टच’ मा सम्भव हुन्छ ।

करिब एक बर्षपछि नेपाली फुटबलमा फर्किएका आफिजले दुई गोल गरेपछि पश्चिमको टोली धनगढीले शानदार जित निकाल्यो । योसँगै अफिजले आफुलाई पुरानै लयमा देखाए । धेरै प्रश्नको उत्तर गोलबाटै दिए ।

पहिलो हाफमा तीन गोल गरेको धनगढी दोस्रो हाफमा थप गोल गर्न चाहन्थ्यो । तर उसका डिफेण्डर रमेश डंगाल दोस्रो पहेलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएपछि धनगढीले रक्षात्मक खेल खेल्यो । ६२ मिनेटमा पहिलो कार्ड भेट्टाएका रमेशले त्यसको ६ मिनेटपछि दोस्रो कार्ड ब्यहोरे । दोस्रो हाफको २३ र थपिएको ५ मिनेटमा धनगढीले राम्रो डिफेन्सिभ खेल खेल्यो । १० खेलाडी मात्रै भएपनि धनगढीले मैदानमा छाएरै खेल्यो । ‘आईकोनीक’ तथा कप्तान गोलरक्षक किरणले पनि धैर्यता गुमाएनन् । दिनेश राजवंशीले पुरै डिफेन्सको कमान्ड सम्हालेका थिए ।

2

खेलपछि धनगढीका प्रशिक्षक राईले यसअघिको कमीकमजोरी सुधार गर्दै लक्ष्य पुरा गरेको प्रतिक्रिया दिए ।  ‘सुरुको खेलमा भनेको दुई कुरानै हामीले पुरा गर्याै । योजना अनुसार तीन अंक आयो ।’ पछिल्लो ए लाईसेन्स ब्याजका प्रशिक्षक राईले भने ।

उनले राष्ट्रिय खेलाडी र प्रशिक्षकमा फुजाजस्तो कोचको साथ रहेको बताउँदै आफुहरु उपाधिका लागि उत्रने बताए । ‘हामी उपाधिको दाबेदार पनि हो । हाम्रो टिममा राष्ट्रिय टोलीका मुख्य खेलाडी छन् । प्रशिक्षक तोपे फुजा पनि हुनुहुन्छ । सबै खेलाडी पोजेटिभ छन् ।’ राईले भने ।

यसअघि उद्घाटन खेलमा लतिपुर सिटी एफसीलाई १–० गोल अन्तरले हराएको काठमाडौं रेजर्सले भने धनगढीविरुद्ध धैर्यता गुमायो । उसले कुनै पनि पोसिजन र कुनै पनि समय राम्रो प्रदर्शन गर्न सकेन । सबै क्षेत्रमा कमजोर देखियो । कोरोना संक्रमणबाट फर्किएका राष्ट्रिय टोलीका तेज तामाङ, संजोक राई, विकेश कुथु लगायत अन्य खेलाडीले सोचे अनुसार प्रदर्शन दिन सकेनन् ।

‘खेलाडीमा धैर्यता गुमेको देखियो । ओभर कन्फिडेन्ट भयो । पहिलो हाफबाटनै नराम्रो भयो । नचुकेको ठाउँनै रहेन । सबै ठाउँमा चुक्यौं ।’ काठमाडौं रेजर्सका प्रशिक्षक बाल गोपाल महर्जनले खेलपछि भने ।  उनले बाँकी रहेको चार खेल उच्च मनोबलका साथ मैदानमा उत्रदै उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतिक्रिया दिए ।

दोस्रो खेलमा हाबी देखिएिको धनगढीलाई तेस्रो खेलमा ललितपुर विरुद्ध भने समस्या आउन सक्छ । उसका दुई महत्वपूर्ण डिफेण्डर टोलीमा हुने छैनन् । विदेशी खेलाडी एर्नेष्ट टेम्पीले चोट बोक्दै प्रतियोगिता गुमाएका छन् । उनी बाँकी खेलमा देखिने छैनन् ।

उनको स्थान लिएका रमेश समेत दोहोरो पहेँलो कार्ड ब्यहोर्दा ललितपुर विरुद्ध उपलब्ध हुने छैनन् । धनगढीको विकल्प नै नयाँ सेन्टर डिफेण्डरको खोजी गर्नु हो । ‘डिफेण्डरमा समस्या छ । अबको खेलमा दुई डिफेण्डर गुमाउँनेछौं । को हुन्छ ? कस्तो हुन्छ ? हामी राम्रो डिफेण्डरको खोजीमा छौं ।’ प्रशिक्षक राई भन्छन् ।