धनगढीको पहिलो जित
2021/04/28, 10:54
 
dfc

धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । यस्तै टंक बस्नेतले एक गोल गरे ।

काठमाडौं विरुद्ध एकतर्फी जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमै तीन गोल गरेको थियो ।

खेलको पहिलो मिनेटमै धनगढीले गोलको अवसर खेर फाल्यो । अनमार्क रहेका दर्शन गुरुङले पेनाल्टी बक्स भित्रबाट फितलो प्रहार गरे । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको १३ औं मिनेटमा दर्शन गुरुङले अघि बढाएको बल काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथुले आफ्नो क्षेत्र भन्दा बाहिर आएर क्लियर गर्दै गोलको संकट टारेका बचाए ।

तर, खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाए । टंकले दायाँ तर्फबाट प्रहार गरेको बल पोस्टमा लागेर गोलकिपर विकेशलाई लाग्दै गोल भएको थियो।

खेलको २३ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । मैदानको मध्य भागमा बल अघि बढाएर काठमाडौंका दुई डिफेन्डरलाई बिट गर्दै ओलावाले गोल गरे ।

३४ औं मिनेटमा धनगढीले गोलको अर्को मौका गुमायो । पेनाल्टी क्षेत्र भित्रबाटको ओलावालेको प्रहार काठमाडौंका गोलकिपर विकेशले बचाए ।  खेलको ४१ औं मिनेटमा काठमाडौंका स्टेफेनले गोल गरे । तर, उनको गोल अफसाइड रह्यो ।

पहिलो हाफको थप गरिएको समयमा ओलावाले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३-० को अग्रता दिलाए । दर्शन गुरुङको क्रसमा ओलावालेले वन टच गोल गरेका हुन् ।

खेलको ५३ औं मिनेटमा काठमाडौंका स्टेफेनले पेनाल्टी क्षेत्र भित्रबाटको प्रहारले पोस्टको दिशा लिन सकेन ।   ५४ औं मिनेटमा काठमाडौंका संजोक राईको पेनाल्टी बक्स बाहिरबाटको कडा प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङले पन्च गर्दै बचाए ।

खेलको ६८ औं मिनेटमा धनगढी १० खेलाडीमा समेटियो । रमेश दंगाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

काठमाडौंका रमेश बर्तौलालाई खराब ट्याकल गरेपछि दंगालले कार्ड पाएका हुन् । खेलको ७३ औं मिनेटमा काठमाडौंका सुदिल राईको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलमा धनगढीका ओलावाले प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । प्रोमोसिङ प्लेयर अफ दि म्याच धनगढीकै पुजन उपरकोटी चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

जितसँगै धनगढीले २ खेलमा ३ अंक जोडेको छ ।  पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो ।