कैलालीका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारको लागि कोरोना वार्ड सञ्चालन सुरु गरेका छन् । प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरुले संक्रमितहरुको उपचारको लागि वार्ड सञ्चालन सुरु गरेका हुन् ।
प्रत्येक निजी अस्पतालहरुले ५ देखि १० बेडसम्मको वार्ड सञ्चालनको लागि सहमति भएकोले सोही अनुसार निजि अस्पतालले कोरोना वार्ड शुक्रबारदेखि सञ्चालन सुरु गरेको निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीले जानकारी दिए ।
जस अनुसार अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०÷१० बेड उपलब्ध गराउने छन् । त्यस्तै धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र कैलालीको ओम आशा अस्पतालले ५÷५ बेड उपलब्ध गराउने छन् । ती अस्पतालले शुक्रबारदेखि सेवा सुरु गरेको अध्यक्ष जोशीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिएपछि यहाँका निजी अस्पतालहरुले सरकारले सहयोग गरे १ सय बेडको अस्पताल सञ्चालन गर्ने गर्ने बताउँदै आएका थिए । निजी अस्पतालमा हुने उपचार खर्च भने प्रदेश सरकारले नै व्यहोर्ने छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सरकारी अस्पतालमा हुँदै आएको सेवा सुविधा निजी अस्पतालबाट दिन सुरु गरेको र सरकारले नै खर्च व्यहोर्ने जानकारी दिए । सामान्य प्रकृतिको भएमा प्रति दिन प्रति विरामीको उपचार खर्च ३ हजार ५ सय रुपैँया प्रदेश सरकारले व्यहोर्नेछ । जटिल लक्षण भएका विरामीको हकमा ७ हजार र १५ हजार रुपैयाँ सरकारले उपलब्ध गराउने कार्कीले बताए ।
सामाजिक विकास मन्त्रालयसँगको सम्झौताअनुसार कोभिड वार्ड स्थापना गर्न लागेका धनगढी र अत्तरियाका निजी अस्पतालमा उपचार गर्ने संक्रमितको खर्च भने सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्नेछ ।
अस्पतालहरुसँग भएको सम्झौता अनुसार सामान्य संक्रमितको दैनिक तीन हजार पाँच सय रुपैयाँ, अक्सिजन सपोटमा राखिने संक्रमितको दैनिक सात हजार रुपैयाँ, आईसीयूमा भर्ना हुने संक्रमितको १० हजार रुपैयाँ र भेन्टिलेटरमा भर्ना हुनेको दैनिक १५ हजार रुपैयाँका दरले प्रदेश सरकारले खर्च बेहोर्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।
क्याबिन लगायतका अतिरिक्त सेवा लिने संक्रमितले भने तोकिएको बाहेकका शीर्षकको खर्च आफैंले सम्बन्धित अस्पताललाई तिर्नुपर्ने कार्कीले बताए ।
धनगढीको सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्पताल र कञ्चनपुरको महाकाली अस्पताल कोरोना संक्रमितले भरिभराउ भएका बेला सामुदायिक र निजी अस्पताल पनि सेवा दिन राजी भएपछि उपचारमा सहजता हुने विश्वास गरिएको छ । सामाजिक मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बेड अभावका कारण कोरोना संक्रमितको उपचारमा समस्या भइरहेका बेला गरिएको सम्झौताले सहज हुने बताए ।
उनले अब सेती अस्पतालको कोभिड अस्थायी अस्पताललाई गम्भीर प्रकृतिका संक्रमितको मात्र उपचार गराउने विकल्प समेत भएकाले सोहीअनुसार व्यवस्थापन गरिने जानकारी दिए ।
धनगढीमा गत वर्ष स्थापना गरिएको ५५ शैयाको कोभिड अस्थायी अस्पतालमा अहिले ६० जना उपचाररत छन् भने सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्ड पनि संक्रमित र सम्भावित संक्रमितले भरिएपछि ग्यालरीमा राखेर उपचार भइरहेको छ ।