संक्रमित बोक्नै मान्दैनन् एम्बुलेन्स
2021/05/02, 11:42
 
dd

महेन्द्रनगरका नवराज जोशी शुक्रबार दिनभरि एम्बुलेन्सको खोजीमा महाकाली अस्पताल क्षेत्रमा भौंतारिए । आमालाई कोरोना संक्रमणपछि श्वासप्रश्वासमा समस्या देखिँदा उपचारका लागि डडेलधुरा लैजान उनी एम्बुलेन्स खोजिरहेका थिए । साँझ अबेरसम्म कोही पनि एम्बुलेन्स चालक बिरामी लैजान तयार भएनन् ।

अन्तिममा महेन्द्रनगरदेखि डडेलधुरासम्म पुर्‍याएको २५ हजार भाडा दिने सर्तमा रेडक्रसका एम्बुलेन्स चालकसँग कुरा भयो । उनी घरनजिकै पुगे । कोभिडको बिरामी भन्ने थाहा पाएपछि रित्तै फर्किए । ‘दिनभरि एम्बुलेन्स खोज्नमै गयो,’ जोशीले भने, ‘महेन्द्रनगरमा भएका सबै एम्बुलेन्स चालकलाई फोन गरें, हरेकले केही न केही बहाना मात्रै बनाएर पन्छिन खोजे ।’

एम्बुलेन्स कतै नपाएपछि उनले आफ्नै गाडीमा अक्सिजनको सिलिन्डर राखेर आमालाई अस्पताल लगे । बाटोमा अक्सिजन सकिएपछि कृत्रिम रूपमा आफैंले अक्सिजन दिए । जेनतेन डडेलधुराको उपक्षेत्रीय अस्पताल पुर्‍याए । अहिले बिरामीको अवस्था सुधारोन्मुख रहेको जोशीले बताए । ‘एम्बुलेन्सकै भर परेको भए वा मसँग साधन नभएको भए मैले आमा गुमाउनुपर्थ्यो,’ उनले भने, ‘अहिले डडेलधुरामा उपचार भइरहेको छ, हिजोको भन्दा अवस्था सुधारोन्मुख छ ।’

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ स्थित लक्ष्मी मावि बाबाथानका शिक्षक लोकराज भट्टको समयमा एम्बुलेन्स नपाएकै कारण ज्यान गयो । दुई/तीन दिनदेखि ज्वरो आएका उनलाई शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएको थियो । महेन्द्रनगरमा आईसीयू र एचडीयू बेडहरू खाली नभएपछि उनलाई डडेलधुरा लैजान एम्बुलेन्स खोजी सुरु भएको थियो ।

‘मैले २१ जना एम्बुलेन्स चालकलाई फोन गरें, सबैले केही न केही बहाना गरेर जान मानेनन्,’ मृतक भट्टलाई डडेलधुरा लैजाने व्यवस्थापनमा जुटेका भानु मावि दोधाराका शिक्षक डम्मर जोशीले भने, ‘कसैले अक्सिजन छैन भने, कसैले गाडी उकालो चढ्दैन भने ।’ उनका अनुसार समयमै एम्बुलेन्स पाउन सकेको भए शिक्षक भट्टको ज्यान जोगिन्थ्यो ।

साँझ अबेर एउटा एम्बुलेन्स चालक जान तयार भए पनि अक्सिजन थिएन । तैपनि डडेलधुरा पुर्‍याउन सके उपचार होला भनेर बिनाअक्सिजनको एम्बुलेन्समा पठाइएको उनले बताए । केही दिनयता कञ्चनपुरमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । अस्पतालमा संक्रमित बिरामीका लागि आइसोलेसन बेडसमेत खाली छैन ।

आईसीयू र एचडीयूमा पनि त्यस्तै चाप छ । अक्सिजनको पनि अभाव हुन थालेको छ । यहाँ अक्सिजन नपाइएपछि अन्यत्र लैजान खोज्दा एम्बुलेन्स पनि नपाइने अवस्था आउन थालेको छ । ‘कोभिडका बिरामी भनेपछि चालकहरू बोक्न तयार हुँदैनन,’ जोशीले भने, ‘उनीहरूलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरू उपलब्ध गराएर समयमै यसतर्फ सचेत पारिनुपर्छ ।’ सार्वजनिक संघसंस्थाका एम्बुलेन्स चालकहरूसमेत विभिन्न बहाना गरेर पन्छिन खोजेको उनले बताए ।

कोभिडका बिरामी नबोक्ने एम्बुलेन्स चालकलाई कारबाही गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । उनले सोमबार सबै एम्बुलेन्स चालकलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाएका छन् ।

‘उनीहरूसँग बसेर छलफलपछि कारबाही सुरु हुन्छ,’ उनले भने, ‘छलफलमा उनीहरूका पनि समस्या सुन्नेछौं ।’ कञ्चनपुरमा महाकाली अस्पताल, रेडक्रसलगायत विभिन्न संघसंस्थाका गरी एक दर्जनभन्दा बढी एम्बुलेन्स छन् ।