सुदूरपश्चिममा कोरोनाका कारण ९ दिनमा ४८ जनाको मृत्यु भएको छ । अघिल्लो शनिबारदेखि आईतबारसम्म ४८ जनाले ज्यान गुमाएका हुन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा वढी कञ्चनपुरका रहेका छन् । त्यसपछि कैलालीका रहेका छन् । मृत्यु भएका धेरै जसोमा कडा खालको निमोनिया रहेको पाईएको छ । निर्देशनालयका अनुसार कञ्चनपुरमा सबैभन्दा बढी २१ जनाको मृत्यु भएको छ । पछिल्लो ८ दिनको अवधिमा १८ जनाको मृत्यु भएकोमा आईतबार थप तीन जनाको मृत्यु भएको हो ।
यस्तै कञ्चनपुरपछि कैलालीमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ दिनको अवधिमा १८ जनाको मृत्यु भएकोमा आईतबार कैलालीमा थप एक संक्रमितको मृत्यु भएको छ । धनगढीकी एक महिलाको मृत्यु भएसँगै ९ दिनमा १९ जनाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
यस्तै तराईका दुई जिल्लापछि अछाममा ३ जना संक्रमितको मृत्यु भएको छ । यसअघि दुई जनाको मृत्यु भएको अवस्थामा शनिबार राति थप एक जनाको मृत्यु भएको हो । यसैगरी डडेल्धुरामा २ जनाको मृत्यु भएको छ भने बैतडी, बझाङ र दार्चुलाका १÷१ जना संक्रमितले पनि ज्यान गुमाएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८९ जनाको मुत्यु भईरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा बढी संक्रमित रहेको र कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु भईरहेको कैलाली र कञ्चनपुरमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेवास्ता र चरम लापरवाही भईरहेको छ ।
कैलालीका स्थानीय तहहरु आईशोलेसन व्यवस्थापनमा बेवास्ता
कैलालीका स्थानीय तहहरुले आइसोलेसन शैय्या व्यवस्थापनमा बेवास्ता गरिरहेका छन् । कोरोना अस्थायी अस्पतालका शैय्याहरु संक्रमितले भरिए पनि स्थानीय तहहरुले कोरोना संक्रमितको उपचारका लागि शैय्या व्यवस्थापनमा बेवास्ता गरिरहेका हुन् । उनीहरुसँग कोरोना संक्रमितको ज्यान जोगाउन अति आवश्यक मानिएको अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन समेत छैन । तर स्थानीय तहहरुले दक्ष जनशक्तिको आभावका कारण आइसोलेसन शैय्या सञ्चालन गर्न नसकिएको जिकिर गरिहेका छन् ।
कोरोना भाइरसको संक्रमण सुरु भएपछि गत वर्षको चैतमा नेपाल सरकारले निषेधाज्ञा जारी गरेको थियो । भारतबाट दैनिक सयांैको संख्यामा नेपालीहरु सुदूरपश्चिमका सीमा नाका हुँदै भित्रिन थालेपछि स्थानीय तहहरुले क्वारेन्टिनसँगै आइसोलेसन शैय्याको समेत व्यवस्थापन गरेका थिए । तर दोस्रो लहरको कोरोना भाइरसको संक्रमण सुदूरपश्चिममा तिव्र दरमा फैलिएका बेला आइसोलेसनको शैय्या व्यवस्थापनमा बेवास्ता गरिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले आईशोलेसन शैय्या व्यवस्थापन गर्न नसकिने बताए । जिल्लाको १३ वटा स्थानीय तहहरु मध्ये केहीले मात्र आइसोलेसन शैय्याको व्यवस्थापन गरेका छन् । अधिकांश स्थानीय तहहरुले कोरोना संक्रमितको ज्यान जोगाउनमा बेवास्ता गरेका छन।
अधिकांश कोरोना संक्रमित घरमा रहेका बेला जटिल प्रकारका संक्रमितलाई राखिएका कोरोना अस्थायी अस्पतालका शैय्या भरिएका छन । तर स्थानीय तहहरुले शैय्या बिस्तार र अक्सिजन तथा भेन्टिलेटर जडानको प्रक्रिया समेत थालेका छैनन् । गत वर्ष कोरोना संक्रमित राख्न संयुक्त आइसोलेसन सञ्चालन गरिएको टीकापुर नगरपालिकाको समेत आईशोलेसन छैन । टीकापुर नगरपालिकाका मेयर टपेन्द्र रावलले आइसोलेसन श्य्या व्यवस्थापनका लागि तयारी थालिएको बताए ।
स्थानीय तहहरुले दक्ष जनशक्तिको अभावले आइसोलेसन शैय्या सञ्चालनमा कठिनाई रहेको बताएका छन् । उनीहरुले जटिल प्रकृतिका कोरोना संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर जडानमा समस्या नभए पनि सञ्चालन गर्न जनशक्ति नभएकाले समस्या भएको दाबी गरिरहेका छन ।
गोदावरी नगरपालिकाका मेयर हरिसिँह साउँदले २० शैय्याका आइशोलेसन सञ्चालनमा रहेपनि जनशक्तिको अभाव रहेको बताए । हाल कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल तथा धनगढी उप–महानगरपालिका वडा नम्बर १५ उर्मामा सञ्चालनमा रहेको आइसोलेसन कक्षहरु संक्रमितले भरिएका छन् ।
कञ्चनपुरका स्थानीय तहको पनि व्यवस्थापनमा लापरवाही
जिल्लामा दैनिक ५०÷६० भन्दा बढी संक्रमित थपिँदै गएका छन । भारतबाट आउनेमा बढी मात्रामा संक्रमण देखिन थालेको छ । संक्रमण बढ्दै गए पनि स्थानीय तहले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापनमा बेवास्ता गरेका छन । गत वर्ष लकडाउन सुरु हुँदा जिल्लामा कोरोनाको संक्रमण देखिएको थिएन । स्थानीय तहहरूले हरेक वडामा रहेका विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेका थिए ।
भारतबाट आउनेलाई नाकाबाटै सिधै क्वारेन्टाइनमा राख्ने गरिन्थ्यो । तर अहिले नाकामा सामान्य चेकजाँचका भरमा सोझै घर पठाउने गरिएको छ । यसबाट समुदायमा संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । ‘स्थानीय तहहरूले क्वारेन्टाइन व्यवस्थापनमा ध्यान दिन नसक्दा अवस्था जटिल हुन सक्ने देखिन्छ ।’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘अहिलेसम्म जिल्लाका कुनै पनि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गरेका छैनन् ।’ उनका अनुसार भारतबाट घर फर्केकालाई नाकामा सामान्य जाँचकै भरमा घर पठाउने गरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरू भने तत्काल क्वारेन्टाइनको आवश्यकता नभएको र केन्द्रबाट पनि कुनै निर्देशन नआएको भन्दै बेवास्ता गरिरहेका छन । ‘अहिले सबै होम क्वारेन्टाइनमै बसिरहेका छन् ।’ दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले भने, ‘नगरपालिकामा क्वारेन्टाइन बनाउने विषयमा तत्काल कुनै तयारी छैन ।’ भारतबाट फर्केकाहरू होम क्वारेन्टाइन र संक्रमितहरूसमेत होम आइसोलेसनमा बसिरहेको उनीहरू बताउँछन । ‘भारतबाट फर्केका भन्दा पनि समुदायमै संक्रमण बढी देखिएको छ ।’ भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला सिंहले भनिन्, ‘क्वारेन्टाइन बनाउने विषयमा केन्द्रबाट पनि कुनै परिपत्र आएको छैन, हामी अन्योलमै छौं ।’
जिल्लाका दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ । भारतसँगै सीमा जोडिएका र गौरीफन्टा नाकाबाट सोझै नगरपालिकामा भित्रिने भएकाले त्यहाँ पनि क्वारेन्टाइन अति आवश्यक नै हो । तर नगरपालिकाले अहिलेसम्म क्वारेन्टाइन व्यवस्थापन गर्न सकेको छैन । ‘गत वर्ष त विद्यालय बन्द थिए त्यही क्वारेन्टाइन बनायौं ।’ पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले भने, ‘अहिले विद्यालय पनि चलेकै छन्, भारतबाट आउने पनि बढेकै छन ।’ उनले होम क्वारेन्टाइन र होम आइसोलेसनमा बसेकाहरू समेत खुलेआम घुम्न थालेकाले झनै चुनौती थपिएको बताए ।