अस्पतालमा अक्सिजन र बेडका लागि सोर्सफोर्स: संक्रमितलाई सास्ती
2021/05/08, 4:44
 
dd

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ फुलेलीका अमृत कुमार ऐरलाई १३ गतेबाट ज्वरो आयो । सामान्य रुघाखोकी तथा ज्वरो आएको उनलाई तिनचार दिनसम्म ज्वरोले निकै सताएपछि झलारी बजार स्थित मेडिकलमा चेकजाँच गराउँदा उनलाई टाइफाइट निस्कियो । टाइफाइटको औषधी खाएर पनि निको नभएपछि १७ गते बिहान कृष्णपुर नगरपालिका गुलरियामा गएर उनले पिसिआर टेष्ट गराए ।

पिसिआर टेष्ट गराएका उनको २४ गते कोरोना पोजेटिभ रिर्पोट आयो । रिर्पोट पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि भन्दै महाकाली अस्पताल ल्याइयो । अस्पताल अबेर पुगेका उनलाई शुक्रवार राती इमरजेन्सी कक्षमा भर्ना गर्नका लागि उनका आफन्तले टिकेट काट्न गएपनि आफन्तले भने टिकट काट्न पाएन । अस्पतालका कर्मचारीले उनलाई राती  आएको भन्दै टिकट काउन्टर बाट टिकट दिन अटेरी गरेको  उनका अफान्तले गुनासो गरे   ।

“शुक्रवार मेरो श्रीमानको रिर्पोट पोजेटिभ आएको थियो, रिर्पोट पोजेटिभ आएको थाहा भएपछि अस्पताल पुग्दा राती ७ बजीसकेको थियो ।” अमृतकी श्रीमती मिना बोहरा ऐरले भनिन्, “अस्पतालमा चेकजाँच गराउनको लागि टिकट काउन्टरमा गएपनि काउन्टरबाट भने टिकर नदिई हप्काएर पठाइदियो, एकैछिन मन निकै रुमलियो ।” अरु केही सिप नचलेपछि अस्पतालका विभिन्न डाक्टर सँग सरसल्लाह गर्न जाँदा समेत  कसैले वास्ता गरेनन्  ।

श्रीमानलाई अक्सिजन ल्गाउनु पर्ने आवश्यक भएपनि  अक्सिजन सहितको ब्याड अस्पतालमा नपाएर फोनकलकै भरमा थप उपचारको लागि धनगढी अस्पतालमा लगिएको उनले बताइन् । वेड नपाएपछि पुन महाकाली अस्पतालमा फर्केका अमृत पेसाले अटो ईन्जिनियर हुन् ।

उनले बिबाह  गरेको ६ महिना पनि भएको छैन । अमृत सँग रहेकी उनकी श्राीमतीले पुन फर्किएर महाकाली अस्पतालमा वेडको  लागि अनुरोध गरेपनि अस्पतालका डाक्टरले भने एम्बुलेन्सबाट बिरामीलाई उर्तानै मानेनन् । श्रीमती मिनाका अनुसार अस्पतालले ठूलो लापरबाही  गरेको र बिरामीलाई वेड भएपनि उपलब्ध गराउन नमानेको उनले बताईन् ।

“धनगढीबाट फकिएर साढे ११ बजे महाकाली अस्पताल पुगेका हामीले बिरामीलाई १२ बजेसम्म एम्बुलेन्समै राख्नुपर्यो, डाक्टरसँग आग्रह गर्दा पनि नसुने जस्तो गर्ने ।, अक्सिजन लगाउनु पर्ने भएकाले सोर्सफोर्स लगाउनु पर्ने अवस्था थियो, सिडियो साबको कुराकानी पछि मात्रै डाक्टर बिरामी हेर्न आए। हामी गरिब भयौ, नत अस्पतालले हेर्ने नत अस्पतालका कर्मचारीले नै ।” उनले भनिन् ।

अस्पतालमा अक्सिजन र व्याड अभाव भएकाले तपाईंले मात्रै कति अक्सिजन खर्च गर्ने अरुका लागि छैन् भनेर कुरा  गुनासो सुनाउने गरेको श्रीमतीले बताइन् । राती अबेरपछि अस्पतालमा व्याड पाएपनि अक्सिजन बिनाको पाएका उनिहरुलाई अर्को व्याडवालाले अक्सिजन बाढेर दिएपनि डाक्टरले भने अक्सिजन बाढेर पनि लगाउन नदिएको उनले गुनासो गरिन् ।

उनका अनुसार राती १ बजेपछि अक्सिजन अस्पतालमा  बिरामीले अक्सिजन पाएका थिए । अहिले भने  एउटै सिलिन्डरबाट तिन जनाको पाइपमा बिरामीले अक्सिजन लिइरहेका छन् । 

बिरामीको विस्वास उठ्दै 

महाकाली अस्पतालमा दैनिक सरदर १ सय ५० जना सम्मले कोरोना टेष्ट गर्न पाउँछन् । कोरोना टेष्ट पश्चात संक्रमित हुने बिरामीले भने समस्या पाउने गरेका छन् । अस्पतालमा अक्सिजन र वेड अभाव हुन थालेपछि संक्रमित बिरामी समस्यामा पर्ने गरेका छन् । यो सँगै यस साता अकिसजन नपाएकै कारण दुईजना शिक्षकको मृत्यु समेत भएको थियो । अस्पतालमा अहिले ७२ जना कोरोना संक्रमितको उपचार भैरहेको अवस्था छ । अस्पताल सँग कोरोना अस्पताल भनेर बनाएको अस्पतालमा ५० शैया क्षमताको शैया भएपनि अस्पतालमा अहिले बिरामीको चाप एकदमै बढी भएको अवस्था छ । अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा अक्सिजन अभाव हुँदै गएको छ अस्पतालले जनाएको छ। 

दैनिक रुपमा सरकारी तथा गैरसरकारी निकायहरुबाट सहयोग पाइरहेको अस्पतालमा भने अक्सिजन नपाएर संक्रमित बिरामीहरु समस्यामा परेका छन् । अस्पतालले विगतमा ३० सिलिन्डर एक दिनमा खपत गर्ने गरेको थियो । अहिले अस्पताल सँग १ सय १२ सिलिन्डर भएपनि बिरामीले भने अक्सिजन अभावको समस्या खेप्नु परेको छ । महाकाली अस्पताल लाई संघसंस्थाले दैनिक ८० ओटा अक्सिजन सिलिन्डर सहयोग गर्ने गरेका छन् ।

तर कोरोना संक्रमितका आफन्तकाहरु अस्पतालसँग सिलिन्डर भएको अवस्था भएपनि सिलिन्डर नपाएर संक्रमित जोखिममा परेको आरोप लगाएका छन् । यता भने अस्पतालले दैनिक रुपमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएकोले अक्सिजन आपूर्तीमा समस्या भएको जनाएको छ ।

“अस्पतालमा दैनिक रुपमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएको छ, अक्सिजन सिलिन्डर भएपनि भर्न जाँदाआउँदा समय खर्च धेरै हुन्छ ।” महाकाली अस्पतालका वयवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “अहिले पनि अस्पतालमा केही बिरामीले अक्सिजन सहजै पाउँन सकेको अवस्था छैन, आपूर्ती ढिला हुँदा अस्पताललाई समस्या भएको छ ।” हाल अस्पतालमा ३५ जना कर्मचारी कोरोना संक्रमित भएको अवस्था छ । अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण भएका कारणले पनि समस्या उत्पन्न भएको उनको भनाई छ । 

अस्पतालले दैनिक रुपमा पन्ध्र पन्ध्र अक्सिजन सिलिन्डर गरेर धनगढीबाट खाली सिलिन्डर भर्दै आएको छ भने बाहिर क्षेत्रबाट नेपालगञ्जबाट दैनिक रुपमा ८० सिलिन्डर सम्म अस्पताललाई सहयोगी समुहहरुले हस्तान्तरण गर्दै आएका छन् । 
 

अस्पताललाई आएको आर्थिक सहयोग जम्मा मात्रै 

महाकाली अस्पताललाई कोरोना महामारीको समयमा विभिन्न क्षेत्रबाट आएको आर्थिक सहयोग जम्मा गर्ने काम मात्रै भएको छ । अस्पतालमा दैनिक रुपमा कोरोना महामारी संक्रमित बिरामी बढ्दै गएपनि अस्पतालले प्रदान गर्दै आएको सहयोग भने जम्मा हुँदै आएको छ । अस्पतालमा दैनिक रुपमा अक्सिजन अभाव हुँदै आएको भएपनि अस्पताल सँग भने अक्सिजन आपूर्ती बढाउने कुनै योजना नै छैन ।

“अस्पताललाई दैनिक रुपमा ८० ओटा अक्सिजन सिलिन्डर आवश्यक हुँदै गएको छ, यसमा ३० ओटा अस्पतालको र ८० ओटा सहयोगी समुहहरुको सिलिन्डर भने दैनिक जसो अस्पतालमा पुग्ने गरेका छन् ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “अस्पतालले अहिले अक्सिजन सिलिन्डर किन्ने प्रक्रिया भने अगाडि बढाएको छैन, बढाउने चरणमा अस्पताल रहेको छ, दैनिक रुपमा अक्सिजन आवश्यक भएपनि भएका अक्सिजन सिलिन्डर पनि भर्नको लागि समस्या भएको छ ।”

अस्पताले अहिले महामारीको दोस्रो लहर सुरु भएयता झण्डै ४० लाख आर्थिक सहयोग प्राप्त गरेको छ । जिल्लाको भीमदत्त नगरपालिकाद्धारा २० लाख, वेदकोट नगरपालिकाद्धारा १० लाख लगायत अन्य क्षेत्र गरेर ४० लाख रुपैया अस्पताललाई सहयोग भएको उनले बताए । अस्पतालले दैनिक रुपमा सानोठूलो गरेर सहयोग पाउने गरेको भएपनि कोरोना संक्रमित बिरामीको लागि भने दैनिक रुपमा अक्सिजन अभाव हुँदा बिरामी समस्यामा पर्ने गरेका छन् ।