धनगढी नेपाल सुपर लिगको फाइनलमा
2021/05/11, 10:09
 
Dfc

पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे ।

काठमाडौंका तेज तामाङले एक गोल फर्काए । खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा मार्की खेलाडी विशाल चम्किएपछि धनगढी फाइनल पुगेको हो । खेलको १ सय ८ औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले गोल गर्दै टिमलाई फाइनलको यात्रा तय गराए ।

त्यसअघि खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाएका थिए । मेसौकेको क्रसमा तेजले वन टचमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। तर, खेलको ७८ औं मिनेटमा पुजन उपरकोटीको गोलबाट धनगढीले बराबरी गोल फर्काएको थियो । फ्रान्कलिनको हेडर पासमा काठमाडौंका गोलकिपर विकेश कुथु अगाडी बढेको फाइदा उठाउदै पुजनले उत्कृष्ट बाइसाइकल गोल गरे ।