सुदूरपश्चिममा भयावह बन्दै कोरोना, अस्तव्यस्त र भद्रगोल तयारी
2021/05/14, 9:01
 
dd

सुदूरपश्चिममा कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुगेको छ । प्रदेशका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि अस्पतालहरुले बिरामी भर्ना लिन समेत आनाकानी गर्न थालेका छन् । प्रदेश सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गतिलो तयारी नभएकाले यो अवस्था आएको छ ।

2

संघीय सरकार, प्रदेश सरकार र पालिकाहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि संयुक्त प्रभावकारी काम गर्नतिर ध्यान नदिँदा अवस्था भयावह बन्दैछ ।

२८७ जनाले ज्यान गुमाए
सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ८७ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म दुई सय ८७ जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो बैशाख महिनामा मात्रै दुई सय २९ जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दैनिक रुपमा जारी गर्दै आएको तथ्यांकमा बैशाख १ गतेभन्दा अघि कोरोनाबाट प्रदेशमा ५८ जनाको ज्यान गएको थियो । बिहीबार साँझ जारी तथ्यांकमा १७ जनाको ज्यान गएको उल्लेख गरिएको छ । बुधबार साँझको तथ्यांकमा अहिलेसम्म दुई सय ७० जनाको ज्यान गएको विवरण राखिएको थियो ।

1

बैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो चार दिनमा मात्रै कोरोनाबाट ७९ जनाको ज्यान गएको छ । पछिल्लो १३ दिनमा कोरोनाबाट एक सय ९७ जनाको ज्यान गएको छ । बैशाख १८ गतेदेखि बैशाख ३० गतेसम्मको अवधिमा कोरोनाबाट प्रदेशमा एक सय ९७ जनाको ज्यान गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

2

निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो चार दिनमा सबैभन्दा बढी ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । बैशाख १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना, २९ गते १४ जना र ३० गते १७ जना संक्रमितको ज्यान गएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । बैशाख २७, २८, २९ र ३० गते मात्रै गरेर ७९ जनाको ज्यान गएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको डाक्टरहरुको भनाइ छ । 

स्थिति नियन्त्रण बाहिर 
प्रदेशमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रभावकारी काम नभएकाले अवस्था अझै भयावह हुने अनुमान गरिएको छ । सरकारले अक्सिजन, संक्रमितलाई उपचार गर्न शैय्या, भेन्टिलेटर र आईसीयूको संख्या नबढाए मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

1

संघीय र प्रदेश सरकार तथा स्थानीय पालिकाहरुले गम्भीर रुपमा नलिए ज्यान गुमाउनेको संख्या अझै बढ्ने स्वास्थ्य विभागका पूर्व महानिर्देशक डाक्टर लक्ष्मीराज पाठकले बताए । कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्हरुले अनुमान गरेका छन । 

अस्पतालमा ठाउँ छैन्, सरकारको तयारी छैन
प्रदेशमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि शय्याको अभाव छ । प्रदेशका निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएका बेला प्रदेश सरकारको तयारी समेत फितलो देखिएको हो । कोरोना संक्रमितका लागि आवश्यक शैय्या विस्तार, अक्सिजन सिलिण्डर खरिद, आईसीयू र भेन्टिलेटर जडान लगाएका काममा प्रदेश सरकारले बेवास्ता गरेको छ ।

1

प्रदेशमा कोरोना नियन्त्रणका लागि प्रभावकारी काम नभएकाले गाउँगाउँमा संक्रमितको त्रास फैलिएको पूर्व महानिर्देशक पाठकले बताए ।  कतिपय संक्रमितले रोग पहिचान गर्न नसक्दा अस्पताल नजाँदै ज्यान गुमाउँदैछन । अधिकांश फोक्सोमा जटिल समस्या देखिएपछि मात्र अस्पताल जाने गरेका छन् । फोक्सोमा जटिल समस्या देखिएका संक्रमितका लागि अक्सिजन अनिवार्य हुने र प्रदेशमा अक्सिजनको अभावका कारण मृत्युवरण गर्नुपर्ने बाध्यता आएको चिकित्कहरुको गुनासो छ ।

2

सेती प्रादेशिक अस्पतालमा समेत आईसीयूको क्षमता समेत प्रर्याप्त नभएकाले समस्या भइरहेको सेती प्रादेशिक अस्पतालका आईसीयू इञ्चार्ज डाक्टर कपिल गौतमले बताए । सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल, डडेल्धुरा अस्पताल कोरोना संक्रमितले भरिएका छन् । संक्रमितले अस्पताल भरिएकाले नयाँ संक्रमितले पालो पर्खिनुपर्ने अवस्था छ ।

सेती प्रादेशिक अस्पतालमा आईसीयू कुर्दाकुर्दै कतिपय संक्रमितले अकालमै ज्यान गुमाउँदैछन् । अक्सिजन अभावका कारण यो समस्या विकराल बन्दै गएको उनले बताए । सेती प्रादेशिक अस्पतालको प्राङगणमा समेत कोरोना संक्रमिलाई उपचार गरिंदैछ । सुदूरपश्चिममा होम आइसोलेशनमा बसेकाहरुले समेत अक्सिजन नपाएरै ज्यान गुमाउनु पर्ने अवस्था छ ।

‘अक्सिजन आपूर्ति नभए बिरामी भर्ना गर्न सक्दैनौं’
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले अक्सिजन आपूर्ति ठप्प हुन थालेकाले कोरोनाका बिरामीको उपचार गर्न समस्या भइरहेको बताएका छन् । निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) ले बिरामीको चाप बढ्दै गइरहेकाले अक्सिजन अभाव हुँदा उपचारमा समस्या भएको जनाएको छ ।

1

अफिन सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले अक्सिजन आपूर्ति नभए अब कोरोनाका बिरामी भर्ना गर्न नसकिने बताए । निजी अस्पतालहरूको साझा संगठनले अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई आग्रह पनि गरेको छ ।

सरकारी अस्पतालहरूमा बिरामी भरिएपछि प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरूले संक्रमितको उपचारका लागि वार्ड सञ्चालन गरेका छन् । कैलालीमा रहेका १० वटा निजी अस्पतालले आफूहरूसँग भएका शैय्याको २० प्रतिशत कोरोनाका बिरामीका लागि छुट्याएर उपचार गर्दै आएको बताएका छन् । 

अक्सिजन भए धेरैलाई बचाउन सकिने
अक्सिजन अभाव भएपछि सुदूरपश्चिमका अस्पतालहरूले थप कोरोना भाइरस संक्रमितको उपचार गर्न नसकिने बताएका छन् । सुदूरपश्चिमका विभिन्न सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढिरहेको छ ।

चिकित्सकहरुले अक्सिजनको व्यवस्था गर्न सके धेरै बिरामीहरुलाई बचाउन सकिने बताएका छन् । नवजीवन अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विधुरमणि ढकालले कोरोना वार्ड भनेर छुट्टै भवन बनाएर संक्रमितको उपचार गरिएको बताए । १० शैय्या कोभिडका लागि छुट्याएको यस अस्पतालमा अहिले १२ जनाको उपचार भइरहेको छ ।

2

‘हामीलाई पनि अक्सिजनको समस्या छ । केही बिरामीका आफन्तले ल्याउनु भएको छ’ उनले भने, ‘केही हामीले पनि जोहो गरेका छौं । अक्सिजन मात्रै पाउन सक्यो भने धेरै बिरामीहरुको हामी ज्यान बचाउन सक्छौं ।’

धनगढीका अस्पतालले धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगबाट र नेपालगन्ज गाडी पठाएर त्यहाँबाट  सिलिण्डर भरेर ल्याउने गरेका छन । ‘अहिले सरकारले अक्सिजन दिन सक्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ ।’ सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले  भने ।

1