कसले जित्ला उपाधि ? : ला लिगा र लिग वानमा विजेताको छिनोफानो आज
2021/05/22, 2:45
 
jidan

स्पेन र फ्रान्समा शीर्ष डिभिजनको फुटबलको यो अन्तिम सप्ताहन्त हो र आज हुने खेलहरुले लिगको अन्त्येष्टीसँगै नयाँ च्याम्पियनको छिनोफानो गर्नेछन् । स्पेनमा एथलेटिको म्याड्रिड सात वर्षयता पहिलोपटक उपाधि जित्ने संघारमा छ, तर चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड अन्तिम खेलमा एथलेटिको चिप्लने आश गरेर बसेको छ ।

फ्रान्समा शीर्ष तीनमा रहेका क्लब लिल, पेरि सेन्ट जर्माइन र मोनाको बीच मात्र तीन अंकको दूरी छ । सिजनको अन्तिम दिनसम्म पिसजीभन्दा एक अंकले अघि रहेको शीर्ष स्थानको लिल सन् २०१०–११ पछि उपाधि जित्ने अभियानमा छ, उपाधिका लगि लिल केवल एक जितबाट टाढा छ ।

कुन अवस्थामा कुन टिमले लिग जित्ला त ? आउनुस् यी सम्भावित अवस्थाबारे चर्चा गरौं । चर्चा थालौं स्पेनिस ला–लिगाबाट ।

1

के सिमिओनीले उपाधि जित्लान् ?

एक खेल खेल्न बाँकी छँदा शीर्ष दुई टिमहरु दुई अंकको दूरीमा छन् । यस्तोमा उपाधि स्पेनको राजधानी म्याड्रिडमै रहने तय भने भइसकेको छ ।

बार्सिलोना उपाधि होडबाट बाहिरिइसकेको अवस्था शीर्ष स्थानको एथ्लेटिकोले उपाधिमा कब्जा जमाउँछ वा अन्तिम अवस्थामा आएर रियलले यो उपाधि चोर्छ ?

रेलिगेसनको खतरामा रहेको रियल भाल्लाडोलिडविरुद्ध एथलेटिकोले विजय हासिल गरेमा ऊ स्वतः च्याम्पियन हुनेछ । एथलेटिकोले सन् २०१४ पछि जितेको यो पहिलो उपाधि हुनेछ र डिएगो सिमिओनीको कार्यकालमा जितेको दोस्रो उपाधि । सिमिओनीले २०११ देखि एथलेटिकोलाई प्रशिक्षण दिन थालेका थिए ।

एथलेटिकोले जित हासिल गर्न असफल भएमा छिमेकी रियल म्याड्रिडका लागि उपाधिको ढोका खुल्नेछ । रियलले अन्तिम खेलमा भिल्लारियालको सामना गर्दै छ ।

एथलेटिकोले लिगमा ८३ अंक जोडेको छ । अन्तिम खेलमा एथलेटिको बराबरीमा रोकिएर अर्को खेलमा रियलले जित हासिल गरेमा दुबैको ८४ अंक हुनेछ ।

2

यस्तो अवस्थामा हेड टु हेडका आधारमा रियल म्याड्रिड च्याम्पियन हुनेछ । किनकी, एथलेटिको विरुद्ध २०२० र २०२१ मा भएका लिगका खेलमा उसले एक खेल जितेको छ र अर्को खेल बराबरी खेलेको छ । ‘भालाडोलिडविरुद्धको खेल फाइनल हो । दुई फरक टोलीहरु फरक, तर आफ्नो महत्वपूर्ण लक्ष्यका लागि भिड्दैछन् र त्यो लक्ष्य हासिल गर्न हामी दुबै टोलीले आफ्नो सम्पूर्ण ताकत लगाउनेछौं,’ सिमिओनीले भने ।

लुइस सुवारेजले यो अभियानमा सहयोग गर्ने एथलेटिकोकोे आश छ । गत सेप्टेम्बरमा बार्सिलोनाबाट क्लबमा आएयता सुवारेजले ३१ खेलमा २० गोल गरेका छन् । यता, रियल म्याड्रिड १७ वटा लिग खेलमा अपराजित छ ।

करिम बेन्जामाले २२ लिग गोल गरेपनि च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएको र कोपा डेल रेको सुरुवातमै नमिठो हार व्यहोरेको रियल यस सिजन उपाधिविहीन हुने खतरामा छ । एथलेटिको र रियल दुबैको खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा हुनेछ ।

लिग वान – के लिलको पकड कायम रहला ?

एक खेल बाँकी रहेको अवस्थामा तीनवटा क्लब तीन अंकको दूरीमा छन् । के शीर्ष स्थानको लिलले पकड कायम राख्दै पेरिस सेन्ट जर्मेनको प्रभूत्व अन्त्य गर्छ ?

पीएसजीले पछिल्ला ८ सिजनमध्ये सात पटक लिग वान उपाधि जितेको  छ । तर यसपटक अन्तिम खेलसम्म आइपुग्दा शीर्ष स्थानको लिलभन्दा एक अंकले पछि छ । लिलको ८० र पीएसजीको ७९ अंक छ भने मोनाकोको ७७ अंक छ ।

गत सिजन कोरोना भाइरस महामारीका कारण १० खेल बाँकी छँदै लिग अन्त्य भएपछि दोस्रो स्थानको मार्सेलीभन्दा १२ अंकले स्पष्ट रुपमा अघि रहेको पीएसजीलाई च्याम्पियन घोषणा गरिएको थियो ।

3

शनिबार जीत हासिल गरेमा लिल च्याम्पियन हुनेछ । तर यदी, लिल पराजित भयो, पीएसजीले बराबरी खेल्यो र मोनाकोले जित्यो भने सबैको ८० अंक हुनेछ ।

स्पेनजस्तो नभएर फ्रान्समा गोलअन्तरले उपाधिको फैसला गर्छ । यस्तो अवस्थामा आएमा माउरिसियो पोचेटिन्होको पीएसजीलाई लाभ मिल्नेछ । अन्य दुई दाबेदारको दाँजोमा उसको गोलअन्तर राम्रो छ ।

कप्तान जोसे फोन्टेले लिल विजेता बनेमा त्यो महत्त्वपूर्ण क्षण हुने बताएका छन् । ‘हामीसँग नेइमार वा एमबाप्पेजस्ता सिजनमा २०–३० गोल गर्ने र ठूलो तलब खाने सुपरस्टार छैनन् । तर हामीसँग टिम छ । आशा छ हामीले आफ्नो काम गर्नेछौं र बाँकी जीवनमा यो रोमान्चक कथा स्मरण गर्न सक्नेछौं,’ उनले भने ।

लिलले १२ औं स्थानको एंगर्ससँग प्रतिस्पर्धा गर्नेछ । यही समय पीएसजीले रेलिगेसनको खतरामा रहेको ब्रेस्ट र मोनाकोले छैटौं स्थानको लेन्सको सामना गर्नेछ । 

मोनाकोले उपाधि जित्न आफुले जितेर मात्र पुग्दैन, लिल र पीएसजी दुबै अन्तिम खेलमा हारेको हुनुपर्छ । यतिले मात्र पनि पुग्दैन, उनीहरु ठूलो अन्तर हार्नुपर्छ र पीएसजी मोनाकोले ठूलो अन्तरले जित्नुपर्छ ।

बीबीसी