निषेधाज्ञामा फेरियो खेलाडीको दैनिकी
2021/05/24, 9:20
 
dd

कोरोनाको दोस्रो लहर सुरु हुनुअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा दैनिक नियमित अभ्यासमा भेटिने कुस्तीकी साग पदक विजेता शिवानी दुबेको दैनिकी निषेधाज्ञापछि फेरिएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेलकुद गतिविधि बन्द भएसँगै शिवानी अहिले घरको बरण्डामा अभ्यास गर्छिन् ।

'दौड हुँदैन अरु शारीरिक अभ्यास घरमै भइरहेको छ,' उनले भनिन्, 'बुवा पनि खेलाडी भएकाले घरको छतमा नियमित अभ्यास गरिरहेकी छु ।'

सिँढी, बरण्डा र छतमा अभ्यास गरिरहेकी शिवानीले कोरोना नियन्त्रणमा आइसकेपछि कबर्डहलमा अभ्यास गर्ने पर्खाइमा रहेको बताइन् । राष्ट्रियस्तरमा सात स्वर्ण र १३ औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक विजेता शिवानीले तीन महिना भारतको हरियाणामा प्रशिक्षण लिएर कोरोनाका कारण फर्किएको बताइन् ।

'कोरोनाले भारतमा पनि लकडाउन भयो, फर्किएर घर आएँ,' उनले भनिन्, 'भारतमा दुई वर्ष प्रशिक्षणका लागि सम्झौता भएको छ ।'

शिवानीका बुबा राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुन् । छोरीले घरमा प्रशिक्षण गरिरहेको भिडियोहरू उनले सामाजिक सञ्जालमा समेत पोष्ट गर्दै आएका छन् ।

बक्सिङ ओलम्पियन तथा प्रशिक्षक डम्बरदत्त भट्टले खेलाडीहरू आन्तरिक प्रशिक्षणमा रहेको बताए । 'घरमै रहेर पनि खेलाडीहरू ‘फिटनेस’का अभ्यासहरू गरिरहेका छन्,' उनले भने, 'विषम परिस्थितिले खेलकुद क्षेत्र पनि निकै आक्रान्त बनेको छ ।'

उनले आम नागरिकलाई पनि प्रतिरोधात्मक शक्तिका लागि स्वास्थ्य सर्तकता अपनाएर घरमै व्यायाम गर्न सुझाव दिए । 'घरमै बसेर पनि जो कोहीले व्यायाम गर्दा स्वास्थ्यका लागि लाभदायक नै हुन्छ,' उनले भने ।

गत वर्ष पनि कोरोनाका खेल क्षेत्र प्रभावित भएको बताउँदै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले दोस्रो लहरमा पनि केन्द्रको निर्देशनअनुरूप खेल गतिविधि बन्द गरिएको जानकारी दिए ।