निषेधाज्ञाको असहज अवस्थामा पनि कैलालीको पूर्वी क्षेत्रका किसानले धान खेतीका लागि ब्याड राख्न सुरु गरेका छन् । रानीजमरा र कुलरिया कुलो सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा रहेका किसानले धानको ब्याड राख्न थालेका हुन् ।
राष्ट्रिय गौरवको रानी जमरा र कुलरिया सिँचाइ आयोजनाअन्तर्गतका कुलोमा पानी आएपछि समयमै धानको ब्याड राख्न सुरु गरिएको हो । अहिले राखिएको ब्याड असारको पहिलो साता रोप्नका लागि तयार हुने जानकी गाउँपालिका–३ सुवर्णपुरका किसान लालबहादुर चौधरीले बताए । ‘कुलोमा पानी आएपछि सजिलो भएको छ । पानीको समस्या छैन । ब्याड तयार हुनेबित्तिकै रोप्न सकिन्छ,’ लालबहादुरले भने, ‘असारको सुरुवातसँगै रोप्ने तयारीस्वरूप धानको ब्याड राखेको छु ।’ यो क्षेत्रमा धान मुख्य बाली हो ।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कमान्ड एरियामा करिब १० हजार हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । उक्त सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले किसानलाई अनुदानमा धानको बीउ सहयोग गर्दै आएको छ ।
आयोजनाको कृषि कार्यालय प्रमुख भरत कँडेलले किसानलाई खाद्यान्न र बीउ उत्पादनका लागि बीउ अनुदान दिँदै आएको बताए । उनले भने, ‘सिँचाइ आयोजनाको कमान्ड एरियामा १३ वटा संस्थाले बीउ उत्पादन गर्दै आएका छन् । सहकारी तथा अन्य संस्थाले बीउ उत्पादन गर्न थालेपछि यो क्षेत्र धानको बीउमा आत्मनिर्भर बनेको छ ।’