धनगढीमा अक्सिजन उद्योगको लुट, सञ्चालक भन्छन्, ‘घाटामा उद्योग चलाउन सकिदैन’
2021/05/24, 4:09
 
o

धनगढी : कोभिड–१९ को महामारीको समयमा अक्सिजन उद्योगले लुट मच्चाएको आरोप लागेको छ । सुदूरपश्चिममा रहेको एकमात्र अक्सिजन गद्योग मालिकाले मनपरी शुल्क लिएको आरोप लागेको हो । कोभिड संक्रमित बहिनीका लागि उद्योगबाट अक्सिजन खरिद गरेका धनगढीका एक युवकले भने, ‘समाचारमा प्रति सिलिण्डर चार सय रुपैँया पर्छ भन्ने सुनेको थिए । तर उद्यागेले नौँ सय रुपैँयामा मलाई एक सिलिण्डर बिक्री गरेको छ ।’

उनका अनुसार नौँ सयमा पनि अक्सिजन पाउँन हम्मेहम्मे परेको थियो । ‘मालिका ग्यास उद्योगले रकम महंगो लिए पनि आधा सिलिन्डर मात्रै ग्यास दिने गरेको गुनासो पनि छ,’ उनले भने । धनगढीमा रहेको मालिका ग्यास उद्योगले सेती प्रादेशिक अस्पताललाई चार सय रुपैयाँका दरले प्रति अक्सिजन सिलिण्डर उपलब्ध गराउने सहमति पनि गरेको थियो । तर उक्त उद्योगले सेती प्रादेशिक अस्पताललाई गर्ने अक्सिजनको आपूर्तिमा व्यापक कटौती गर्दै अन्यलाई महंगो मुल्यमा अक्सिजन बिक्री गरिरहेको हो ।

प्रादेशिक अस्पतालका अनुसार मालिका उद्योगले अहिले अस्पताललाई दैनिक ८ देखि १० सिलिण्डर अक्सिजन मात्रै उपलब्ध गराइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालमा भने चार सयका दरले नै अक्सिजन उपलब्ध भइरहेको बताए । 

प्रादेशिक अस्पताललाई चार सयमा अक्सिजन उपल्ब्ध गराइरहेको मालिका उद्योगले अन्य अस्पताल र व्यक्तिलाई भने प्रति सिलिण्डर एक हजार पाँच सयसम्ममा बिक्री गरेको जनाएको छ । उद्योगका सञ्चालक नरेश शाहले केही दिनसम्म एक हजार पाँच सय रुपैयाँमा अक्सिजन सिलिण्डर बिक्री गरेको स्विकार गरे । ‘सामान्य समयमा विद्युत महसुल कम पर्ने रातिको समयमा ८ घण्टा मात्रै उद्योग सञ्चालन गर्ने गरेका थियौँ,’ शाहले भने, ‘तर अहिले कोरोना भाइरसको महामारीमा अक्सिजनको माग बढेपछि २४ घण्टा नै उद्योग चलाईरहेका छौ । विगतमा माषिक दुई लाख विद्युत महसुल आउने ठाउँमा अहिले ६ लाख आईरहेको छ । उद्योगमा कामदारको संख्या पनि बढेको छ । लागत बढेपछि अक्सिजन पनि महंगोमा बिक्री गर्नुपर्ने बाध्यता आएको हो ।’ उनले विगतमा तीन जना कामदारले उद्योग चलाईरहेकोमा अहिले कामदारको संख्या पनि ८ जना पुगेको बताए । ‘अक्सिजन उत्पादनमा ह्वात्तै लागत बढेको छ । विगतकै मूल्यमा बिक्री गरेर घाटामा उद्योग चलाउन सकिदैन्,’ उनले भने । 

चर्को मूल्यमा अक्सिजन बिक्री वितरण गरिरहेको गुनासोपछि मालिका अक्सिजन उद्योगका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय कैलालीले स्पष्टिकरण सोधेको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले उद्योग सञ्चालकलाई प्रशासन कार्यालयमा बोलाएर स्पष्टिकरण सोधेको बताए । ‘मौखिक जवाफमा उद्योग सञ्चालकले बढि मूल्य नलिएको दाबी गरेको तर लिखित स्पष्टिकरण भने आइतबार बुझाउनू भनेर निर्देशन दिएका छौ,’ चौधरीले भने ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अक्सिजन उत्पादनको लागत बढेको र मूल्य पनि बढाउन पर्ने माग गद्योगबाट आएको बताए । ‘महामारीको समयमा मूल्य बढाउँदा ठिक हुँदैन भनेर हामीले उद्योग सञ्चालकलाई भनेका छौ,’ जोशीले भने, ‘आज पनि हामी उद्योगको अनुगमनमा गइरहेका छौ । चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारवाही हुन्छ ।’ यता उद्योग सञ्चालक शाहले प्रशासनले स्पष्टिकरण सोधेपछि अहिले ७÷८ सय रुपैँयामा अक्सिजन सिलिण्डर बिक्री गरिरहेको बताए ।