च्याम्पीयन जन्माउने कैलालीका जितराम चौधरी कोरोनासँग हारेका छन् । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका ५६ वर्षीय जीतराम चौधरीको सेती प्रादेशिक अस्पतालको आईसियुमा मृत्यु भएको छ ।
जीतराम व्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पीयन रामसिंह चौधरीका बुबम हुन् । अर्काको घरमा काम गरेर छोरालाई ऐश्वर्य विद्या निकेतनमा पढाएका जीतरामले सुदूरपश्चिमका लागि मात्र नभएर देशले गर्व गर्ने च्याम्पीयन बनाए । राम सिंह चौधरीले व्याडमिन्टनको प्रतिस्पर्धामा दुई पटक सिनियर च्याम्पीयनको उपाधि हात पारे । दुई पटक सिनियर तर्फको च्याम्पीयनको उपाधी कब्जा गरेका उनले तीन पटक सिनियर तर्फको राष्ट्रिय प्रतिस्पर्धामा उप विजेता बने ।
यद्दपि जीतराम चौधरीको परिचय यतिमै सिमित छैन । उनको जिन्दगी आफैमा एउटा संघर्षको कथा हो । कुनै बेला जीतराम अरुमा आश्रित थिए । अर्काको घरमा काम गर्थे । बसले कुल्चिएर मुस्किलले जोगिएका जीतरामको खुट्टा झण्डै काम नलाग्ने भएको थियो । उनको खुट्टा कमजोर भयो । तर आत्मबल कहिल्यै कमजोर भएन । उनको जिन्दगीको उतार चढाव फिल्मको कहानीझै छ । ईमान्दार र सरल जीतरामको जिन्दगी भने नियतिले सधै जटिल बनाईरह्यो । पहिलो पत्नीको मृत्युपछि उनले दोस्रो विवाह गरे ।
उनले खेती किसानी गरे । बसको कन्डक्टर भए । घर निर्माणमा हात हाले । ज्यालादारीमा अरुका लागि काम गर्दा गर्दै आफै ठेकेदार भए । अरुमा आश्रित तिनै जीतरामले त्यसपछि भने धेरैलाई आश्रय दिए । काम दिए । ज्याला दिए । र धेरैको घरमा चुल्हो । यतिबेला उनीसँग ८ वटा घरको ठेक्का थियो । धनगढीका बिभिन्न स्थानमा घर निर्माणको ठेक्का लिएका जीतरामसँग यतिबेला ५० जना भन्दा बढी मिस्त्री र ज्यालादारीमा काम गर्ने मजदुरहरु आश्रित थिए ।
उनी यस्ता ठेकेदार थिए, जसले सधै मजदुरलाई माया गरे । आफू अभावमा बाँचेर मजदुर र मिस्त्रीलाई पैसा दिए । उनले जे जति काम गरे, ईमान्दारीपूर्वक गरे । कहिल्यै उनको काममा कसैले गुनासो गरेन । त्यसैले त जीतराम सबैका प्रिय थिए । र उनलाई काम गर्न भ्याई नभ्याई थियो । उनी अस्पतालको शैयामा हुदा पनि घर निर्माणको काम रोकिएको थिएन । तर जव दिउँसो जीतरामको मृत्युको खवर फैलियो । मिस्त्री र मजदुरहरुमा रुवावासी चल्यो । उता अस्पतालमा जीतरामको सास ठप्प हुँदा यता घर निर्माणको सबै काम एकछिनमै ठप्प भयो ।
देशलाई च्याम्पीयन छोरा दिने जीतराम केही दिनदेखि अस्पतालको शैयामा कोरोनासँग लडिरहेका थिए । उनको नाम जीतराम भएपनि उनका छोरा रामसिंहले उनको नामलाई सार्थक बनाए । उनका छोरा रामसिंह व्याडमिन्टनमा सधै जितिरहे । कहिल्यै हारेनन । तीनै च्याम्पियन छोराका बुवा जीतराम कोरोनासंगको संघर्षमा हारे । रामसिंह सुनाउदै थिए– ‘लाख कोसिस गर्दा पनि बुवालाई जोगाउन सकेनौ ।’ आईसियुमा रहेका बुवालाई रामसिंहले एक दिन छाडेनन । उनले अक्सिजनको अभाव कहिल्यै हुन दिएनन । उनी भन्दै थिए, अक्सिजनले मात्र बचाउन सकिदो रहेनछ ।