विदेशबाट फर्किएर फक्रिएका तिर्थ
2020/06/07, 8:09
 
pan family

सीताराम ओझा- तपाई हामी विदेश जान पायौं भने उतै वस्छौ । राम्रो कमाई आधुनिक जीवन शैली र समाजमै हराउन जो कोही पलायनको मानसिकता बोकेर विदेश लाग्छौ । कतिपय नेपालमै वसेर विदेश जाने योजना बनाईरहन्छौं । तर कतिपय मान्छेलाई पैसा धन सम्पतिभन्दा पनि आफ्नै माटो प्यारो लाग्छ । विदेश गएर पनि स्वदेशमै केही गर्ने चाहना हुन्छ । तिनै मध्येमा पर्छन् धनगढीका युवा व्यवसायी तिर्थ पन्त । पन्तको जेठ २५ गते आईतबार जन्मदिन हो । त्यही जन्मदिन पनि सामाजिक काम गर्दै मनाएका छन् । धनगढी र गौरीफन्टामा नेपालीहरुलाई सहयोग गरेर जन्मदिन मनाएका हुन् । उनी मात्रै होईन उनकी धर्मपत्नी मिराको पनि आईतवार नै जन्मदिन हो । पन्त दम्पतिले जन्मदिनलाई भव्य र सभ्य रुपमा मनाउनलाई कुनै समस्या छैन तर उनीहरुले आफ्ना लागि भन्दा पनि अरुका लागि सोचे, आफुलाई भन्दा पनि समाजलाई हेरे । जन्मदिनको सन्दर्भमा झण्डै ५० हजारभन्दा वढीको खाद्यान्न क्वारेन्टाईनमा वसेकाहरुलाई सहयोग गरे । ५ हजार जनालाई पुग्ने खाद्यान्न दिएर जन्मदिनलाई उल्लासमय बनाए आफु र आफ्नी अर्धानिंगीनीसँग मात्रै होईन, सवैका लागि । 

तिर्थ पन्त सुदुरपश्चिम प्रदेशको निसर्ग हस्पिटल एण्ड रिसर्च प्रालिका अध्यक्ष हुन् । दुरसञ्चार क्षेत्रमा पनि उनी लामो समयदेखि आबद्ध छन् । धनगढीको पिएनपी ग्रुपका पनि प्रबन्ध निर्देशक छन् । लाईन्स क्लब अफ धनगढी कैलालीको पनि अहिलेका अध्यक्ष छन । रोयल मार्बलमा पनि व्यवसाय साझेदार छन् । सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुर, लाईन्स क्लब अफ हेल्थ एण्ड मेडिकोमा पनि आजीवन सदस्य छन् । उनीएनडिएन संस्थाका पुर्व केन्द्रिय कोषाध्यक्ष पदमा पनि काम गरिसकेका छन् । निजि अस्पतालहरुको संस्थामा पनि उनी समितिका सदस्य छन् । उनी आफ्नो व्यापार व्यवसायसँगै सामाजिक काममा पनि लागिरहेका कुरा विभिन्न संस्थामा उनको आबद्धता र उनको सहयोगले पनि प्रष्ट पार्छ । 

कैलालीको त्रिनगर नाकामा आउने नेपालीहरुले खाना खान नपाएको अवस्थामा उनी र निसर्ग अस्पतालकै सहयोगमा रोयल कोलाब्रोटिभ्सले आजसम्म निरन्तर रुपमा खाना खुवाईरहेको छ । आफु मात्रै होईन उनले अरुलाई पनि सामाजिक काममा जोडिरहेका छन् । नेपालगंज मेडिकल कलेज, फिल द वकेटलाई उनले खाना खुवाउने अभियानमा जोडे । अहिले उनीहरुले पनि केही दिनदेखि खाना खुवाउन सहयोग गर्दै आएका छन् । विदेशबाट पनि उनले खाना खुवाउने अभियानमा सहयोग जुटाईरहेका छन् । धनगढीमा हुने जुनसुकै कार्यक्रममा पनि उनको सहयोग रहने गरेको छ । उनलाई भेट्न गएकाहरु रित्तै फर्किनु पर्दैन । लकडाउनको समयमा खाद्यान्न लगायतका सामानहरु नपाउने अवस्थामा आफै अध्यक्ष रहेको लाईन्स क्लब अफ धनगढी मार्फत घुम्ती पसल सञ्चालन गरे । बजारबाट घरमा आवश्यक पर्ने सामाग्रीहरु आफै किने र बजारमुल्यभन्दा सस्तोमा दिएर सहयोग गरे । समाजबाट कमाएको पैसा समाजमै लाउनुपर्छ । हामीलाई समाजले दियो, हामीले पनि समाजलाई दिनुपर्छ भन्ने मान्यता राख्छन् उनी । अर्थात उनको सोच नाम जस्तै समाजमा लगाईयो भने तिर्थ कमाईन्छ, धर्म लाग्छ भन्ने रहेको छ । 

धनगढीमा जमिरहेका उनी धनगढी आएको भने धेरै भएको छैन् । उनी धनगढीमा व्यापार व्यवसाय गर्न थालेको ८ बर्ष मात्रै भएको छ । सन् २०१२ मा उनी विदेशको राम्रो कमाई र सुविधालाई त्यागेर त्यहाँको जस्तै काम आफ्नै भुमीमा किन गर्न सकिदैन् भन्दै फर्किएका हुन पन्त । डोटीको जोरायलका उनी घोडसुवा गाउँमा परिवार सहित वसाई गर्दा उनको वसाई अधिकांश समय नेपालगंज नै भयो । दाईको सरकारी जागीरसँगै मावि, उच्च माविसम्मको पढाई उनले उतै गरे । माविको पढाई सकिएपछि उनले विज्ञान पढे । उनलाई डाक्टर बन्ने चाहना थियो । तर पढाईमा मध्यम नै भएका कारण पढ्नका लागि कुनै समस्या पनि हुन्थेन उनलाई तर डाक्टर नै पढ्न गाहे हुन्छ की भनेर उनले सिएमए पढे । त्यही पढाईका क्रममा उनले कोहलपुर मेडिकल कलेजमा जागीर पनि गरे । मेडिकल कलेजको फार्मेसी प्रमुख भएर उनले ५ बर्षभन्दा वढी नै काम गरे । आफु जागीर गर्दागर्दै कोहलपुरमा रेष्टुरेण्ट पनि साथीभाईहरुसँग मिलेर चलाए । मेडिकल कलेजको वसाईमा उनी धेरै जनासँग घुलमिल भए । उनलाई आशा गरेर कोहलपुरमा कैलाली कञ्चनपुर डोटीबाट धेरै जना जान्थे । उनी धेरैलाई आफ्नै कोठामा वसाउँथे, खुवाउँथे । डाक्टरहरुसँग पनि चिनजान हुनाले उपचारमा सहज हुन्थ्यो । त्यही वेलादेखि नै दिन दुःखीहरुलाई सहयोग गर्नुपर्छ भन्ने धारणा वनाईसकेका थिए उनले । नेपालगंज मेडिकल कलेजमा फार्मेसी प्रमुखको रुपमा काम गर्दा गर्दै उनलाई ईजरायल जाने अवसर आयो । हेल्थ केयर टेनिंगका लागि सन् २०६६ तिर उनी ईजरायल हानिए । ईजरायलमा सरकारी कोटामा नेपालीहरुलाई विद्धाश्रमहरुमा स्वास्थ्य उपचार र उनीहरुको हेरचाहका लागि लैजाने परिपाटी थियोे । उनी भने स्वास्थ्य र हेरचाहका लागि जाने टोलीको प्रशिक्षक भएर त्यहाँ गए । ७ बर्षको वसाईमा उनले राम्रो पैसा पनि कमाए । उनलाई ईजरायलले आफ्ना नागरिकलाई दिएको स्वास्थ्य सेवा देखेर अचम्म लाग्यो । त्यही बस्दा लाग्थो नेपालले किन यसो गर्दैन । ईजरायलका जेष्ठ नागरिकहरुका लागि उनीहरुलाई विद्धाश्रममा राखिन्छ । नेपालमा वाध्यताले राखिन्छ तर ईजरायलमा उनीहरुलाई रहरले राखिन्छ । उनीहरुका छोराछोरी आफ्नै काममा हुन्छन् । वुढा वुवा आमालाई हेर्ने कोही हुँदैन । आफु जस्तै उमेरकाहरुसँग जीवनका उत्तरार्धमा दिन कटाउन रमाईलो होस् भने विद्धाश्रममा राख्ने गरिएको छ । उनीहरुको स्वास्थ्य तथा हेरचाहको पुरै जिम्मा सरकारले लिन्छ । कमाउने उमेरमा उनीहरुले कमाईको एक अंक सरकारलाई दिन्छन् ।

त्यहीबाट वुढेसकालमा उनीहरुमा ईजरायल सरकारले लगानी गर्दै आएको छ । उनीहरुको स्वास्थ्य तथा हेरचाहमा नेपालबाट पनि रोजगारीका लागि धेरै जना जाने गरेका थिए । उनीहरुको स्वास्थ्य उपचार गर्नेहरुको प्रशिक्षक भएर गएका तिर्थ पन्तले त्यहाँको वसाईमा धेरै कुरा सिक्ने मौका पाए । उनलाई त्यहाँ वस्दावस्दै अमेरिका र क्यानडाको अफर पनि नआएको होईन । ईजरायलमै वस्न पनि उनलाई धेरै आग्रह गरियो । तर उनको मन मानिएन उनी त्यसपछि सिधैं हानिने नेपाल । उनी नेपाल फर्किदा द्धन्द्धकाल करिब करिब सकिएको थियो । त्यो वेला यही केही गर्नुपर्छ भन्नैमा उनको जोड थियो । धनगढी पुगेर उनले दुरसञ्चार क्षेत्रको व्यवसाय सुरु गरे । रिचार्ज कार्डको व्यवसाय जुनदेखि उनी व्यवसायी बनेका थिए, आजको दिनसम्म पनि निरन्तर चलिरहेकै छ । तर उनको जाने बाटो नै फरक थियो । त्यही क्रममा साथीभाईसँग मिलेर निरपाल पोलि क्लिनिक सञ्चालन गरे । पोलि क्लिनिकको अनुभवले सुदुरपश्चिममा त्यो समयमा दिईएको स्वास्थ्य सेवा पर्याप्त छैन भन्ने लाग्यो । सानो तिनो उपचारका लागि पनि नेपालगंज वा भारतका शहर जानुपर्ने वाध्यता थियो ।

पोलि क्लिनिकबाट गुणस्तरीय स्वास्थय सेवा दिन सकिने अवस्था थिएन् । त्यही पोलि क्लिनिकको परिकल्पनालाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर मार्फत मुर्त रुप दिए । निसर्गसँगै आज धनगढी मेडिकल हवको रुपमा विकास भएको छ । त्यसको सुरुवात निसर्गले गरेको दावी गर्छन तिर्थ । साथीभाईहरु त्यही क्षेत्रका जानकारहरु मिलेर खुलेको निसर्ग आज गुणस्तरीय स्वास्थ्य सेवामा अब्बल ठहरिरहेको छ । आईसियु एनआईसियु भेन्टिलेर लगायतका विशेषज्ञ डाक्टरहरु सुविधा भएका कारण अव उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई हटाउन सफल भएका छन तिर्थ पन्त एण्ड कम्पनी । ठुला ठुला शल्यक्रियाहरु, मेरुदण्डका शल्यक्रियाहरु लगायतका जटिल प्रकृतिका उपचार सेवा धनगढीमै पाउन सफल भएका छन् सुदुरपश्चिमवासीहरु । जसको जस जान्छ पन्तलाई । ५ करोडबाट सुरु भएको अस्पतालमा लगानी अहिले १५ करोड पुगेको छ । तर निसर्गले अहिले दिईरहेको सेवालाई पनि पर्याप्त मान्दैनन् उनी । एक सय वेडको अस्पताल सहित एमआरई सिटी स्क्यान लगायतका सेवा थप्ने तयारीमा उनी र उनको टीम लागिरहेको छ । उनको टीमले विश्वसा गरेर अस्पतालको अध्यक्ष बनेका उनी अव अस्पतालमा सेवा सुविधाहरु थपेर यसको उचाई वढाउने सपना देखिरहेका छन् ।