सुदूरपश्चिमेलीको रोजगारीको गन्तव्य हो भारत । अधिकांश सुदूरपश्चिमेलीहरु रोजगारीका लागि भारत जाने गरेका छन् । पहाडी जिल्लाका हरेक घरबाट रोजगारीका लागि भारत नपसकेको कुनै घर नै खाली नहोला । त्यसमा पनि अझ अछामका मानिसहरुको रोजगारीको मुख्य गन्तव्य हो महाराष्ट्र र त्यसमा पनि मुम्बई । गाउँभरीका प्रायः अधिकांश मानिसहरु एकै ठाउँमा रोजगारी गर्ने, सँगै आउने जाने प्रचलन पनि रहेको छ । एकै शहरमा काम गर्दा दुःख सुद पर्दा एकअर्काको साथ पाईने सोचेर प्रायः नजिक नजिकै रोजगारी गर्ने प्रचलन रहेको छ ।
आजभन्दा १९ बर्ष अगाडीको अवस्था आजको भन्दा फरक नै थियो । आज जहाँ भएपनि सम्पर्क गर्नका लागि हात हातमा मोबाईल छ । ईन्टरनेटको सहज पहुँच छ । मन लागेका वेला जुनसुकै माध्यमबाट पनि सम्पर्क गर्न सकिन्छ । अडियो मात्रै होईन भिडियो मार्फत नै हालखबर पनि सजिलै बुझ्न सकिन्छ । तर विस २०५९ सालतिर यो अवस्था थिएन् । परदेशीकाहरु रोजगारीका लागि कहाँ छन के गर्दैछन् अवस्था के छ ? थाहा हुने अवस्था थिएन् । सम्पर्क गर्नु पर्यो भनेपनि जहाँ काम गर्छन त्यहाँको नम्बर पत्ता लगाएर सम्पर्क गर्नुपथ्र्यो । काम गर्ने ठाउँका साहुले मन लागेपछि फोन दिन मन नलागे नदिने प्रवृति थियो । जस कारण एकै शहरमा र आसपास काम गर्दा पनि हालखबर बुझ्नै गाहे हुने अवस्था थियो ।
यो अवस्थालाई नजिकबाट भोगिरहेका थिए अछामको ककडसात गाउँबाट गएकाहरुले पनि । हालको साफेबगर नरपालिका वडा नम्बर ७ मा पर्ने यो गाउँका प्रायः सबै घरका मान्छे भारतमा रोजगारीमा गएका छन् । विगतमा पनि जाने गर्दै आएका थिए । ककडसात गाउँका परदेशीहरुले महिना एक पटक भएपनि मुम्बईमा भेटघाट गर्नका लागि र परदेशको सुखदुःख विसाउनका लागि के गर्न सकिन्छ भनेर सोच बनाए । त्यही सोचले विस २०५९ साल वैशाख १ गतेका दिन जन्मियो ककडसात एकता संघ परिवार । आफ्नै गाउँका मानिसहरु मात्रै सदस्य बनाएर बनेको थियो यो संघ परिवार ।
कडसातका १८ जना परदेशीहरु सुरुमा सदस्य बने । सदस्यता शुल्क थियो एक सय रुपैयाँ । संस्था स्थापना भयो अठार सय रुपैयाँले । संस्थापक अध्यक्ष थिए रुपवहादुर भाट संस्थापक सचिव थिए भरत भाट । भरतकै परिकल्पना थियो यो संस्था । उनले नै आफ्नै गाउँघरका साथीभाईहरुलाई भेटघाट गर्ने वहानामा यसको सुरुवात गरौ भन्ने सोच बनाएका थिए । सबै जनासँग सरसल्लाह गर्दा सबै जना राजी भएर नै अनौपचारिक रुपमा दर्ता विना नै सञ्चालनमा आएको थियो ककडसात एकता संघ परिवार ।
उनीहरुले हरे महिना भेटघाट पनि गर्ने एक सय रुपैयाँ पनि जम्मा गर्न थाले । जम्मा भएको रकम विभिन्न सामाजिक कामहरुमा पनि लगाउँदै गए । परदेशमा आपत विपत पर्दा सहयोग गर्ने, औषधी उपचार गर्ने र परदेशीका छोराछोरीलाई पढ्नका लागि छात्रवृति दिने कामहरु गर्दै गए । कोषमा रकम पनि थपिदै गयो । सदस्यहरु थपिदै गएपछि २०७५ सालसम्ममा ककडसात एकता संघ परिवारमा ४३ लाख रकम जम्मा भयो । एक सय ६५ जना सदस्य भए । आपतविपतको सहरा बन्यो कोषको रकम । लाभान्वित भए परदेशीहरु । तर ककडसात गाउँका मात्रै । संघका सदस्यहरुले अझ मन फराकिलो पारे । आफ्नै गाउँभन्दा आसपासका गाउँका मानिसलाई पनि सहयोग गर्न पाए राम्रो हुन्थ्यो । अनि क्षेत्र विस्तार गर्दै अछामको चौरपाटी गाउँपालिका तथा साफेबगर र मंगलसेन नगरपालिका क्षेत्रका परदेशीहरुलाई पनि सदस्य बनाए । सदस्य संख्या पुग्यो २२२ र कोषमा रकम पुग्यो ५० लाख ८९ हजार ।
भारतमा दर्ता विना नै सामाजिक कामको लागि खोलिएको संस्थाले प्रगति गरिरहेको अवस्थामा यसलाई संस्थागत रुपमै अगाडी बढाउने योजना बन्यो । भारतमा यत्रो ठुलो रकम चलाउँदा कर विभागको समस्या तथा भारतको कानुनले समस्या पर्ने देखियो । त्यसपछि त्यही समस्याले जन्मायो नयाँ सोच अनि त्यही ककडसात एकता संघ परिवारलाई नेपालमा ल्याईयो । अछाममा ल्याईसँगै त्यसको दर्ता प्रक्रिया अघि बढ्दा बल्ल यसपाली प्रवासीको हकहितका लागि सुरु गरिएको कोषले सहकारीको रुप लियो । अछाम जनचेतना बहुउद्देश्यी सहकारी संस्थाको नामले दर्ता भएसँगै अगाडी बढेको अछाममा ल्याईसँगै त्यसको दर्ता प्रक्रिया अघि बढ्दा बल्ल यसपाली प्रवासीको हकहितका लागि सुरु गरिएको कोषले सहकारीको रुप लियो ।
अछाम जनचेतना बहुउद्देश्यी सहकारी संस्थाको नामले दर्ता भएसँगै अगाडी बढेको संस्थाका अध्यक्ष भरत भाट बताउँछन् । सहकारी दर्ता भएको प्रमाणपत्र पाएको दिन १९ बर्षको संघर्षको फल प्राप्त गरेको भन्दै फेशबुकमै खुशी व्यक्त गरेका छन् भाटले उनले लेखेका छन्–‘साउनको पवित्र महिनाको पहिलो सोमबारमा पवित्र मनले सुरु गरेको सामान्य सोसाइटीलाई सहकारी संस्थामा दर्ता गरि जीवनको सबैभन्दा ठुलो उपलब्धी हासिल गर्न सफल भैयो । २०५९ बैशाख १ गते १८ जना प्रवासी दाजुभाइलाई जोडी एक एक सय जम्मा गरेर १८ सयले ५० लाखको मजबुत आर्थिक व्यवस्था बनाउदै आज अछाम जनचेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दर्ता गर्न सफल हुँदा अनगिन्ती आनन्द महसुस भएको छ । यस दौरान हामीलाई सहयोग गर्ने सदस्यलाई बधाईका साथै धन्यवाद दिदै बिगत १९ वर्षदेखि मेरो र यस सोसाइटीको आलोचना गर्नेहरूलाई पनि धेरै धेरै धन्यवाद ।’
सहकारी दर्ता भएसँगै अब प्रवास जाने क्रमलाई रोक्ने कार्यक्रमतर्फ नै ध्यान केन्द्रित गरेको अध्यक्ष भाट बताउँछन् । अहिले पनि सहकारीको ३६ लाख रकम लगानी गरिएको छ । शेयर सदस्यहरुलाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म विना धितो लगानी गरिएको छ । सानो रकमले पनि आयआर्जनको बाटोतिर उन्मुख भएका छन् सहकारीका सदस्यहरु । घरायसी कामकाजका साथै आर्थिक उपार्जनको बाटोतिर लगाउन सकेमा खुशीछन् सहकारीका अध्यक्ष भाट । आधा जीवन भारतमै विताउँदा पनि आफुहरुले आफ्नो गाउँठाउँका लागि केही गर्न नसकेको विगतलाई मेटाउँदै अगाडी बढेका छन् सहकारीका शेरय सदस्यहरु । अब देशका लागि आफ्नो गाउँ ठाउँका लागि केही गर्न सक्छौ भनेर नै लागिरहेका छन् उनीहरु । उनीहरुको प्रमुख उद्देश्य नै अब रोजगारीका लागि भारत जान नपरोस् आफ्नै घरमा काम गरेर खान पाईयो भन्ने रहेको छ । त्यही भएर त्यही कुरालाई मुलमन्त्र बनाएर अगाडी बढिरहेका छन् उनीहरु पनि ।