सुदुरपश्चिममा अव्यवस्थित क्वारेन्टिनले फैलियो कोरोना कहर
2020/06/12, 4:11
 
cartoon

सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । यसअघि वैशाख १ गतेसम्म ५ जना संक्रमित रहेकोमा उनीहरु सवै जना निको भएर घर फर्किसकेका थिए । तर जेठ महिनामा संक्रमितहरुको संख्या ह्वात्तै वढेको छ । अधिकांश संक्रमितहरु एउटै क्वारेन्टिनमा वसेका पाईएका छन् । क्वारेन्टिनमा संक्रमण फैलिएपछि अवस्था भयावह बन्दै गएको छ ।

भारत र अन्य जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकाहरूको स्वाब परीक्षण गर्दा संक्रमित संख्या ह्वात्तै बढेको हो ।  हालसम्म सुदुरपश्चिमको सार्वजनिक भएको नतिजाले क्वारेन्टिनमा संक्रमण फैलिएको पुष्टि गरेको छ । लकडाउन सुरु भएदेखि वडा वडामा क्वारेन्टिन संचालन गर्ने होड चलेको थियो । विभिन्न जिल्लाका अधिकांश स्थानीय तहले पसल खोलेजस्तै क्वारेन्टिन खोलेका छन् । त्यस्ता क्वारेन्टिनका लागि स्थानीय तहले लाखौं खर्च गरेको रेकर्डमा देखिन्छ । एउटै ट्वालेट, बाथरुम, कपडा प्रयोग गरिरहेकाले क्वारेन्टिनमा संक्रमण फैलिएको विज्ञको अनुमान छ । 

कैलालीमा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ । त्यसमा सवैभन्दा वढी कैलालीको गौरीगंगामा २० जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सवै जना संक्रमितहरु दुई वटा क्वारेन्टाईनमा सँगै राखिएका रहेको गौरीगंगा नगरपालिकाका मेयर भीम देउवाले बताए । भारतबाट सँगै आएर एकै क्वारेन्टाईनमा वसेका डोटीका चार जना पनि कोरोना संक्रमित भएका छन् । कैलालको जानकी गाउँपालिकामा ८ जना कोरोना संक्रमित भएका छन् । उनीहरु सबै स्थानीय सरस्वती माविको क्वारेन्टाईनमा वसेकाहरु हुन । उनीहरुमध्ये अधिकांश विभिन्न नाकाहरु भएर भारतबाट आएका र देशका अन्य भागहरुबाट आएका हुन् ।

क्वारेन्टिनमा धेरै मानिसहरुलाई एकै ठाउँमा राख्दा नभएकाहरुलाई भएको देखिएको जानकी गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले जानकारी दिए । छेउकै टीकापुर नगरपालिकामा पनि १३ जना संक्रमितहरु रहेका छन् । उनीहरु सवै टीकापुरको कर्णाली माविको क्वारेन्टिनमा सँगै बसिरहेको टीकापुर नगरपालिका मेयर तपेन्द्र कुँवरले जानकारी दिए । कञ्चनपुरका ३४ जना मध्ये २० जना एकै ठाउँका रहेका छन् । उनीहरु सवै पुर्नवास नगरपालिकाको एकै विद्यालयका रहेका छन् । दुई जना स्वास्थ्यकर्मी उनीहरुको चेकजाँचमा संग्लन रहेको रहेका छन् । गौरीफन्टा सीमा नाकामा जेठ १० गते आएका उनीहरुलाई सीमामा जाँचका क्रममा लाईन लगाउँदा मास्क मात्रै लाएकोले आफुलाई कोरोना भारतबाट आएकाहरुलाई सरेको आशंका गरिरहेका छन् । भारतबाट सँगै आउने, सँगै गन्तव्यसम्म एउटै सवारी साधनमा पठाउने र एउटै क्वारेन्टिनमा सँगै राखिने भएकोले कोरोना संक्रमितहरुको संख्या ह्वात्तै वढेको जानकारहरु बताउँछन् । 

कैलाली कञ्चनपुरमा मात्रै होईन सुदुरपश्चिमका पहाडी जिल्लाका संक्रमितहरु एकै क्वारेन्टिनमा एकभन्दा वढी संक्रमित भेटिएका छन् । वाजुरामा एकै दिन विहीवार भेटिएका १८ जना मध्ये १७ जना एकै क्वारेन्टिका हुन् । वझांगका १० जना संक्रमितहरुमध्ये ६ जना संक्रमित एकै गाउँपालिका र एकै क्वारेन्टिनका रहेका छन् । उनीहरू एउटै क्वारेन्टाईनमा वसेको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए । संक्रमितलाई खप्तड छान्ना गाउँपालिकाले नै बनाएको आईसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए ।

डोटीका पनि १० जना मध्ये ७ जना कोरोना संक्रमित एकै क्वारेन्टाईनका हुन् । उनीहरु कैलालीको गौरीगंगा क्वारेन्टाईनमा रहँदा कोरोना संक्रमित भएका हुन् भने उनीहरु भारतबाट सँगै आएका पनि हुन् । वैतडीका ५ जना संक्रमित पुरुष पनि गौरीफन्टा नाकाबाट सँगै आएर एकै क्वारेन्टाईनमा वसेकाहरु हुन् । डडेल्धुराको गन्यापधुरामा कोरोना पुष्टि भएकाहरु पनि एकै क्वारेन्टिका हुन् । अधिकांश संक्रमितहरु समुहमा आउने समुहमा वस्ने गरेका कारण उनीहरुमा वढी कोरोना संक्रमण पुष्टि भईरहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । 

कोरोना संक्रमित र अन्य एक ठाउँमा, एउटै धारा, एउटै शौचालय
धनगढीका दुई कोरोना सक्रमितलाई क्वारेन्टिनमै राखियो । धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का २२ बर्षीय युवती र २६ बर्षीय युवकलाई पञ्चोदय माविको क्वारेन्टिनमा अरु ४५ जनालाई सँगै राखेपछि जोखिम वढयो । वडा नम्वर १४ का वडा अध्यक्ष रामबजारी चौधरीले संक्रमितलाई आइसोलेसनको व्यवस्था नहुँदा जोखिम बढेको गुनासो गरे । ‘पञ्चोदयको क्वारेन्टिनमा दुई जना संक्रमितसंगै अन्य ४६ जनालाई पनि राखिएको छ,’ वडा अध्यक्ष चौधरीले भने, ‘दुई जना संक्रमितले प्रयोग गर्ने शौचालय र धारा अन्य ४६ जनाले पनि प्रयोग गर्नुपरेको छ । यस्ले ४६ जनामा समेत त्रास फैलिएको छ ।’ ’एउटै शौचालयमा सबै जानुपर्छ । केरोना पुष्टि भएपछि अन्यले जान दिईरहेका छैनन्,’ कोरोना संक्रमित २६ बर्षीय युवकले भने, ’संक्रमितलाई राख्ने ठाउँ त आइसोलेसन हो भन्थे तर हामीलाई क्वारेन्टिनमै किन राखियो थाहा छैन् ।’ स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका पारित गरेपछि सेती प्रादेशिक अस्पतालले दुवै जना संक्रमितमा लक्षण नदेखिएको भन्दै फिर्ता पठाएको थियो । फिर्ता पठाइएका संक्रमितलाई अव्यवस्थित क्वारेन्टिनमा राखिदा संक्रमण फैलिने खतरा बढेको छ । 

मापदण्ड अनुसार क्वारेन्टिन छैन
कोभिड–१९ सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको संघीय, प्रदेश तथा स्थानीय मापदण्ड २०७६ बमोजिम घना बस्तीबाट टाढा, सय भन्दा बढीलाई राख्न सक्ने क्षमता भएको, सञ्चार, स्वास्थ्य पानी बिजुलीको पूर्ण व्यवस्था भएको र प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा न्यूनतम दूरी साढे तीन फिट हुनुपर्ने, नियमित सरसफाइ हुनुपर्ने लगायतको व्यवस्था छ । तर प्रदेश भरीका कुनै पनि क्वारेन्टिनहरु मापदण्ड अनुसार बनाईएको छैन ।  व्यवस्थित क्वारेन्टिन नहुँदा चेकजाँच नभई समुदायमा गएका त्यस्ता व्यक्तिबाट संक्रमण फैलिने जोखिम बढेको छ । 

व्यवस्थित  क्वारेन्टिन नभएर नाम मात्रको क्वारेन्टिनमा मानिसहरू कोचाकोच भएर बसेका छन् । स्वदेश र विदेशबाट आएका एउटै क्वारेन्टिनमा राख्ने गरिएको छ । जसले झन् क्वारेन्टिनमा संक्रमण बढेर व्यवस्थापन गर्न नसकिने अवस्था सिर्जना भएको छ । सुरु देखि नै क्वारेन्टिनको व्यवस्थापन ध्यान नजादा क्वारेन्टिनमा बाटै संक्रमण फैलिन सक्ने भन्दै सर्वसाधरण भयभित भएका छन् । भारतबाट आएर क्वारेन्टिनमा बस्ने छुट्टै व्यवस्थापन नर्गदा सबै क्वारेन्टिनमा बस्नेलाई सक्रमणको जोखिमबाट अछुतो नहुने देखिएको छ । 

पहिल्यै देखि क्वारेन्टिनमा बसेका र नयाँ आउनेलाई  क्वारेन्टिनमा राख्दा झन संक्रमण फैलिरहेको पुष्टि भएको छ । हालसम्म सार्वजनिक गरिएको स्वाबको नतिजाबाट क्वारेन्टिनमै संक्रमण फैलिएर छताछुल्ल भएको छ । क्वारेन्टिनमा बसिरहेकाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दा सर्वसाधरण भयभित बनेका छन् । यसअघि आरडिटि परीक्षण गराएर घर फर्केकाबाट समुदायमा संक्रमण फैलिन जोखिम बढेको स्थानीय बताउँछन् । ‘आरडिटि परीक्षण गरेर क्वारेन्टिनमा घर पठाएका अब डर भयो’ अछामका नरेन्द्र थापाले भने, ‘तीनैबाट समुदायमा कारोना संक्रमण फैलिने जोखिम बढेको छ ।’