कैलालीका मुकुन्दको फिल्म ‘एक्स ९’ मा पुष्प खड्का भित्रिए, खलनायक बन्लान् बलिउड अभिनेता सूद ?
2021/08/24, 11:09
 
corona

चर्चामा रहेको नेपाली फिल्म ‘एक्स ९’मा पुष्प खड्का भित्रिएका छन्। नेपालको सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म दाबी गरिएको फिल्ममा नेपालका महँगा र नाम चलेका कलाकारलाई भित्र्याउन निर्माण पक्ष लागिरहेको छ। 

केही दिन अघि अभिनेता अनमोल केसी, सौगात मल्ल, राज कटुवाल लगायतका अभिनेतालाई भित्र्याएको फिल्मको निर्माण पक्षले खड्कासँग औपचारिक रुपमा  सम्झौता गरेको हो।   उनी फिल्ममा एक्सन भूमिकामा प्रस्तुत हुने निर्माण पक्षको भनाइ छ। निर्माण पक्षले अभिनेता अनुप विक्रम शाहीसँग पनि सम्झौताको तयारी गरिरहेको छ। 

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ।  फिल्ममा खलनायकको भूमिकाका लागि बलिउड अभिनेता सोनु सूदलाई  अफर गरिएको समाचारहरु सार्वजनिक भएका छन्। यस अघि अभिनेता सुनिल सेट्टीसँग कुराकानी भएता पनि आर्थिक रुपमा महँगो भएपछि सोनुलाई प्रस्ताव राखिएको र  उनीसँग मौखिक सहमति भएको दाबी निर्माण पक्षको छ। 

निर्माण पक्षका अनुसार फिल्मको छायांकन आउँदो पौषको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुनेछ । यस फिल्मको कथा निर्देशक मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् ।