प्रधानमन्त्री कृषि आधुनिकीकरण: ३ करोडका सामान घर लगेपछि हायरिङ सेन्टर भैँसीगोठ बन्यो
2021/08/27, 3:35
 
dd

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा स्थापना गरिएका २ वटा कस्टम हायरिङ सेन्टर भैँसी गोठ र न्यू फेसन गार्मेन्ट्स प्रालिमा परिणत भएका छन् । करोडौं मूल्यका यन्त्र उपकरणहरू सञ्चालकले आ–आफ्नो घर लगेर कस्टम हायरिङ सेन्टरलाई भैंसी गोठ र न्यू फेसन गार्मेन्टसका रूपमा परिणत गराएका हुन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–८ सिमल डाँडा भन्ने स्थानमा रोशनी एग्रो प्रालि र बडैपुरमा बिराज एग्रो प्रालिले परियोजनाको अनुदानमा कस्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याएका थिए । तर स्थापनाको ४ वर्ष नपुग्दै सञ्चालकहरूले उपकरणहरू निजी सम्पत्तिसरह प्रयोग गर्नुका साथै घर लगेका हुन् । जमिन खनजोत गर्ने, जमिन सम्याउने, रोपाइँ गर्ने, कृषि उपज थ्रेसिङसम्ममा प्रयोग हुने आधुनिक प्रविधिका यन्त्र उपकणहरू खरिद गरिएको थियो । केही उपकरण बिक्री गरेको समेत खुलेको छ । 

ती दुईवटै कस्टम हायरिङ सेन्टर २०७४ जेठ १२ गते सञ्चालनमा आएका थिए । बोर्डमा उल्लेख भएको विवरणअनुसार परियोजनाले ती २ वटै फर्मलाई एउटै प्रकृतिको संरचना र यन्त्र उपकरणका लागि २ करोड ६९ लाख २० हजार रुपैयाँका दरले अनुदान सहयोग गरेको थियो । जसमा ५० प्रतिशत फर्मको लगानी रहेको छ । तर हाल ती बोर्डहरू समेत उखेलिएका छन् ।

के–के थियो, यन्त्र उपकरण र भौतिक संरचना ?

परियोजना कार्यालय धनगढीका अनुसार ती कस्टम हायरिङ सेन्टर सञ्चालन, व्यवस्थापन र सुरक्षाका लागि सेड हाउस १, गार्ड हाउस १, कम्पाउन्ड वाल १ को व्यवस्थाका लागि लगानी गरेको थियो । साथै ट्र्याक्टर ४ थान, पावर टिलर २३ थान, रोटाभेटर २ थान, डिस्क हाइरो २ थान, कमबाइन्ड हार्भेस्टर १ थान, कल्टिभेटर ४ थान, मल्टि थे्रसर ३ थान, ट्रली ४ थान, सीड ड्रिल ३ थान, रिपर विथ विन्डर २ थान, पम्पिङ सेट २ थान, जिरो टिलेज ड्रिल ३ थान, केजवील ४ थान, स्प्रेयर पाउडर १० थान, विइनोवर १० थान, पेड्डी थे्रसर १ थान र एसोसेरिज १ थान खरिद गरिएको थियो ।

तर आधुनिक कृषि यन्त्र उपकरण राख्ने ती कस्टम हायरिङ सेन्टर नानाथरीका फेसनका कपडा सिउने फेसन गार्मेन्ट र भैंसी गोठ बन्न पुगेको छ । स्थानीय समेत रहेकी परियोजना कार्यान्वयन इकाइ गहुँ सुपरजोन सञ्चालक समितिकी पूर्व उपाध्यक्ष पवित्रा सापकोटाले कतिबेला यन्त्र उपकरण अन्य स्थानमा सारे आफूहरूले थाहै नपाएको बताइन् । उपकरणहरू रोशनी एग्रो फर्मले जिल्लाको पहलमानपुर क्षेत्रतिर लगेको सुन्नमा आएको उनको भनाइ छ । 

परियोजना र निजी क्षेत्रबीच भएको सम्झौताअनुसार तोकिएको स्थानभन्दा कस्टम हायरिङ सेञ्टर अन्यत्र सार्न नमिल्ने, प्रयोग गर्न लगिएको बाहेक अन्य ठाउँमा राख्न नमिल्ने रहेको छ ।  तर सम्झौता विपरित ती कस्टम हायरिङ सेन्टरमा राखिएका यन्त्र उपकरणहरू अन्यत्र सारिए पनि सम्बन्धित निकाय बेखबर बनेका छन् ।

परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गरी कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यले स्थापना गरिएका ती कस्टम हायरिङ सेन्टरबाट स्थानीयहरू पटक्कै लाभान्वित हुन सकेका छैनन् ।  गौरीगंगा नगरपालिका ८ का लाजु चौधरीले भने, ‘यहाँ कस्टम हायरिङ सेन्टर छ, भन्ने कुरा मात्रै सुनेको छु । तर यहाँका यन्त्र उपकरण कहाँ प्रयोग हुन्छ, थाहा छैन ।’  त्यस्तै अर्का स्थानीय बेझु चौधरीले सरकारी लगानी रहेको सम्पत्तिको दुरुपयोग गरी कृषि बाहेकका अन्य काममा समेत प्रयोग भइरहेको बताए । 

आफ्नै घर लगेको स्वीकार 

सञ्चालकहरूले कस्टम हायरिङ सेन्टरका यन्त्र उपकरणहरू आफ्नै घरमा लगेको स्वीकार गरेका छन् । सिमल डाँडास्थित कस्टम हायरिङ सेन्टरको सञ्चालक संस्था रोशनी एग्रो प्रालिका सञ्चालक सीताराम कठरियाले ट्र्याक्टर लगायत उपकरणहरू भाडामा दिएको बताउँदै २ वटा ट्र्याक्टर आफ्नो घरमा राखेको र बाँकी अन्यत्र राखिएको बताए । 

अन्यत्र कहाँ राखिएको भन्नेबारे उनले केही खुलाएनन् । आफूहरूको कार्यक्षेत्र साविक बसौटी गाविस र पहलमानपुर गाविस परेकाले भौगोलिक अवस्थाका कारण कार्यसञ्चालनमा समस्या आएको उनको भनाइ छ । त्यस्तै अर्को कस्टम हायरिङ सेन्टर तथा बिराज एग्रो फर्मका सञ्चालक दीपेन्द्र गिरीले पहिलेको स्थानमा उपकरणहरू चोरी हुने हुँदा मसुरिया बजारमा राखेको बताए । परियोजना कार्यालय धनगढीका प्रमुख कलसराम चौधरीले पनि पहिलेको स्थानभन्दा यन्त्र उपकरणहरू सारिएको भन्ने कुरा सुनेको बताए ।

 

मूकदर्शक परियोजना कार्यालय

तोकिएकै तथा सम्झौतामा उल्लेख भएको स्थानमा यन्त्र उपकरण ल्याउन परियोजना कार्यालय चुकेको हो ? भन्ने जिज्ञासामा प्रमुख चौधरी भन्छन्, ‘मैले के गर्ने ? त्यसको फाइल त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै हेरेको होइन र ?’  परियोजना कार्यान्वयन इकाइ गहुँ सुपरजोन सञ्चालक समितिका अध्यक्ष रमेश चौधरीले आफूहरूले पटक–पटक ती कस्टम हायरिङ सेन्टर अनुगमन गर्दा सञ्चालकहरू सम्पर्कविहीन हुने, सम्झौतामा उल्लेख भए बमोजिमका उपकरणहरू नभेटिने गरेको बताए । 

त्यसका बारेमा प्रमुख जिल्ला अधिकारी सदस्य रहेको जिल्ला अनुगमन समितिसमक्ष गुनासो राखेको तर, कुनै सुनुवाइ नभएको अध्यक्ष चौधरीले दुःखेसो पोखे । तोकिएको स्थानभन्दा अन्यत्र ती उपकरणहरू राख्न नपाइने सम्झौता भएपछि कहिले पनि सम्झौता अनुसार काम नभएको उनको भनाइ छ ।  कस्टम हायरिङ सेन्टर राख्नका लागि १० वर्षे सम्झौता गरिएपनि ४ वर्षमै यन्त्र उपकरणहरू गायब छन् । यहाँसम्म कि कस्टम हायरिङ सेन्टर सञ्चालकहरूले केही उपकरणका साथै सम्झौतामा उल्लेख जग्गा समेत बिक्री गरिसकेको बताइएको छ ।

यसबारे जिज्ञासा राख्दा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यसबारे खोजबिन गरिनेब ताए । गायब गरिएका तथा कस्टम हायरिङ सेन्टरभन्दा अन्यत्र सारिएका उपकरणहरूको खोजबिन गरिने उनको भनाइ छ ।