कम्युनिष्टले सकेको संविधान जोगाउन कांग्रेस सरकारमा: कानुन मन्त्री बडु
2021/10/21, 9:45
 
Daeth

कम्युनिष्टले सकेको संविधान जोगाउन कांग्रेस सरकारमा आएको नेपाल सरकारका कानुन,न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले बताएका छन् ।  गृह जिल्ला दार्चुला सदरमुकाम  पुगेका बडुले सो कुरा बताएका हुन् ।

उनले कम्युनिष्टले नेपाली जनताले दिएको जनमतको कदर गर्न नसक्दा कांग्रेस सरकारमा आएको बताए । मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका बडुले नेपाली कांग्रेस दार्चुलाले बिहीबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको संविधान नै खतरामा पर्ने भएपछि कांग्रेस सत्तामा गएको बताएका हुन् ।

वर्तमान सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै बडुले विकास निर्माण देखी लिएर निर्वाचन गराउने र जनताका अपेक्षालाई सम्बोधन गर्ने सम्मका महत्वपुर्ण जिम्मेवारी सरकारको काँधमा रहेको बताए। 

जनताले कम्युनिष्टहरुलाई पाँच वर्षसम्म मुलुक संचालन गर्ने जिम्मा दिएको तर उनिहरु आपसमै झगडा गरेर बसेको बेला  प्रतिपक्षको भुमिकामा बसेको कांग्रेस जनादेशको सम्मान गर्दै सत्तामा आएको उनको भनाई थियो ।