डोटी र बझाङका प्रभावितलाई राहत वितरण
2021/12/01, 3:01
 
dd

गत कात्तिक पहिलो साता आएको बाढीले नोक्सान गरेका डोटी र बझाङका बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । विभिन्न सहयोगी निकायले बाढी प्रभावितलाई राहत वितरण गरेका हुन ।डोटीको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ ।

वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौँ प्रयास नामक संस्था साइन नेपाल धनगढीले केयर एन्ड रिलिफ परियोजनाको आपत्कालीन राहत कार्यक्रमअन्तर्गत उक्त राहत वितरण गरेको हो ।उक्त संस्थाले पीडित परिवारलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका स्वयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

यसैगरी उक्त बाढीपहिरामा परी ज्यान गुमाएका यहाँका छजनाको परिवारलाई राहतसँगै नगद रु पाँच हजार पनि प्रदान गरिएको छ ।संस्थाले जिल्लाकै आदर्श गाउँपालिका–५ का १२४ घरपरिवारलाई पनि राहत वितरण गरेको छ । बाढीपहिरामा परी खेतीयोग्य जमिन र घरबारविहीन भएका यहाँका नागरिकलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका सोयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।

बाढीपहिरा पीडितले स्थानीय सरकारसँग राहत तथा व्यवस्थापनका लागि पटकपटक माग गरे पनि तत्काल दिन सकिने अवस्था नभएपछि साइन नेपालले राहत सहयोग गरेको वडाध्यक्ष टीका सिंहले बताए । जिल्लामा विपद्, महामारीलगायतका घटना हुँदा उक्त संस्थाले विभिन्न कार्यक्रम ल्याएर यहाँका नागरिकलाई राहत प्रदान गर्ने गरेको आदर्श गाउँपालिकाका स्थानीय हरि खड्काले बताए ।

यसैगरी, खप्तडछान्ना गाउँपालिकामा रहेका ३६  बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गैरसरकारी संस्था प्रगतिशील युवासमाज र युएमएन बझाङका साझेदारीमा राहत वितरण गरिएको हो । संस्थाका अनुसार गत कात्तिक महिनाको पहिलो साता आएको अविरल वर्षाका कारण खप्तडछान्ना–१ देखि ७ सम्मका केही  घर तथा खेतबारीमा  क्षति पु¥याएको थियो ।

परिवारलाई संस्थाले प्रतिपरिवार एकबोरा  चामल एक बोरा, १० केजी दाल, दुई केजी चिनी, दुई  नुहाउने साबुन, दुई लुगा धुने साबुन, एक लिटर तेल, एक पे्रसरकुकर, एक कराई, पाँच थाल, पाँचवटा कचौरा, पाँच गिलास, एक डाडु पन्यु, न्यानो लुगा र त्रिपाल गरी प्रतिपरिवार ६ लाख ४७ हजार रकम बराबरको सामग्री राहतस्वरुप वितरण गरेको थियो ।

बाढी प्रभावितलाई थोरै भए पनि राहत मिलोस् भनेर संस्थाले खाद्यान्न तथा भाँडाकुडा खरिद गरेर वितरण गरिएको प्रगतिशील युवा समाज र साझेदारीमा सञ्चालित परियोजना संयोजक विष्नाकुमारी बमले जानकारी दिइन् ।

उनले भनिन्–‘हामीले खासै ठूलो सहयोग गरेका त होइनौँ । तर पनि बाढी र पहिराले बनाएको घाउमा थोरै भए पनि मल्हम लाग्छ कि भन्ने हो ।’ संस्थाले यसअघि कोरोना महामारीमा रोजगारी नभएका तथा एकल महिला, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरुलाई समेत विभिन्न राहत सामग्री वितरण गरेको थियो ।