सुदूरपश्चिम प्रदेशमा साढे ३ हजार बढी एचआइभी संक्रमित
2021/12/01, 3:07
 
aa

आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। ‘असमानता हटाऔँ एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४ औँ विश्व एड्स दिवस मनाउन लागिएको हो ।

नेपालमा ३० लाख बढी एचआइभी सङ्क्रमित रहेका छन्। जसमध्ये सुदूरपश्चिम प्रदेशमा  साढे ३ हजार बढी एचआइभी सङ्क्रमित बिरामीहरू उपचाररत छन् । सुदूरपश्चिम प्रदेश भर १७ वटा एआईटी साइटहरूबाट गत आर्थिक वर्षमा ३ हजार ४ सय ७३ जनाले उपचार गराएका थिए ।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ३ हजार ५ सय ४४ जना एचआइभी एड्स सङ्क्रमित विरामीकोे नियमित उपचार भइरहेको स्वास्थ्य निर्देशनालय दीपायलका एचआइभी एड्स फोकल पर्सन मनोज ओझाले जानकारी दिए ।

केन्द्रले सार्वजनिक गरेको पछिल्लो अध्ययनको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमण दर घटेको पाइएको हो । १० वर्षको अन्तरमा संक्रमणदर ६३ प्रतिशतले घटेको पाइएको छ  । सङ्क्रमित सङ्ख्याको आधारमा सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये कैलालीमा सबैभन्दा बढी  १ हजार ६ सय ९ जना, अछाममा ६ सय ८५ जना, डोटीमा ४ सय ८९ जना, कञ्चनपुरमा ३ सय ६२ जना, बैतडीमा १ सय ८ जना, बाजुरामा ५९ जना, दार्चुलामा ४०, डडेल्धुरामा १ सय १० र कञ्चनपुरमा ३ सय ६२ जनाले औषधी सेवन गरिरहेको ओझाले बताए ।   

यसको औषधि जीवनभर खानुपर्ने हुँदा चेक गर्दै जाँदा यसको सङ्ख्या बढ्दै जाने गरेको छ । भने उपचारको प्रक्रिया भन्दा बाहिर गए वा कोही कसैको ज्यान गएमा मात्रै सो सङ्ख्या घट्ने धेरैको बुझाई छ । एच.आई.भी सङ्क्रमणबाट बच्न सुरक्षित यौन सम्पर्क गर्ने, कण्डमको प्रयोग गर्ने तथा एचआइभी सर्ने तरिकाबाट जोगिन सके यो रोग सङ्क्रमण बाट मात्रै जोगिन सकिने स्वास्थ्य निर्देशनालय दीपायलका एचआइभी एड्स फोकल पर्सन ओझाको भनाई छ ।

अहिले एचआइभी सङ्क्रमितको लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्घीय सरकारबाट तोकिएका कार्यक्रम, तालिम, लाञ्छना भेदभावबाट हटाउन तालिम, काउन्सिलिङको व्यवस्था र प्रदेश सरकारको तर्फबाट पोषण भत्ता स्वरूप केही रकम वितरण गर्ने गरेको छ । 

यता स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने जिल्लामा पछिल्लो वर्ष तुलनात्मक रूपमा एचआइभी सङ्क्रमित बिरामीको सङ्ख्या घट्दो क्रममा रहेको बताए ।  कुनै घरमा एचआइभी, एड्स सङ्क्रमण देखिएमा घरका सबै सदस्यलाई परीक्षण गराई अरूलाई सङ्क्रमण हुन बाट जोगाउन र औषधि सेवन गरिरहेका हरुले पनि नियमित स्वास्थ्य जाँच गर्न जनस्वास्थ्य अधिकृत धामीले आग्रह गरेका छन् ।

नेपालमा अहिले एचआइभी सङ्क्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आएको छ। सरकारले सन् २०३० सम्म नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ।