लयमा फर्कदै पर्यटन व्यवसाय
2021/12/04, 10:51
 
dd

कोरोना महामारीका कारण करिब दुई वर्षसम्म शिथिल पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । कोरोना सङ्क्रमण दर घटेसंगै पर्यटन व्यवसाय लयमा फर्कन थालेको हो । पछिल्लो समय पर्यटकीय स्थलमा घुमघाम गर्नेहरुको चहलपहल बढ्न थालेको छ । यति बेला कैलाली, कञ्चनपुरमा रहेका मुख्य पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् ।

२०७६ चैतबाट कोरोना महामारी सुरु भएपछि पर्यटन क्षेत्र शिथिल बनेको थियो । न विदेशी पर्यटक घुम्न आउन पाएका थिए, न त आन्तरिक पर्यटक घुम्न जाने वातावरण थियो । कोरोनाका कारण झन्डै दुई वर्षसम्म प्रभावित पर्यटन क्षेत्र विस्तार अब भने विस्तारै लयमा फर्किरहेको छ । 

हिउँद सुरु भएसंगै कैलालीको चिसापानीस्थित कर्णाली पुल, टीकापुर नगरपालिकास्थित टीकापुर पार्क, घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल, कैलारी गाउँपालिकास्थित कोइलही ताल, धनगढीको जाखोर ताल लगायतका क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

कोरोना महामारीको क्रममा गरिएका बन्दाबन्दीका कारण घरभित्रै थुनिन बाध्य भएका मान्छेहरु अहिले घुम्न रुचाइ रहेको टीकापुर नगरपालिकाकी रीतु चौधरीले बताइन् । ‘मलाई पनि घुम्न मन पर्छ र साथीहरुसंग कर्णाली पुल घुम्न आएँ’, गत शनिबार चिसापानी घुम्न पुगेकी उनले भनिन् । ‘अहिले कर्णाली पुलमा घुम्न आउनेको सङ्ख्या धेरै बढेको छ ।’ 

त्यसो त, पर्यटकीय क्षेत्रमा यो बेला पिकनिक खान जानेको पनि कमी छैन । तिहारमा देउसी भैलो खेलेर आर्थिक सङ्कलन गरेका क्लबका युवायुवती, विद्यार्थी, महिला समूह, साँस्कृतिक समूहका व्यक्ति पिकनिक खानका लागि पर्यटकीय क्षेत्रमा पुगिरहेका छन् । धेरै जसो पिकनिक खाने समूहका व्यक्ति पनि घुमघामका लागि पर्यटकीय क्षेत्रहरुमा पुग्न थालेपछि भीडभाड बढ्न थालेको लम्कीचुहा नगरपालिका–३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने बताउँछन् ।

‘हाम्रो यहाँ रहेको चिसापानीमा शनिबार अझै भीडभाड हुने गर्दछ’, उनले भनिन् । ‘कोरोनाका कारण यसअघि, मान्छेको चहलपहल थिएन । अहिले त धेरै बढेको छ ।’ चिसापानीमा मान्छेको भीडभाड बढे पनि व्यवसाय भने अझै कमै रहेको अध्यक्ष चलाउनेले बताए । ‘टीकापुर, लम्कीमा पछिल्लो समय भएको केही आपराधिक घटनाका कारण यो क्षेत्रको बारेमा धेरै नकारात्मक अफवाह फैलिएको छ’, उनले भने । ‘त्यसैले घुम्न आएका मान्छेहरु होटल, रेस्टुँरामा त्यति जाँदैनन् । मान्छेको भीड बढेको छ । तर, व्यवसाय छैन ।’ 

यति बेला घुम्न र पिकनिक खानका लागि टीकापुर पार्क, कोइलही ताल, जाखोर ताल पुग्नेको पनि कमी छैन । चाडपर्व सकिएदेखि नै यी क्षेत्रहरु आन्तरिक पर्यटकले भरिभराउ छन् ।यसैगरी, कञ्चनपुरमा रहेको सुदूरपश्चिमकै प्रमुख पर्यटन गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटक पुग्न थालेका छन् । बाह«सिङ्गा अवलोकनका लागि प्रख्यात यो निकुञ्जमा विदेशी पर्यटक पनि फाटफुट रुपमा पुग्न थालेका हुन। 

गत हप्तामात्रै अस्ट्रियाका पर्यटक आएर शुक्लाफाँटाको अवलोकन गरेको जनाइएको छ । त्यस्तै, केही भारतीयसहित आन्तरिक पर्यटक पनि शुक्लाफाँटामा घुमघाम गर्न थालेका छन् । कोरोना महामारीका बेला बन्द गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि खुल्ला गरिएपछि फाटफुट रुपमा पर्यटक आउन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर महताले बताए ।

‘यहाँको पर्यटन विस्तारै लय समात्दै छ’, उनले भने । ‘तर, नयाँ भेरियन्ट ओमिक्रोनको कारण फेरि प्रभावित हुने हो कि भन्ने चिन्ता छ ।’ पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ देखिनेक्रम पनि बढेको छ ।त्यहाँ जाने पर्यटकले बाघ हेर्न पाइरहेका छन् । यो निकुञ्जमा बाघसङ्ख्या वृद्धि भएर १९ पुगेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आवागमन हुन थालेपछि त्यहाँ कार्यरत नेचर गाइडले पनि अहिले काम पाएका छन् । पछिल्लो समय खाली बस्नु नपरेको नेचर गाइड कुम ठाकुरले बताए । ‘अलिअलि काम पाइरहेका छौं’, उनले भने । ‘अहिले लोकल टुरिस्ट आउनेक्रम अलि बढेको छ ।’शुक्लाफाँटामा चरा, बाह«ासिङ्गा, गैडा, बाघ हेर्न पाइन्छ । ठूलो घाँसे मैदानमा बाह«ासिङ्गाको झुण्डले जो कोहीको पनि ध्यान तान्ने गरेको छ । 

यसैगरी, सोही जिल्लाको वेदकोट नगरपालिकास्थित लिङ्गामा पनि घुमघाम गर्ने बढेका छन् । कैलाली, कञ्चनपुरका विभिन्न ठाउँका मान्छेहरु लिङ्गा पुग्ने गरेका छन् ।