भारतबाट फर्किएका एक संक्रमितको मृत्यु
2022/01/16, 8:30
 
dd

कोरोना संक्रमणबाट मृत्युदर घटेका बेला सुदूरपश्चिममा शनिबार एकजना संक्रमितको मृत्यु भयो । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ गाज्राका ५२ वर्षीय संक्रमितको आफ्नै घरमा मृत्यु भएको हो ।  भारतमा मजदुरी गर्ने उनी पुस २७ गते कञ्चनपुरको गड्डाचौकी सीमा नाका भएर फर्किएका थिए । सीमामा ऐन्टिजेन परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो, तर उनी क्वारेन्टाइन वा आइसोलेसनमा नबसी पुस २८ गते सिधै घर पुगेका थिए ।

‘घर पुगेको चौंथो दिनमा उनको मृत्यु भएको खबर आयो,’ खप्तड छेडेदह स्वास्थ्य चौकी बाजुराका इन्चार्ज नन्दबहादुर रावतले भने ‘स्वास्थ्य मापदण्ड पूरा गरेर आइतबार मृतकको अन्तिम संस्कार गरिएको छ । इन्चार्ज रावतले मृतकसँगै गाउँ फर्किएका गाज्राका अन्य एकजना र पीपल गाउँका तीनजनामा संक्रमण पुष्टि भएको बुझिएको बताए ।

गाउँमा स्वास्थ्य परीक्षण, औषधि उपचार र कोरोना परीक्षणको सुविधा नरहेको स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए । ‘औषधि पनि खासै केही छैन,’ उनले भने ‘स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्ने तयारी भए पनि प्राविधिक नभएकाले ढिलाइ भएको छ ।’ संक्रमितको मृत्युसँगै गाउँमा संक्रमण व्यापक रुपमा फैलिएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आइतबारसम्म बाजुरमा १८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैबीच सुदूरपश्चिमभर आइतबार १८४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार ७ जनाको पीसीआरमार्फत र १ सय ७७ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरूमा भारतबाट त्रिनगर–गौरीफन्टा नाका हुँदै आएका ७२ जना, कञ्चनपुरको गड्डाचौकी सीमा नाका भएर आएका ९२ जना, बैतडीको झुला हुँदैआएका ७ जना र दार्चुलाको जोलजिवी सीमा नाका हुँदैआएका एक जनामा संक्रमण पुष्टि भएको हो ।