स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैला व्यवस्थापनमा चरम लापरवाही 
2020/06/19, 11:01
 
korona

स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैलाले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले त्यसको वैज्ञानिक तवरले व्यवस्थापन गर्नुपर्छ । तर, धनगढीका निजी अस्पताल तथा क्लिनिकले भने हानिकारक फोहोरमैला व्यवस्थापनमा मनपरी गरेको भेटिएको हो । धनगढी उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापनका ट्याक्टरमा विभिन्न अस्पतालबाट फोहोर फालिदा त्यसले संक्रमणको खतरा वढाएको छ ।  

b

अस्पतालजन्य फोहोर मानव स्वास्थ्य र पर्यावरणीय दृष्टिले अति हानिकारक र जोखिमयुक्त हुने भएकाले यसको निष्कासन, ढुवानी र बिसर्जन गर्दा विशेष सावधानी अपनाउनुपर्ने कानुनी व्यवस्था छ । संक्रामक र जोखिमयुक्त फोहोरलाई उच्च सतर्कताका साथ तोकिएको मापदण्ड अनुसार नष्ट गर्नुपर्ने हुन्छ । यस्ता फोहोरलाई अन्य फोहोरसँग मिसाएर फाल्ने, जनस्वास्थ्य र वातावरणमा असर पुग्ने किसिमका फोहोरमैलालाई खुला स्थानमा फाल्नु फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार दण्डनीय कार्य हो ।

k

अस्पताल तथा स्वास्थ्य संस्थाहरूले लापरवाहीपूर्ण तरिकाले फोहोर फाल्ने गर्दा मानव स्वास्थ्य संकटमा परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा उत्पादन हुने अस्पतालजन्य फोहोरमध्ये ८५ प्रतिशत सामान्य फोहोर, ५ प्रतिशत संक्रामक फोहोर र १० प्रतिशत असंक्रामक तर जोखिमयुक्त फोहोर रहने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । संगठनको अध्ययनले ‘सिरिन्ज’ लगायत चिकित्साजन्य फोहोरबाट संक्रमण फैलिन सक्ने बताएको छ । यस्ता फोहोरको समुचित व्यवस्थापनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न कानुनी व्यवस्था र मापदण्डहरूको तर्जुमा गरिएको भए तापनि तिनको सही पालना हुन नसक्दा अस्पतालजन्य फोहोर व्यवस्थापनको चुनौती दिन प्रतिदिन बढ्दै गएको हो ।

फोहोर व्यवस्थापनका सम्बन्धमा सरकारले ऐन नै बनाएको छ । तर, कार्यान्वयन हुन नसक्दा मानव स्वास्थ्यमा खतरा बढ्दै गएको छ । अस्पतालले प्रयोग गरेका रसायनयुक्त फोहोर सामान्य फोहोर जस्तै गरी जथाभावी फाल्दा विभिन्न किसिमका संक्रमण र रोग फैलिने गरेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीको भनाई छ । अस्पतालजन्य फोहोरको सही व्यवस्थापन गर्न नसकिएमा यसले अझ महामारीको रुप लिन सक्ने डाक्टर अवस्थीले चेतावनी दिए । 

k

अस्पतालहरूले फोहोर वर्गीकरण नगरी, सुइ, प्लास्टिक, रगत, रसायनयुक्त वस्तु, औषधिजन्य वस्तु, ब्लेड, मर्करीलाई अन्य फोहोरसँग मिसाएको र उचित व्यवस्थापन नगरेको नगरवासीहरुको गुनासो छ । अस्पतालमा प्रयोग हुने मर्करी, सुइ, रसायनयुक्त वस्तु, प्लास्टिक, रबर र रगत तथा पिपसहितका रुवा, कपडाको उचित व्यवस्थापन नहुँदा वातावरण र जनस्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोर उत्पादन गर्ने व्यक्ति वा निकायले नै उक्त फोहोर व्यवस्थान गर्नु पर्ने उल्लेख गरेको छ । वातावरण संरक्षण ऐन र नियमावलीले समेत फोहोर व्यवस्थापनमा कडाइ गरेको छ । फोहोर छुट्याउने, मात्रा घटाउने, मर्करीको साटो डिजिटल उपकरणको प्रयोग बढाउनु पर्ने र स्वास्थ्यकर्मीलाई फोहोर व्यवस्थापनमा सचेत गराउन अस्पतालहरूलाई सुझाव दिईएको छ । तर अस्पताल र क्लिनिकहरुले त्यसको पालना गरेका छैनन् ।