‘हेलि टुर’पछि खप्तडमा पर्यटकको चहलपहल बढ्यो
2022/02/20, 10:17
 
11

 कोरोनाका कारणले झण्डै लामो समय पछि पर्यटकको चहलपहल शून्य रहेको खप्तडमा अहिले पर्यटकको चहलपहल निकै बढेको पाइएको छ । गत फागुन १ गतेदेखि सुरु भएको 'हेलि टुर'कै कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको खप्तडमा पर्यटकको चहलपहल बढेको हो ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवर्द्धनका लागि फागुन १ गतेबाट 'हेलि टुर' आयोजना भइरहेको छ । आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै कोरोनाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो 'हेलि टुर'को आयोजना गरिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जनाएको छ ।

May be an image of 3 people and nature

बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम  प्रदेश, माउण्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासङ्घ, सुदूरपश्चिम तथा होटेल व्यवसायी महासङ्घ सुदूरपश्चिमको सहकार्यमा टुर आयोजना भइरहेको हो ।

May be an image of 5 people, snow, tree and nature

केही दिन अघि मात्रै खप्तड बडिमालिका हेलिटुरमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले खप्तडको भ्रमण गरेका छन्। प्रदेशका अर्थमन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार मन्त्री दीर्घ सोराडीले भ्रमण गरेका थिए।

१० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ ।

पहिलो चरणमा विभिन्न प्याकेजसहित खप्तड दिपायल, झिग्राना खप्तड, धनगढी र महेन्द्रनगर देखि झिग्राना, दिपायल बडिमालिका, दिपायल खप्तड बडिमालिका र  साँफेबगर बडिमालिका लगायत स्थानबाट अवलोकन गर्न जाने व्यवस्था मिलाइएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए ।

May be an image of 2 people, people standing and outdoors

स्थानको हिसाबले १२ हजारदेखि ४० हजारसम्मका प्याकेजहरू उपलब्ध गराइएको छ । खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलको रूपमा रहेको छ। यहाँ वर्षमा ६ महिना हिउँले ढाक्ने गर्दछ। अहिले हिउँका कारण खप्तडको दृश्य मनमोहक रहेको छ । खप्तडमा रहेका २२ पाटन हिउँले ढपक्क ढाकेर अप्सरा झैँ देखिएका छन्।

 खप्तडमा अझै हिउँ करिब चार पाँच फिट जति रहेको छ। बडिमालिकामा समेत हेली टुर सञ्चालन गर्ने भनिए पनि बाक्लो हिउँका कारण हेलिकप्टर बस्न नसकेर पर्यटकहरू आकाशबाटै बडिमालिकाको दृश्यावलोकन गरेर फर्किरहेका छन्।

May be an image of 2 people, people standing, snow and mountain

May be an image of 3 people and nature