प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएन प्राविधिक जनशक्ति
2022/04/05, 11:13
 
aa

देशका कार्यकारी प्रमुखका नाममा धेरै नेपालीको जीवन निर्वाहको माध्यम बनेको कृषि परियोजना सञ्चालनमा आएको पाँच वर्ष पूरा भए पनि आवश्यक प्राविधिक जनशक्ति र बजेट पाउन सकेको छैन ।

पन्ध्रौँ योजनामा रुपान्तरणकारी योजनाका रूपमा पहिचान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुरुआती अवस्थादेखि नै आवश्यक जनशक्ति पाउन नसकेको परियोजनाका अधिकारीहरूको गुनासो छ । परियोजना व्यवस्थापन एकाइ कैलालीले पनि स्वीकृत दरबन्दीअनुसारको जनशक्ति पाएको छैन । एकाइमा स्वीकृत १३ जनाको दरबन्दीमध्ये पाँच जना प्राविधिक कर्मचारी नै नहुँदा कार्यान्वयनमा समस्या रहेको परियोजनाको कैलाली एकाइ प्रमुख कलशराम चौधरीले बताए ।

एकाइमा प्राविधिक जनशक्तिमात्र नभई सवारीका पनि अभाव छ । जिल्लाभर कार्यक्रम सञ्चालनमा रहेकामा भएका गाडीसमेत बिग्रँदा अनुगमन गर्न समस्या भएको छ । वरिष्ठ कृषि अधिकृतका रूपमा कार्यरत चौधरीपछिको दरबन्दी कृषि अधिकृत पदमा सुरुआती चरणदेखि नै कर्मचारी हाजिर हुन आएका छैनन् । सरकारसँग पटकपटक आवश्यक जनशक्ति माग गर्दा पनि पाउन नसकेपछि कार्यक्रम सोचेजति प्रभावकारी हुन नसकेको परियोजनाले जनाएको छ । परियोजना कार्यान्वयनमा मुख्य भूमिका खेल्ने प्राविधिक अधिकृतकै दरबन्दी पूर्ति नहुँदा प्रभावकारीरूपमा कार्यान्वयनमा समस्या आएको हो ।

कैलालीमा परियोजनाको सुरुआती वर्ष आर्थिक वर्ष २०७३ र ७४ देखि गहुँ सुपरजोनका रूपमा कार्यक्रम सुरु गरिएको थियो । आव २०७४र७५ देखि तेलहन जोन र आव २०७८र७९ अर्थात चालु आवदेखि धानजोनका रूपमा खेती सुरु भएको छ । जिल्लामा गहुँ सुपरजोनअन्तर्गत दुई हजार ३०० हेक्टर जमिनमा खेती गरिएको छ । गहुँको सुपरजोनका रूपमा कैलारी गाउँपालिकाको वडा नं १ देखि ९ सम्म, गौरीगङ्गा नगरपालिकाको वडा नं ५, ७, ८, ९, १० र ११, घोडाघोडी नगरपालिकाको वडा नं १ देखि ९ सम्म र बर्दगोरिया गाउँपालिकाको वडा नं १, २, ४, ५ र ६ लाई गहुँ सुपरजोजनका रूपमा विकास गरिएको जिल्ला परियोजना व्यवस्थापन एकाइले जनाएको छ ।

जिल्लाको एक हजार ५०० हेक्टर जमिनलाई तेलहन जोनका रूपमा स्थापित गरिएको छ । जानकी गाउँपालिकाको वडा नं १, २, ४ र ७, जोशीपुर गाउँपालिकाको वडा नं १ देखि ७ सम्म, भजनी नगरपालिकाको वडा नं २, ३, ६ र ८, घोडाघोडी नगरपालिकाको वडा नं १ देखि ९ सम्म र बर्दगोरिया गाउँपालिकको वडा नं १, २, ४, ५ र ६ मा तेलहन जोनका लागि आवश्यक खेती गरिएको छ ।

यसैगरी धानजोनका रूपमा जोशीपुर नगरपालिका वडा नं १, २, ३, ४ र ५, भजनी गाउँपालिकाको ३, ६ र ८ एवं जानकी गाउँपालिकाको वडा नं ४ मा खेती गरिएको छ । जिल्लामा गहुँ सुपरजोनमा ४०७, तेलहन जोनमा १२७ र धानजोनमा १०२ गरी ६३६ कृषक समूह सक्रिय छन् । यसैगरी गहुँ सुपरजोनमा २२, तेलहन जोनमा १४ र धानजोनमा नौ गरी ४५ वटा कृषि सहकारीले काम गरिरहेका छन् । गहुँ सुपरजोनमा २०, तेलहन जोनमा नौ र धानजोनमा तीन गरी ३२ वटा कृषि फार्मले काम गरिरहेका छन् । जिल्लामा समूह, कृषि सहकारी र फार्म गरी ७१३ वटा समूहले कृषिमा काम गरिरहेका छन् । तेलहन जोनमा सूचीकृत भएकाहरू धानजोनमा पनि सक्रिय रहेको परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।

कैलालीमा गहुँ, धान, तेलहन, आलु, तरकारी र सुन्तला जातका फलफूल प्राथमिकताका बाली वस्तुका रूपमा सूचीकृत भएका छन् । कृषि गर्नेको सङ्ख्या बढ्न थाले पनि प्राविधिक जनशक्तिको अभावका कारण उपलब्धि कम रहेको प्रमुख चौधरीको स्वीकारोक्ति छ ।