बझाङमा गठबन्धन बने एमालेलाई विरासत जोगाउन धौ-धौ
2022/04/19, 4:29
 
dd

बझाङमा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो दल बन्यो । उसले जिल्लाको १२ मध्ये आठवटा स्थानीय तहमा जित हात पार्‍यो । त्यति बेला एमालेले गठबन्धनबिना चुनाव लडेको थियो । यसपाली पनि ऊ एक्लै चुनावमा प्रतिस्पर्धा गर्दैछ । तर, अघिल्लो निर्वाचनताका जस्तो यसपाली एमालेलाई जित निकाल्न सहज छैन । पार्टी विभाजन र विपक्षी गठबन्धनको असर पर्ने देखिएकाले जिल्लामा एमालेलाई विरासत जोगाउन समस्या परेको हो ।

जिल्लामा एमालेले जितेको आठमध्ये दुई स्थानीय तहका प्रमुखले एकीकृत समाजवादी रोजेका छन् । अहिले बझाङमा बित्थडचिर, थलारा, दुर्गाथली, तलकोट, मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा एमालेको सरकार छ । छबिसपाथिभेरा र केदारस्यूँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा केही वडा अध्यक्षहरूले भने माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी रोजेका छन् । बुंगल नगरपालिका, खप्तडछान्ना, सुर्मा र साइपाल गाउँपालिकामा भने नेपाली कांग्रेसको नेतृत्व छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले भने जिल्लाको कुनै पनि स्थानीय तह जित्न सकेन ।  

आसन्न निर्वाचनमा भने माओवादीले स्थानीय तहमा जितको खाता खोल्ने दाबी गरिरहेको छ । २०७४ मा केही वडामा मात्र सफलता प्राप्त गरेको माओवादीले गठबन्धनको साथपछि स्थानीय तहको नेतृत्व गर्न पाउने दाबी गरेको हो । तर, माओवादी, कांग्रेस र एकीकृत समाजवादीमा आवद्ध गठबन्धनभित्र सहमति जुट्न सकेको छैन । नियमित छलफलमा भए पनि आ–आफ्नो अडान कायमै राखेपछि गठबन्धनभित्र सहमति जुट्न ढिलाइ भएको हो ।  

पहिलो स्थानीय निर्वाचनको मतपरिणाम हेर्ने हो भने आसन्न चुनावमा तीन दलीय गठबन्धनलाई फाइदा हुने देखिन्छ । त्यतिबेला पनि केही स्थानीय तहमा कांग्रेस र माओवादी उम्मेदवार एमालेका उम्मेदवारसँग थोरै मतले हारेका थिए । 

यसपटक एमालेबाट माधवकुमार नेपाल पक्ष बाहिरिएकाले पनि चुनावमा गठबन्धनलाई फाइदा हुने आँकलन गरिएको छ । तर, एमाले पनि गठबन्धनसँग भिडे पनि आफू जिल्लामा ६ स्थानीय तह जित्ने दाबी गर्छ । ‘हामी अहिले पनि कमजोर छैनौं । गठबन्धनसँग नै भिड्ने भए पनि हामी जिल्लामा ६ स्थानीय तह जित्छौँ,’ एमाले जिल्ला कमिटी अध्यक्ष दमन भण्डारीले भने, ‘बरु यसपाली साइपाल गाउँपालिका अध्यक्षमा पनि हाम्रो उम्मेदवार विजयी हुने सम्भावना बढी छ ।’
  
कस्तो थियो ०७४ को निर्वाचनमा मतपरिणाम 

अघिल्लो निर्वाचनमा जयपृथ्वी नगरपालिकामा एमालेका वीरेन्द्रबहादुर खड्काले ३ हजार ४० मत प्राप्त गर्दै जित हात पारे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका चेतराज बजालले २ हजार ९६० मत ल्याए । जयपृथ्वीमा माओवादी केन्द्रका नरेन्द्र खड्काले १ हजार ३१७ मत पाएका थिए । त्यस्तै, जिल्लाको अर्को नगरपालिका बुंगलमा कांग्रेसका धनबहादुर विष्टले ५ हजार २५९ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिस्पर्धी एमालेका धनबहादुर बोहराले ४ हजार ५२३ मत ल्याए । यहाँ माओवादी केन्द्रका हरि कुँवरले २ हजार २६१ मत पाएका थिए ।  

खप्तडछान्ना गाउँपालिकामा कांग्रेसका वर्कबहादुर रोकायाले २ हजार २७९ मत प्राप्त गरी जित हासिल गर्दा एमालेका मिश्रबहादुर रोकायाले २ हजार ९६ मत पाए । माओवादी केन्द्रका टोपबहादुर खड्काले १ हजार ४५७ मत प्राप्त गरेका थिए ।  त्यस्तै, थलारा गाउँपालिकामा एमालेका भुवनेश्वर उपाध्यायले २ हजार ७७८ मत पाउँदा कांग्रेस रामबहादुर खातीले २ हजार ८१ मत पाए । माओवादीका उम्मेदवार शेरबहादुर साउँदले १ हजार १५२ मत पाएका थिए ।

छबिसपाथिभेरा गाउँपालिकामा एमालेका अक्कलबहादुर धामी २ हजार २८९ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका लोकेन्द्र सिंह धामीले १ हजार ४३३ मत पाएका थिए । छबिसपाथिभेरामा कांग्रेसका झलकबहादुर कठायतले १ हजार ३ सय ७३ मत पाए । त्यस्तै, केदारस्यूँ गाउँपालिकामा एमालेका इन्द्रबहादुर भण्डारीले २ हजार ८१५ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेशबहादुर भण्डारीले २ हजार ३६२ मत पाए । नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर बोहराले १ हजार ५६७ मत पाएका थिए ।  

बित्थडचिर गाउँपालिकामा एमालेका प्रेमबहादुर बोहराले २ हजार ७११ मत पाएका थिए । उक्त पालिकामा कांग्रेसका धनबहादुर खड्काले २ हजार २५२ मत पाए । माओवादी केन्द्रका उम्मेदवार रमेशबहादुर अधिकारीले १ हजार २८ मत पाएका थिए । त्यस्तै, मष्टा गाउँपालिकामा एमालेका कर्णबहादुर कठायतले २ हजार १४२ मतका साथ जित हासिल गर्दा कांग्रेसका ज्ञानबहादुर बोहराले १ हजार ९६१ मत प्राप्त गरे । माओवादी केन्द्रका शिवराज बोहराले ८ सय २२ मत पाएका थिए । 

०७४ को निर्वाचनमा तलकोट गाउँपालिकामा एमालेका लालबहादुर विष्ट २ हजार ६४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेन्द्रबहादुर सिंहले २ हजार मत पाए । माओवादी केन्द्रका धनबहादुर धमेनाले २७३ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै, दुर्गाथली गाउँपालिकामा एमालेका प्रयागराज जोशीले १ हजार ५ सय ९० मत ल्याएर निर्वाचित भए । उनका टिकट प्रतिद्वन्द्वी कांग्रेस जनकबहादुर दौल्यालले १ हजार ४५३ मत पाए । माओवादी केन्द्रका दिलबहादुर थापाले १ हजार २४७ मत पाएका थिए । 

०७४ मा सुर्मा गाउँपालिकामा कांग्रेसमा नरबहादुर बोहराले १ हजार ७४८ प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरबहादुर बोहराले १ हजार ६८६ मत ल्याए । माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रबहादुर बोहराले ५२ मत प्राप्त गरेका थिए ।  अघिल्लो चुनावमा साइपाल गाउँपालिकामा कांग्रेसका राजेन्द्रबहादुर धामीले ३९४ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानवीर बोहराले ३३६ र माओवादीका उम्मेदवार शेरबहादुर बोहराले २१ मत मात्र प्राप्त गरेका थिए ।  साइपालमा अहिले माओवादीको गाउँ कमिटी नै एमालेमा समाहित भएको छ ।