बैतडीका सबै पालिकामा एमालेले गर्‍याे उम्मेदवारी दर्ता
2022/04/25, 5:24
 
dd

नेकपा एमालेले बैतडीका १० ओटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ। पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतका कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो। डिलाशैनी गाउँपालिकामा आइतबार र अन्य स्थानीय तहमा सोमबार उम्मेदवारी दर्ता गराएको एमालेका उपसचिव लोकेन्द्र भण्डारीले बताए। डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी दर्ता भएको छ। 

दशरथचन्द नगरपालिकाको मेयरमा पुस्करराज जोशी (लख्खाभाई) र उपमेयर सरस्वती नेपालीको उम्मेदवारी दर्ता भएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्। यस्तै जिल्लाको पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी र उपमेयरमा हरु भट्टको उम्मेदवारी दर्ता भएको छ। मेलौली नगरपालिकाको मेयरमा जगदीश नायक र उपमेयरमा चन्द्रकला साउँदको उम्मेदवारी दर्ता भएको छ। यस्तै पुरचौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुवँर र उपमेयरमा जानकी साउदले उम्मेदवारी दर्ता गराएका छन्। 

सिगास गाउँपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन्। शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदले एमालेबाट उम्मेदवारी दर्ता गराएका उपसचिव भण्डारीले बताए। सुर्नया गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि अम्मरबहादुर कुवँरले उम्मेदवारी दर्ता गराएका छन्। सुर्नयामा एमालेले राप्रपासंग तालमेल गरेको छ। उसलाई उपाध्यक्ष पद दिइएको छ।  दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। दुवैले गएको स्थानीय तहको चुनावमा पनि दोगडाकेदारबाट जितेका थिए। पञ्चेश्वर गाउँपालिकामा गोरख बहादुर चन्द र बीना भट्टले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरु पनि गत निर्वाचनामा विजयी भएका थिए।