देउवा दाजु, मलाई घरबाट निकाल्नु भयो, अब जनतामाझ जाँदैछु: कर्ण मल्ल
2022/04/28, 7:49
 
ss

देउवाको अन्यायविरुद्ध नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्ण मल्लले पार्टीबाट प्रताडित नेता-कार्यकर्ताहरु साथ लिएर न्यायका लागि जनतामाझ जान लागेको बताएका छन्। 

पार्टीले कारबाही गरेको दुई दिनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू नेता-कार्यकर्ताहरु साथ लिएर न्यायका लागि जनतामाझ जान लागेको बताएका हुन्।   मल्लले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै आफ्ना कारणले पाएको पीडाप्रति क्षमा पनि मागेका छन्। उनले दोस्रो पटक पार्टीबाट निष्काशित गरेकोप्रति आभारसमेत व्यक्त गरेका छन्। 

‘परम आदरणीय दाजु साष्टांग प्रणाम, मेरा कारण हजुरले पाउनु भएको पीडाका लागि क्षमा दिनुहोला,’ मल्लले भनेका छन्, ‘मलाई दोस्रो पटक राजनीतिक घर र हजुरको मनबाट निकाल्नु भएकोमा स-धन्यवाद आभार व्यक्त गर्दछु। म अब पीडाकैबीचबाट तपाईंबाट प्रताडित साथीहरूसँगै न्यायका लागि देवरुपी जनताबीच जाँदैछु।’

कांग्रेसले डडेल्धुराको सातौँ जिल्ला अधिवेशन एकपक्षीय रुपमा गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत मल्ललाई कांग्रेसले गत मंगलबार साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको थियो। यसअघि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति हुँदा पनि देउवाले उनलाई पार्टीबाट निकालेका थिए। मल्ललाई पहिलो पटक पार्टीबाट निकाल्दा प्रधानमन्त्री देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले थुनामा राखेका थिए।