धनगढी उपमहानगर: फेरियो समिकरण, त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना
2022/04/29, 12:27
 
ss

धनगढी उपमहानगरपालिकाको मेयरका लागि ३ जना स्वतन्त्रसहित १० जना र उपमेयरमा ७ जना प्रतिस्पर्धी छन् । मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपा(एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्माको उम्मेदवारी परेको छ ।

त्यस्तै, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट बविन्द्र ऐर, राष्ट्रिय जनमोर्चा पार्टीबाट अञ्जना श्रेष्ठ तथा स्वतन्त्रबाट गोपाल हमालको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

यस्तै उद्धवराज पन्त र मदनकृष्ण भट्ट (मुकुन्द)ले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ शान्ति अधिकारी, एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गादत्त पन्त, नेपाल परिवार दलबाट विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् । 

पुरानै प्रतिस्पर्धी

संघीयता आएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरमा उम्मेदवारी धेरै परेपनि मेयरमा सत्तारुढ गठबन्धनका नृपबहादुर वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २०७४ सालमा झिनोमतान्तरले स्वतन्त्र उम्मेदवार हमाललाई हराउँदै कांग्रेसका वड मेयरमा विजयी भएका थिए । त्यस बेला कांग्रेसले उपमेयरसहित धनगढीका १९ वडामध्ये १२ वडा जितेको थियो ।

एक कार्यकाल मेयर चलाएका वड पाँच वर्षमा गरेका काम जनतामा लगेर चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो कार्यकाल पनि मेयरमा दोहरिन चाहेका वडलाई स्वतन्त्र उम्मेदवार हमाल चुनौती बन्ने देखिन्छ । अघिल्लो पटकको हारबाट पाठ सिक्दै यसपटक जित निकाल्ने रणनीतिका साथ हमाल चुनाव केन्द्रित कार्यक्रममा व्यस्त छन् ।

फेरिएको समिकरण

यस पटक ०७४ सालको स्थानीय तहको जस्तो राजनीतिक समिकरण भने छैन । राजनीतिक समिकरण बदलिएको छ । धनगढीमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन छ । सत्तागठबन्धनमा भएको सहमति अनुसार नै धनगढीमा कांग्रेसकातर्फबाट मेयर र माओवादी केन्द्रकातर्फबाट उपमेयरका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गठबन्धन भएकाले गठबन्धनतर्फका उम्मेदवारले सहज जित निकाल्नेमा वड आशावादी छन् । ‘मेयर उपमेयर मात्रै होइन हाम्रो वडामा पनि बहुमत आउँछ । वडा तहमा कांग्रेसको वर्चस्व बढी छ । त्यसैले पनि हामीले नै महानगरको मेयरदेखि वडासम्म सबै स्थानीय तह जित्छौं,’ मेयरका उम्मेदवार वडले भने, ‘अघिल्लो पल्ट हामीले १२ वडा जितेका थियौं । ५ वटा माओवादीले र २ वटा मात्रै एमालेले जितेको थियो ।

माओवादीले जितेको सबै, समाजवादी र हाम्रो आफ्नो गरेर यसपटक झन ठूलो मतान्तर हुने पक्का छ ।’ ०७४ को चुनावमा कांग्रेसका उम्मेदवार वडलाई जित निकाल्न हम्मेहम्मे गरेको थियो । मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले कांग्रेसका वडलाई कडा टक्कर दिएका थिए । मेयरमा विजयी कांग्रेसका वडले १४ हजार ३ सय २४ मत ल्याएका थिए भने हमालले ११ हजार ५२७ मत पाएका थिए ।

हमालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत राजनीतिक दलबाट मेयरमा लडेका उम्मेदवारलाई उछिनेर लोकप्रिय मत पाएका थिए । धनगढी उपमहानगरपालिकामा मेयर लडेका माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याउँदा एमालेका उम्मेदवार दुर्गा जोशीले ९ हजार ९ सय ४६ मत ल्याएका थिए ।

यहाँ कांग्रेस, माओवादी र एमाले बाहेक अन्य दलको उपस्थिती भने कमजोर छ । नेकपा एमालेबाट फुटेको बनेको एकीकृत समाजवादी यसपाली पहिलो पटक चुनावमा सहभागी हुदैछ ।

आ–आफ्नै दाबी

यसपटक धनगढीमा सत्तागठबन्धन, स्वतन्त्र उम्मेदवार हमाल र नेकपा एमालेका मेयरका उम्मेदवार रणबहादुर चन्दबीच त्रिपक्षीय प्रतिस्पर्धा हुन पनि एकथरीको विश्लेषण  छ । यी तीनै पक्षले आफू जित्ने दाबी गरिरहेका छन् । 

‘राजनीतिमा स्वतन्त्र उम्मेदवार भएपछि भोट नै पाउँदैन भनेर मत खेर किन फाल्ने, जित्दैन भन्ने मानसिकता थियो । यसपालि धनगढीबासीले प्रतिस्पर्धा कसकसका बीचमा हुन्छ भन्ने बुझेका छन्,’ मेयरका प्रतिस्पर्धी हमालले भने, ‘त्यसबेला पुग्न नसकेको ठाउँमा पनि यसपालि पुगेको छु । सकारात्मक सुझाव पाएकाले जित्ने विश्वास  छ ।’

अघिल्लो पटक बदर मत र उपमहानगरपालिका बनाउनका थपिएका उर्मा, फूलबारी र बेली गाउँपालिकाबाट मत नआएकाले हारेको उनी बताउँछन् ।  उता अघिल्लो चुनावमा धनगढीमा तेस्रो शक्ति रहेको एमाले अहिले पहिलो बन्ने लक्ष्यसहित चुनावमा होमिएकोले यसपटक आफूहरु जित्ने मेयर पदका उम्मेदवार रणबहादुर चन्दको दाबी छ ।

‘गठबन्धन निहीत स्वार्थका लागि बनेका कारणले जनताको काम गर्न सकेको छैन, त्यसैले यसपटक हामीले जित्छौं । गठबन्धनमा असन्तुष्टि छ । एकजुट छैन,’ उनले भने, ‘कांग्रेसले जनतामाझ गरेका बाचा पुरा गरेको छैन । कांग्रेस फेल भइसकेको छ ।’