सुदूरपश्चिममा ४० प्रतिशत मात्रै रोपाइँ
2022/06/29, 3:39
 
ss

जेनतेन रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बिचमै रोकी सकेका थिए, रोपाइँ । त, धेरै जसोले रोपाइँ नै सुरु गर्न सकेका थिएनन् । 

तर, मङ्गलबार विहान मुसलधारे पानी प¥यो । पानी परेपछि किसानलाई राहत भएको छ । सुख्खाका कारण रोपाइँलाई अगाडि बढाउन नसकेका उनीहरु अब खेतीपातीको काममा अग्रसर भएका छन् । ‘पानी परेपछि धमाधम रोपाइँको काम सुरु गरेका छौं’, धनगढी उपमहानगरपालिका–८ का कृषक दानसिंह रानाले भने । 

मङ्गलबारको मनसुनी वर्षाको पानी खेतमा जमेपछि खेतैभरि किसान देखिन थालेका छन् । वर्षाले धेरै साथ दिएको उनीहरुको भनाइ छ । पानी परेपछि रोपाइँ गर्न सजिलोे भएको कैलारी गाउँपालिका–५ पवेराका कृषक सरोज कठरियाको भनाइ छ । ‘यसैगरी पानीले साथ दिएमा अबको केही दिनभित्रै रोपाइँको काम सम्पन्न गर्छौ’, उनले भने ।

उनका अनुसार बोरिङले रोपाइँ गर्दा किसानले ठूलो खर्च झेल्नु पर्छ । ‘डिजल महँगो छ, हामी किसानलाई डिजल किन्न नै समस्या हुने गर्दछ’, उनले थपे । ‘पानी परेपछि अब ठूलो खर्च जोगिन्छ ।’पानी परेसंगै जिल्लाको सबैतिर किसानले रोपाइँ गर्न थालेको कृषि ज्ञान केन्द्र कैलालीले जानकारी दिएको छ । यसवर्ष हालसम्म कैलालीमा ३० प्रतिशत रोपाइँ भएको सो कार्यालयले जनाएको छ ।

पछिल्लो केही दिनयता वर्षा भएपछि रोपाइँ प्रतिशत बढेको केन्द्रले जनाएको छ । किसानलाई मनसुनले पनि साथ दिएका कारण मङ्गलबारसम्म ३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले बताए ।

‘असार १५ अर्थात रोपाइँ दिवससम्म ४०÷४५ प्रतिशत रोपाइँ पूरा हुने अनुमान गरेका छौं’, उनले भने । ‘मनसुनी वर्षाले साथ दिएपछि लगभग सबै किसान रोपाइँमा व्यस्त भएका छन् ।’ गएको शनिबार जिल्लाको मध्य–पूर्वी क्षेत्रमा मुसलधारे वर्षा भएको थियो । मङ्गलबार जिल्लाभरि वर्षा भएपछि किसानलाई रोपाइँ गर्न भ्याइ नभ्याइ भएको छ ।

जिल्लाको मध्य–पूर्वी क्षेत्रका किसानले असार पहिलो साताबाटै रोपाइँको काम थाले पनि आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका धनगढी क्षेत्रका किसान भने बल्ल खेतीपातीको काममा लागेका छन् । रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा उपभोग गर्दै आएका पूर्वी क्षेत्रका किसानले आधाभन्दा बढी रोपाइँ गरिसका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा सबैभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । ती पालिकाहरुका किसानले लगभग ५० प्रतिशत रोपाइँ गरिसकेको कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए । 
 

किसानलाई राहत

सोमबाररातिबाट आएको वर्षाका कारण कञ्चनपुरका धान खेती गरिरहेका किसानलाई राहत भएको छ । लामो समय पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्दै आएका किसान वर्षा हुँदा राहत भएको बताउँछन् ।

वर्षा नहुँदा जमिनको ‘पानीको सतह’ कम हुँदा बोरिङबाट पानी तान्ने पनि समस्या थियो । तर धान खेती गर्ने चटारो रहेका बेला कञ्चनपुरका मलखादको अभाव देखिएको छ । मलखादको अभावसँगै समयमा वर्षा नहुँदा सिँचाइको प्रबन्ध नहुँदा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कञ्चनपुरका १० प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टले मल अभाव रहेका बेला यहाँको खुल्ला सीमानाकाबाट आयात हुने भारतीय मल भने गुणस्तर नभएको बताए । ‘सरोकारवाला निकायमा मलखाद अभाव हुँदा किसान भरतीय बजारबाट मल ल्याएर खेतमा हालिरहेको भए पनि त्यो त्यति गुणस्तरीय छैन’, उनले भने,‘यहाँ धेरै जसोमा सिँचाइ सुविधा रहे पनि कतिपय स्थानमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ ।’ 

किसान भने भारतबाट मल ल्याएर खेती गरिरहेका छन् । यहाँको बेदकोट नगरपालिका–९ का सञ्जय रानाले सीमावर्ती क्षेत्रबाट मल ल्याएर खेतमा हालिरहेको बताए । ‘भारतबाट रु दुई हजारमा ल्याउने मल यहाँको बजारमा रु दुई हजार पाँच सयमा किनबेच हुँदैछ’, उनले भने, ‘गाउँका धेरै किसान मलको अभावले खेती गर्न सकिरहेको अवस्था छैनन् ।’ उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीले मलखाद साइकल र मोटरसाइकलमा एक बोरा मात्रै ल्याउन दिइरहेको बताए । ‘कृषि सामग्रीबाट ल्याएर सहकारी मलखाद गाउँमा वितरण गर्थे’, रानाले भने, ‘कृषि सामग्रीले पनि केही समयअघि आधा बोराको दरले मौज्दान मलखाद किसानलाई वितरण गरेको थियो ।’

त्यसैगरी शुक्लाफाँटा नगरपालिका–६ का सुनिल रानाले मलखादको अभाव जहिल्यै खेती गर्ने समयमा हुने गरेको बताए । ‘खेती सुरु भइसक्दासम्म राज्यले मलाखद भित्र्याउने प्रबन्ध नगरेको सुनिन्छ’, रानाले भने, ‘सीमापारिबाट वैधानिक रुपले नमिल्दा हामी किसान जहिल्यै समस्यामा हुन्छौँ ।’ 

यहाँस्थित कृषि सामग्री कम्पनी लिमिडेटका प्रमुख बलबहादुर शाहले जेठमा यहाँ ६ सय मेट्रिक टन मात्रै ढिएपी मल धान खेतीका लागि आएको बताए । ‘त्यो मल त्यही बेला सकिएयता अहिलेसम्म हामी कहाँ कुनै पनि मल आएको छैन’, शाहले भने, ‘असारको अन्तिमसम्म मलखाद यहाँ आउला कि भन्ने खबर छ ।’

त्यसैगरी साल्ट टे«डिङ कर्पोरेशन कञ्चनपुरका प्रमुख दीपक भट्टले एक हजार चार सय बोरा डिएपी मौज्दान रहेको बताए उनले भैरवाहबाट मलखाद आउनासाथ आफूहरूले सहकारीमार्फत किसानलाई वितरण गरिरहेको बताए । ‘हामीकहाँ मल लैजाने १०२ वटा सहकारी आबद्ध छन्’, उनले भने, ‘मल पर्याप्त नरहे पनि अभाव नै भने भइसकेको छैन ।’ 
 

प्रदेशभरि ४० प्रतिशतमात्रै रोपाइँ
रोपाइँ गर्न पुग्ने गरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशमा धान बालीको खेती गरिने ६० प्रतिशत जग्गामा अझै धान रोपाइँ हुनसकेको छैन ।आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा अझै रोपाइँ हुन नसककेको हो। सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । 

मंगलबारसम्म प्रदेशमा धानखेती गरिने क्षेत्रफलको जग्गामध्ये ४० प्रतिशतमा मात्रै रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । सबैभन्दा बढी धान उत्पादन हुने कैलाली जिल्लामा आजसम्म ३० प्रतिशत जग्गामा मात्र रोपाइँ हुनसकेको छ । यस्तै कञ्चनपुरमा ४५ प्रतिशत जग्गामा रोपाइँ भएको छ । ‘यसपालि कैलाली र कञ्चनपुरमा रोपाइँ गर्न ढिला भैसक्यो’, निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने–‘सिँचाइको भरपर्दो व्यवस्थाका लागि ठूलो सिँचाइ आयोजना ल्याउन जरुरी भइसकेको छ ।’  

मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । तर प्रदेशमा ठूलो मनसुनी वर्षा हुन सकिरहेको छैन ।यस वर्ष मनसुन जेठ २२ गते पूर्वी नेपाल प्रवेश गरेको बताइए पनि सुदूरपश्चिममा मनसुन सक्रिय हुनसकिरहेको छैन । गएको एक महिनायता यो प्रदेशमा अन्य प्रदेशहरूको तुलनामा निकै कम वर्षा भएको अनुमान छ ।  

मनसुनी वर्षा भएपछि रोपाइँ गरौँला भन्ने आसमा बसेका सुदूरपश्चिम प्रदेशका किसानले आज वर्षा भएपछि भने केही राहत महसुस गरेका छन् । भूमिगत र सतह सिँचाइको पानीको सहायतामा रोपाइँ गरिएको खेतको बाली सप्रिन आकाशको पानी आवश्यक पर्ने किसानको अनुभव छ । एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार४०४ हेक्टरमा रोपाइँ हुन्छ । 

अधिकांश जग्गामा आकाशको पानीको भरमा रोपाइँ गर्ने गरिन्छ । प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभपरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ । धान बढी उत्पादन हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा धान आपूर्ति हुन्छ ।यो प्रदेशमा धानखेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा भए पनि बाँकी जग्गामा यसको पर्याप्त सुविधा छैन । रासायनिक मल डिएपीको अभावले समस्या झेलिरहेका किसानलाई वर्षा हुन नसक्दा समयमै रोपाइँ गर्न नसकिने अर्को समस्या थपिएको छ ।

रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने रासायनिक मलको अभाव हुँदा यसपालि सीमापारि भारतीय क्षेत्रबाट लुुकिछिपीरूपमा कम गुणस्तरको रासायनिक मल भित्र्याएर रोपाइँ गर्नुपर्ने वाध्यता किसानको छ । ‘सरकारले कृषिलाई प्राथमिकतामा राखेको भन्ने सुन्दा खुसी लागेको थियो’, कैलालीका कृषक मीनराज बोहराले भने, ‘तर चाहिने मात्रामा डिएपी मल कहिल्यै पाइँदैन, यसपालि इन्द्र भगवान्ले पनि समयमै वर्षा गराएनन् ।’

धानको ब्याड तयार भइसकेको भए पनि आफूहरु वर्षा होला र रोपाइँ गरौँला भनेर पर्खिबसेको उनले बताए । पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ सम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त समय मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोग किराको समस्या देखा पर्न सक्ने कृषि प्राविधिकको भनाइ छ ।