भूमिहीनको पक्षमा काम गर्न नसकेको मुख्यमन्त्रीको स्वीकारोक्ति
2022/09/17, 7:48
 
dd

धनगढी,-  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भूमिसम्वन्धी अधिकार सङ्घीय सरकारसँग भएकाले मुक्त कमैया, कम्लहरी, मुक्त हलिया र भूमिहीनका पक्षमा धेरै काम गर्न नसकेको बताएका छन् । 

शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५ औ साधारण सभा तथा पाँचौ अधिवेशनमा मुख्यमन्त्री भट्टले जग्गा दिन नसके पनि प्रदेश सरकारले पछाडि परेका वर्गलाई स्वरोजगारमूलक तालिम दिएको बताए । मुक्त कमैया, कम्लहरी र मुक्त हलियालाई कस्तो किसिमको तालिमको आवश्यकता छ, सो बारे योजना ल्याउन उनले आग्रह गरे । 

मुख्यमन्त्री भट्टले जग्गा अभावले सोचेतअनुसार भूमिहीनलाई जग्गा वितरण गर्न नसकिएको बताए । त्यसमा संघीय सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ । मुक्त कमैया, कम्लहरी, मुक्त हलियासम्वन्धी ऐन ल्याउन पनि नसकिएको बताउँदै मुख्यमन्त्री भट्टले अध्यादेशबाट भए पनि ऐन ल्याउने प्रतिबद्धता जनाए ।