कैलाली–३ मा त्रिपक्षीय प्रतिस्पर्धा, ‘कमब्याक’को रणनीतिमा ‘कुन्दन’
2022/10/17, 1:14
 
कैलाली–३ मा त्रिपक्षीय प्रतिस्पर्धा, ‘कमब्याक’को रणनीतिमा ‘कुन्दन’

कैलाली-प्रतिनिधिसभा अन्तर्गत कैलालीको क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी ‘कुन्दन’, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् ।

पहिलो संविधानसभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई तीन गुणा बढी मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः संसदीय यात्राको दौडमा छन् । कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर घर भएका ४४ वर्षीय कुन्दन आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्। २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रबाट गौरीशंकर चौधरी निर्वाचित भइ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा श्रम मन्त्री थिए । तत्कालीन नेकपा खारेजीपछि गौरीशंकर एमालेमा प्रवेश गरे । यो क्षेत्र रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीको पनि बलियो पकड रहेको क्षेत्रमा पर्दछ ।

चुनावी अंकगणित

जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका र घोडाघोडी नगरपालिका समेटिएर बनाइएको सो निर्वाचन क्षेत्रमा पहिलो र दोस्रो संविधानसभा निर्वाचन हुँदै २०७४ को निर्वाचनमा माओवादी केन्द्रले विजयी हासिल गर्दै आएको हो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भने कैलारीमा कांग्रेस, भजनीमा नागरिक उन्मुक्ति र घोडाघोडीमा एकीकृत समाजवादीले मेयर जितेको छ ।एक लाख ७ हजार ६५९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका २६ वटा वडाध्ये १९ वडामा वडाध्यक्ष कांगेस, ३ वडाध्यक्ष माओवादी केन्द्र, २ वडाध्यक्ष नेकपा एमाले र २ वडाध्यक्ष नागरिक उन्मुक्तिले जितेको छ । जसका आधारमा यो क्षेत्रमा गठबन्धनका उम्मेदवार कुन्दन नै बलिया देखिन्छन् ।

को हुन् कृष्णकुमार चौधरी ‘कुन्दन’?

कुन्दनको राजनीतिक यात्रा २०४७ देखि सुरु भएको हो । नेकपा एमाले निकट अनेरास्ववियु पाँचौंको साधारण सदस्यका रुपमा उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनले २०५४ मा मात्रै नेकपा एमालेको सदस्यता प्राप्त गरे । २०५६ मा नेकपा एमालेबाट माले विभाजन हुँदा उनले संस्थापन पक्ष नै रोजे । त्यसताका मुलुकमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धले उत्कर्ष रुप लिएको थियो । उनी एमाले छोडी नेकपा माओवादीको सशस्त्र जनयुद्धमा होमिए । २०५८ असोजदेखि भूमिगत भएको उनी सम्झिन्छन् ।

माओवादीको एरिया कमिटी सदस्य हुँदै रिजनल ब्यूरो सदस्य ९आरबीएम०सम्म भए । २०६२ माओवादीको धनगढी नगर इन्चार्जको जिम्मेवारी पाएका उनी २०६२÷ २०६३ जनआन्दोलन नेतृत्वदायी भूमिका निर्वाह गरेको सुनाउँछन् । माओवादी शन्ति प्रक्रियामा गएसँगै उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं। ४ बाट निर्वाचित भए । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणदत्त मिश्रलाई पराजित गरे ।

०७२ असोज ४ गते माओवादीबाट विद्रोह गरी वैकल्पिक शक्ति निर्माण गर्न भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ दल गठन गरेपछि उनी त्यतै सामेल भए । नयाँ शक्तिबाटै २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ३ (ख) प्रदेशसभा सदस्यको लागि चुनाव लडेका उनी ५ हजार ६०० मतका साथ पराजित भए । उनी वामगठबन्धनका उम्मेदवार अमर साउँदसँग पराजित भएका थिए । राजनीतिक जीवनको उतारचढावका बीच नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष भइसकेका उनी २०७८ चैत्र २८ गते नेकपा माओवादीमा ध्रुवीकृत भए । हाल उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । प्रत्येक वडामा सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्थासँगै निर्वाचन क्षेत्रस्थित प्रत्येक पालिकामा बहुमुखी क्याम्पस स्थापना गर्ने योजना रहेको उनले सुनाए ।

सिँचाइको व्यवस्था गर्न कान्द्रा नदी सिँचाइ परियोजना, गुरही सिँचाइ आयोजनालाई अगाडि बढाउने उनी बताउँछन् । त्यस्तै, जैविक, साँस्कृतिक र पर्यटनको विकासको लागि थारु गाउँहरुलाई हेरिटेज भिलेजको रुपमा विकास गर्दै उद्यमीशिलतासँग पनि जोड्ने उनका योजना छन् ।

को हुन् गौरीशंकर ? 

२०४८ सालपछि अनवरत रूपमा संसद भवनभित्र छिर्ने नेता मध्येका एक रामजनम चौधरीको त्यो यात्रामा ब्रेक लगाउने पूर्वमन्त्री हुन् गौरीशंकर चौधरी ‘तारा’ । रणनीतिमा अत्यन्त चतुर मानिने रामजनम २०४८, २०५१ र २०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले शानदार जित हात पारे । ०६४ सालमा भने चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट उनी सभासदमा चुनिए । २०७० सालमा दोस्रो संविधानसभाको चुनावमा फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट उनले चुनाव जिते ।

तर, भूमिसुधार र स्वास्थ्य गरी दुई पटक मन्त्रीसहित २६ वर्ष सत्ता र सरकारको वरिपरि रहने उनको अनवरत विजय यात्रामा २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गौरीशंकरले पूर्णविराम लगाए । पूर्व कृषि र श्रम मन्त्री समेत रहेका गौरीशंकर चौधरीले २४ हजार ८७९ मत ल्याई चार हजार तीन सय ८५ मतान्तरले रामजनमलाई पराजित गरे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले । तत्कालीन नेकपा खारेजीपछि एमाले प्रवेश गरेका पूर्वमाओवादी नेता उनले कैलाली निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि यसपटक एमालेबाट उम्मेदवारी दिएका छन् ।

को हुन् गंगा चौधरी ? 

कैलाली निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका गंगाराम चौधरी भजनी नगरपालिका–२ मोहनपुर निवासी हुन् । ४४ वर्षीय चौधरी राजनीतिमा भने २०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा देखिएका छन् । उसो त २०७४ को निर्वाचन अघि उनी नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउन अहम् भूमिका खेलेका उनी हाल नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।

२०७४ को निर्वाचन अभियान सम्झिदै गंगा चौधरी भने, ‘२०७२ देखि थरुहट आन्दोलनमा सक्रिय भूमिका थियो । २०७४ को निर्वाचनमा रेशम जिताउ अभियान चलायौं । प्रवासमा रहेका रेशम दाइकोे भिडियो बनाइ निर्वाचन क्षेत्रमा प्रोजेक्टरमार्फत प्रचार प्रसार गरियो । यहाँसम्म कि मधेसवादी दलले हाम्रो मुद्दालाई सत्ताको भ¥याङ बनाएपछि छुट्टै पार्टी खोल्नुपर्छ भन्ने भूमिका खेल्ने र रेशम दाइलाई सुझाव दिनेमा म नै हो ।’ स्थानीय तह निर्वाचनमा कैलालीमा नागरिक उन्मुक्ति पार्टीले राम्रो नतिजा ल्याएको छ । ‘हामी न्यायको लागि चुनावमा होमिएका छौ । टीकापुर राजबन्दी रिहाइका लागि हामी निरन्तर संघर्षमा छौं, दोस्रोमा विकास र समृद्धि हाम्रो प्रमुख एजेण्डा हो’, गंगा चौधरी भन्छन्, ‘हामीलाई विश्वास पनि छ, राज्यले न्याय नगरे पनि आमजनताले न्याय गर्नेछन् । हामी जिते लगत्तै टीकापुर घटनासँग सम्बन्धित लाल आयोगसहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने हो । राजबन्दी रिहाइ प्रमुख एजेण्डा हो ।’