बैतडीमा एक बिद्यालयमा चोरी गर्ने दुई जना पक्राउ
2022/10/20, 6:53
 
   बैतडीमा एक बिद्यालयमा चोरी गर्ने दुई जना पक्राउ

बैतडी – बैतडीमा एक बिद्यालयमा चोरी गर्ने दुई जना पक्राउ परेका छन्। बैतडीको दशरथचन्द नगरपालिका –१ स्थित मणिलेक मावि गुरुखोलाबाट ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको बताए।
विद्यालयमा चोरी गरेको आरोपमा दशरथचन्द नगरपालिका वडा नं –४ का २० बर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ बर्षीय खेमराम तिरुवालाई पक्राउ गरि अनुसन्धान शुरु भएको प्रहरी निरीक्षक जोशीले बताए । पक्राउ परेका दुवै जनामाथि मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ अन्तर्गत चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाले दशरथचन्द नगरपालिका लगायतका अन्य विभिन्न स्थानमा समेत ल्यापटप चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।