निर्वाचन आयोगद्वारा प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान रोक
2022/11/02, 1:32
 
निर्वाचन आयोगद्वारा प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान रोक

डडेल्धुरा - निर्वाचन आयोगले सरकारी खर्चमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी अभियान अन्तर्गत डडेल्धुरा जान रोक लगाएको छ । आयोगले प्रधानमन्त्री देउवालाई यात्रा स्थगित गर्न भनेको छ ।प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा गरेको भन्दै यो आचारसंहित विपरित भएकोले अनुमति दिन नसकिने आयोगको भनाइ छ ।

गृह जिल्ला डडेल्धुरा जानका लागि देउवाले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत आयोगसँग अनुमति मागेका थिए । अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएपछि उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगको बैठक बसेको सो बैठकले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न-नगराउन निर्देशन दिने निर्णय गरेको आयोग स्रोतको भनाइ छ । निर्वाचन आयोगका एक कर्मचारीले भने, ‘उहाँ सरकारी खर्चमा जाने तयारीका साथ अनुमतिका लागि चिठ्ठी आएको रहेछ । आयोगले बुझ्दा उहाँ सरकारी कामका लागि नभई प्रचारप्रसारकै लागि जान खोजेकोले अनुमति दिन नसक्ने भन्ने निर्णय बैठकले गरेको हो।

’आयोगले यसअघि प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने भनी आचारसंहितामा व्यवस्था गरेको थियो। चौतर्फी दवावपछि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी आयोगको अनुमतिबाट मात्रै जान पाउने व्यवस्था परिमार्जन गरेको हो । तर, सरकारी सवारी साधनबाटै जान खोजेपछि प्रधानमन्त्रीको यात्रामा रोक लगाएको स्रातले बतायो । प्रधानमन्त्री देउवा बुधबार नै आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको डडेल्धुरा जाने तयारीमा थिए । बिहीबारदेखि उनको चुनावी कार्यक्रम तय गरिएको थियो । यसअघि पनि अयोगले कसको खर्चमा सरकारका उच्च अधिकारीहरु भ्रमण गरिरहेका छन भन्ने कुराको लेखा राख्न आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको थियो ।