कैलाली ३ मा दुई पूर्वसहकर्मीबीच प्रतिस्पर्धा
2022/11/06, 1:16
 
ss

तत्कालीन नेकपा माओवादी गरेको १० वर्षे जनयुद्धका क्रममा कृष्ण चौधरी ‘कुन्दन’ पार्टीको सांगठनिक र गौरीशंकर चौधरी सैन्य मोर्चामा थिए । पार्टीको फरक मोर्चामा भए पनि एउटै जिल्ला र क्षेत्रबासी उनीहरुबीच बेलाबेला भेटघाट भइरहन्थ्यो ।

माओवादी शान्ति प्रकृयामा आएपछि कुन्दन कैलालीको तत्कालीन क्षेत्र नम्बर ४ बाट २०६४ संविधान सभा सदस्यको उम्मेदवार बने । उनलाई चुनाव जिताउन अग्र मोर्चामा खटिनेमध्ये एक थिए–गौरीशंकर । कुनैबेला एउटै पार्टीका सहकर्मी उनीहरु यतिबेला प्रतिस्पर्धी बनेका छन् ।

कैलाली क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट कुन्दन र नेकपा एमालेबाट गौरीशंकर प्रतिस्पर्धा गर्न लागेका हुन् । कुनैबेला एउटै पार्टीमा रहेर सहकर्मीका रुपमा काम गरेका यी दुई नेताबीच प्रतिस्पर्धा रोचक हुनेछ । नेकपा खारेज भएपछि गौरीशंकर माओवादी छोडेर एमालेतिर लागेका हुन् । संविधान जारी भएपछि बावुराम भट्टराइसँगै माओवादी छोडेका कुन्दन केही महिनाअघिमात्रै आफ्नो पुरानै घर फर्केका हुन् । दुवै जना आआफ्नो पार्टीमा केन्द्रीय सदस्य छन् ।

गौरीशंकर २०७० र २०७४ को चुनावमा माओवादीबाट यहीँ क्षेत्रबाट संघमा विजयी भए । २०७४ मा वामगठबन्धनको सहारमा उनले पूर्वमन्त्री एवम् काँग्रेस नेता रामजनम चौधरीलाई पराजित गरेका थिए । नेकपाको नामसम्बन्धी मुद्दामा अदालतले एमाले र माओवादी ब्यूँताएपछि केही समय माओवादीमै रहेका उनी माओवादीसहितका दलले प्रतिनिधि सभा विघटनका विरुद्ध त्यतिबेला गरेको आन्दोलनमा पनि केही समय देखिएका थिए । आन्दोलनमा सहभागी भएकै बेला उनी एमालेमा प्रवेश गरेका थिए । एमालेतिर लागेका चौधरीको सांसद पद गुमेको थियो ।

आफू विगतमा मन्त्री र सांसद हुँदा निर्वाचन क्षेत्रमा गरेका कामले जनताले आफूलाई विजयी गराउने उनको विश्वास छ । तीन दलको गठबन्धन भए पनि जनताले यो क्षेत्रको विकासका लागि आफूले खेलेको भूमिकाको मूल्यांकन गर्ने उनले बताए । योसँगै एमालेको बलियो संगठन हुनु पनि आफ्नो जित्ने आधार रहेको उनले बताए ।

‘म कृषि मन्त्री हुँदा प्रधानमन्त्री कृषि कार्यक्रम यही क्षेत्रबाट सुरुवात गरेको थिएँ । यहाँको सडक, बाटोघाटो, पुलपुलेसा निर्माणमा मेरो भूमिका रहेको छ ।’ उनले भने, ‘ती कतिपय योजनाहरु अधुरा छन् । तिनलाई पूरा गर्न पनि जनताले मलाइ निर्वाचित गराउने छन् भन्ने मैले विश्वास लिएको छु ।’ प्रतिस्पर्धी उम्मेदवारसँग विगतमा एउटै पार्टीमा काम गरे पनि अहिले फरक भूमिकामा प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिएको उनले बताए ।

क्षेत्र नम्बर ३ मा द्वन्द्वकालदेखिनै माओवादीको बलियो प्रभाव रहँदै आएको छ । २०६४ यताका हरेक चुनावमा यहाँबाट माओवादी उम्मेदवार विजयी हुँदै आएका छन् । २०७० को निर्वाचनमा सुदूरपश्चिमभरि प्रत्यक्षतर्फ माओवादीले यो क्षेत्रमात्र चुनाव जितेको थियो । स्थानीय तहको पहिलो निर्वाचनमा क्षेत्र नम्बर ३ अन्तर्गत भजनी नगरपालिका र कैलारी गाउँपालिका प्रमुखसहित अधिकांश वडा माओवादीले जितेको थियो । घोडाघोडी नगरपालिका प्रमुखमा थोरै मतले पराजित भए पनि वडामा माओवादीको बर्चश्व थियो ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भने यहाँ माओवादीले अपेक्षित परिणाम ल्याउन सकेन । तीनै तहमा पालिकाको नेतृत्वमा माओवादी आएन । निर्वाचित जनप्रतिनिधिलाई दोहो¥याउँदा उनीहरुप्रतिको असन्तुष्टि यसपटक हारको कारण रहेको माओवादीको निष्कर्ष थियो । कृष्ण २०६४ को संविधान सभा निर्वाचनमा यहीँ क्षेत्रबाट निर्वाचित भएका कुन्दनलाई यसपालि माओवादीको विरासत फर्काउने चुनौती छ । माओवादीको आफ्नै बलियो प्रभाव हुनु र गठबन्धनसमेतको सहारामा उनको जीत सहज देखिन्छ । यद्यपि उम्मेदवारको व्यक्तित्व, पार्टीभित्रको असन्तुष्टि, चुनावी मुद्दा, जातीय, भेगीयजस्ता कारणले प्रभाव पर्ने भएकाले चुनावको परिणाम पूर्वआँकलनअनुसार नआउन सक्छ ।

जनप्रतिनिधि र राजनीतिकर्मीका रुपमा यो क्षेत्रको विकासमा आफूले खेलेको भूमिका, इमान्दार राजनीतिज्ञको रुपमा बनाएको छवि, पार्टीको संगठन र गठबन्धन आफ्नो जित्ने आधार भएको उनले बताए । ‘स्थानीय तहको चुनावको तथ्यांक हेर्ने हो भने हाम्रो प्रतिस्पर्धीनै कोही छैनन् । यो क्षेत्रका २६ मध्ये २० वटा वडामा गठबन्धनले जितेको छ । जसपाको एक वडाध्यक्षले पनि हामीलाई समर्थन गर्नु भएको छ ।’ उनले भने, ‘यसबाहेक यहाँको विकासमा मेरो पनि केही योगदान छ ।’

प्रतिस्पर्धी एमालेका उम्मेदवार १० वर्षसम्म सांसद र मन्त्रीका रुपमा यहाँको विकासमा ध्यान दिन नसकेको असन्तुष्टि पनि नागरिकमा रहेको उनले दावी गरे । आफूले यो क्षेत्रको विकासका लागि अघि सारेका एजेण्डालाई आफ्नो जित्ने आधार रहेको कुन्दनले बताए । ‘उम्मेदवारलाई लिएर हाम्रो पार्टी र गठबन्धनमा कुनै पनि समस्या छैन । गठबन्धनका सबै दल एक हुनुले पनि हाम्रो जित सहज छ ।’ उनले भने । प्रदेश सभातर्फ एक क्षेत्रमा माओवादी र दुईमा काँग्रेसले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा काँग्रेसबाट दुई जनाको बागी उम्मेदवारी छ ।

यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको पनि प्रभाव छ । उक्त पार्टीबाट गंगा चौधरी उम्मेदवार छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा काँग्रेसले १९ हजार ९९२, माओवादीले ११ हजार ७१६ र एमालेले ११ हजार २३९ मत पाएका थिए । त्यस्तै राप्रपाले छ हजार ६९९, नागरिक उन्मुक्तिले पाँच हजार २४७ र एकीकृत समाजवादीले दुई हजार ३८ मत पाएका थिए ।