भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न प्राधिकरणको टोली डोटी पुग्यो
2023/01/04, 3:48
 
erwee

गएको कात्तिक २३ गते डोटीको खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ६ रेक्टरस्केलको भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली डोटी पुगेको छ । भूकम्प गएको झण्डै दुई महिनापछि टोली डोटीमा पुगेको हो ।

भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै स्थानीय प्राविधिकहरुलाई अभिमुखीकरण गर्न टोली डोटी पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए । विस्तृत अध्ययनको लागि विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणकाबाट १३ जनाको जियोलोजिस्ट, हाईडोलोजिस्ट, ईस्टक्चर इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, सिभिल इन्जिनियरसहितको टिम आएको हो । केन्द्रबाट डोटी पुगेको टोलीले यहाँका पालिका तहका प्रमुख, जिल्लाका सरोकारवाला निकायहरुलाई कार्य सञ्चालनको बारेमा जानकारी गराउनुका साथै सबैलाई सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणको टिमले आज बुधबारदेखि आफ्नो कार्यथालनी गर्ने जनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प जाँदा तत्कालको समयमा गर्नुपर्ने आवश्यक राहत उद्धार लगायतका आवश्यक कार्य प्रभावकारी रुपमा सञ्चालन गरेको भए पनि पुर्ननिमार्णको लागि प्राधिकरणको टोली डोटी पुगेको हो । कात्तिक २३ गते बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परि पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको ज्यान गएको थियो । ७ जना घाइते भएका थिए। भूकम्पबाट आठ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ भने दर्जनौँ घरमा आंशिक क्षति पुगेको छ । भूकम्पपीडितहरुका लागि गैरागाउँमा अस्थायी टहरा निमार्णको काय गर्नको लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य अघि बढाएको प्रजिअ श्रेष्ठले बताए ।

भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत तथ्यांक संकलन विश्लेषण गरी आवश्यकताको पहिचान गर्न स्थलगत रुपमा गई काम गर्न टोली डोटी पुगेको बिपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव ध्रुव खड्काले बताए । क्षतिको विवरण संकलन गर्न डोटी पुगेको टोलीले पालिका तहका प्राविधिकहरुसँग प्राविधिक सीपको बारेमा जानकारी लिई संयुक्त रुपमा छिटो छरितो ढंगले तथ्यांक संकलन गरिने उप सचिव खड्काले जानकारी दिए । उनका अनुसार विवरण संकलन गर्न पािलका तहले सहयोग गरेको अवस्थामा १०–१५ दिनमा काम सकिने र सहयोग गर्न नसकेको अवस्थामा १–२ महिनासम्म समय लाग्न सक्ने छ ।

विस्तृत अध्ययन पश्चात् तथ्यांक संकलन गरिसकेपछि मूल्यांकलनको आधारमा सहयोगको लागि सम्झौता गरिने प्राधिकरणले जनाएको छ । प्रभावितहरुलाई के कसरी, कति सहयोग गर्ने भन्ने सन्दर्भमा नेपाल सरकारले कार्यविधि बनाइसकेको र पारित हुने तयारीमा रहेको समेत उप–सचिव खड्काले बताए ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार जिल्लाभिरमा भूकम्पका कारण कम्तिमा पनि पाँच हजार घरहरुमा पूर्ण तथा आंशिक रुपमा क्षति पुगेको छ । जस अन्तर्गत सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकामा र सबै भन्दा कम बोगटान फुडसिल गाउँपालिकामा रहेका घरहरुमा क्षति भएको छ । 

पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरु अहिले पनि खुला चौरमा रात बिताउन बाध्य भएका छन् । त्रिपाल भएका र तरकारी उत्पादनका लागि पोली हाउस बनाएका केही बाहेक अन्यले खुला चौरमै बसेर रात बिताउन बाध्य भएका छन् । पोली हाउस भएकाहरु भने त्यहीँ बसेका छन् ।

भूकम्पपछि पराकम्प गइरहेकाले पीडितहरुमा थप त्रास बढेको त्यहाँका स्थानीयवासी भरत बोहोराले बताए । उनका अनुसार अहिलेसम्म पीडितले राहत पाएका छैनन् । जाडोको बेला भएकाले चिसोबाट बँच्न आगो बालेर रात बिताउने गरेको उनले गुनासो गरे ।