
कैलालीमा ११ बर्षीया बलात्कारको घटना मिलाउन पुर्वमन्त्री गौरीशंकर थारुले दबाब दिईरहेको खुलेको छ । पिडित बालिकाका बुबाका अनुसार प्रतिनिधि सभा सदस्य तथा पुर्व कृषि मन्त्री गौरीशंकर थारुले घटनालाई गाउँमै मिलाउन पटक पटक दबाब दिएको खुलेको हो । घटना घटेको १५ दिनपछि मात्रै बालिका बलात्कार भएको घटना बाहिर आएको हो । यसअघि गाउँमा घटना मिलाउन पटक पटक दबाब दिईदै आएको थियो । बलात्कार गरेको आरोपमा पुर्वमन्त्री थारुका सहोदर भाई हुन् ।

उता बलात्कार गरिएकी ११ वर्षीया बालिकाको उपचारमा भने समस्या भएको छ । कैलारी गाउँपालिका वडा नम्बर २ की बलात्कारमा परेकी बालिकाको उपचारमा समस्या रहेको हो । बलात्कार भएको १५ दिन हुँदा पनि आर्थिक अभावमा उपचार गर्न नसकिएको पिडितका बुबाले बताएका छन् । बलात्कार भएपछि लगातार रक्तश्राव भएपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याईएपछि बलात्कार भएको घटना सार्वजनिक भएको थियो ।
सेतीमा सामान्य उपचारपछि बालिकालाई घर पठाईएकोमा उनलाई सन्चो हुन नसकेको पिडितका बुबाले जानकारी दिए । ‘छोरीलाई सन्चो भएको छैन् । घरमै सुतिरहेकी छे । उपचार गर्नका लागि पैसा पनि छैन हजुर ।’ पिडितका बुबाले भने—‘हामी त लेवरी गरेर खाने मान्छे । खानका लागि केही छैन् । काम पनि केही छैन । छोरीको उपचार कसरी गरौं ।’ ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २९ वर्षीय युवक वर्षीय दिपेन्द्र चौधरीलाई पक्राउ गरिसकेको छ । उनलाई म्याद थप भएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

३२ जेठमा बालिकाको बलात्कार भएको थियो । बालिकालाई कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका कारण उनले कसैलाई पनि भनेकी थिएनन् । तर रक्तश्राव नरोकिएपछि उपचार गर्नका लागि सेतीमा ल्याएप्छि बलात्कार भएको सार्वजनिक भएको थियो । घटनालाई मिलाउनका लागि राजनीतिक दबाबका कारण घटना गाउँमै मिलाउने प्रयास अझैसम्म पनि जारी छ । “प्रहरी अथवा बाहिर घटना सार्वजनिक नगर्नु बरु पैसा कति चाहिन्छ हामी दिन्छौ, यदि प्रहरीलाई भनेको खण्डमा राम्रो हुने छैन भनी धम्की आएका कारण प्रहरीकोमा उजुरी दिन सकेका थिएनौं ।“ बालिकाको आफन्तले बताएका छन् ।
बलात्कारपछि चौधरीले बालिकालाई समेत धम्की दिएका कारण घटना ढिलो गरी सार्वजनिक भएको हो । अहिले पनि बालिकाको गाउँमा मुद्दा मिलाउन दबाब आइरहेकोले आफूहरू गाउँमा असुरक्षित भएको बालिकाको परिवारले बताएका छन ।