सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिनमुनि सञ्चित, कसरी बच्ने ?
2023/01/29, 1:21
 
सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिनमुनि सञ्चित, कसरी बच्ने ?

धनगढी - सुदूरपश्चिममा ठूलोभूकम्पको खतरा रहेको भूकम्पविद्ले बताएका छन्। सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित रहेकोले जतिबेला पनि ठूलो भुकम्प आउन सक्ने भूकम्पविद्हरुले बताएका हुन् । सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए। उनका अनुसार ८ म्याग्निच्युट भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ ।

हरेक एक सय वर्षमा महाभूकम्प जाने गरेको र वर्षौदेखि भूकम्पीय शक्ति जमिनमुखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि जोखिम आउन सक्ने उनको भनाई छ। गत कात्तिकमा डोटीमा केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै गत मंगलबार बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गयो। दुवै ठाउँ नजिकै पर्छ। ‘ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको छ। सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ । यस क्षेत्रमा पटक–पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि रहन्छ। वरिष्ठ भूकम्पविद् अधिकारीले पूर्व–पश्चिममध्ये चारैतिर प्रत्यक वर्ष गइरहेने र ८ म्याग्निच्युट भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ म्याग्निच्युटलाई ठूलो र ६ देखि ७ म्याग्निच्युटलाई मध्यस्तर र त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरिएको बताए। उनले सुक्ष्म र अति सुक्ष्म भूकम्प प्रायः गइनै रहेको जानकारी दिए ।

हामीले बुझ्न र सचेत हुनुपर्ने विषय भनेको अब पूरै सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ। सोहिअनुसारको सावधान जोखिमबाट बच्ने उपाय भएको भूकम्पविद् बताउँछन्। २०७२ वैशाखमा गोर्खा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको थियो। त्यसले ठूलो जनधनको क्षति गरेको थियो। पूर्वजस्तै गोर्खाभन्दा पश्चिमतर्फको क्षेत्रमा निरन्तररुपमा भूकम्प आउँछ। तर विगत ५ सय वर्षयता गोर्खाभन्दा पश्चिमतर्फ देहरादुनसम्म पूर्वमा जस्तो महाभूकम्प गएको छैन। २०३७ सालमा बझाङमा ठूलो भूकम्प गएको थियो । २०५८ मा पनि बझाङ,बैतडी र दार्चुलातिर ठूलो भूकम्प गएको थियो। महाभूकम्पहरु सयौं वर्षको अन्तरालमा जान्छन्। नेपालमा दैनिकरुपमा ८ देखि १० वटा भूकम्प गइरहेका हुन्छन् । ४ म्याग्निच्युट कमका भूकम्पहरु महसुस गर्न सकिदैन्। निरन्तर भूकम्प गइरहने क्षेत्र भनेको जोखिमको क्षेत्र रहेको भूकम्पविद्ले बताएका छन्। भूकम्पविद्का अनुसार ठुला, मझौला तथा साना सहरीलगायत सुदुरपश्चिमका अन्य क्षेत्रहरु भूकम्पको जोखिममा रहेका छन्।

भूकम्पबाट कसरी बच्ने ?

बच्ने उपाय
– भूकम्पबाट मुख्य बच्ने उपाय भनेकै जानुभन्दा अगाडि गनुपर्ने पूर्वतयारी हो । भूकम्पले नभई हाम्रा कमजोर संरचनाले जनधनको क्षति गर्ने गर्छन् । तसर्थ, घर, सभागृह, मन्दिर, विद्यालयलगायत मानवनिर्मित संरचना भूकम्पप्रतिरोधी तथा बलियो बनाउन अत्यावश्यक छ ।
– प्राविधिकको सल्लाह लिएर सुरक्षित घर बनाउने, पुरानो घर भए मर्मत–सम्भार गर्ने, भारी सामान घरभित्र भए तिनलाई नहल्लिने गरी वा बाँधेर राख्ने गर्नुपर्छ ।
– विषादी र प्रज्वलनशील पदार्थलाई सुरक्षित ठाँउमा राख्नेजस्ता सावधानी अपनाएमा भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
– भूकम्प जतिवेला पनि आउन सक्ने भएकाले पूर्वतयारी गरी कसरी यसरी जोगिन सक्छु भन्ने धारणा बनाउन अनिवार्य छ । यदि, भूकम्प आइहालेमा आफू भएको स्थान र सुरक्षित स्थानबारे जानकारी हुनुपर्छ । जस्तै, घरसँगै कार्यालय, विद्यालय, बाटो, सुपरमार्केट आदिजस्ता आफू गइरहने ठाउँका सुरक्षित स्थानबारे सधैँ हेक्का राख्नुपर्छ ।
– भूकम्प आउँदा सावधानी अपनाउनेबारे फुर्सदको समयमा अभ्यास गर्न सकिन्छ । यसले भूकम्पबारे ज्ञान बढाउनुका साथै डराउने, आत्तिनेजस्ता समस्या समेत कम गराउँछ ।
– यदि ठूलो भूकम्प आइहालेमा के गर्ने भन्नेबारे घर–छिमेक र समाजमा छलफल गर्नुपर्छ । त्यस्तै, हरेक स्कुलमा बालबालिकालाई यसका बच्ने उपायबारे ज्ञान दिन अनिवार्य छ ।
– भूकम्प जतिवेला पनि आउन सक्छ भन्ने बुझेर आपत्कालीन (इमेर्जेन्सी)का लागि अत्यावश्यक सामानको झोला सधैँ तयार राख्नुपर्छ । जस्तै, टर्च, रेडियो, फोन, खानेकुरा उक्त झोलामा राख्दा विपत्का वेला ठूलो फाइदा पुग्छ ।
– भूकम्प आइसकेपछि सुरक्षित स्थान अर्थात् खुला ठाउँमा जानुपर्छ । नडराई र नआत्तीकन सूचना दिने, अरूलाई सहयोग गर्ने, घाइतेलाई सुरक्षित स्थानमा जान सहयोग गर्ने गर्नुपर्छ ।
– ड्राइभिङ गर्दा भूकम्प आए सोही ठाउँमा एक छिन अडिएर सुरक्षित स्थानमा जानुपर्छ । बाटो, सडकमा भएमा पोल, ठूला होर्डिङ बोर्ड र घरका छेउमा बस्नुहुँदैन । घरभित्र भएमा सामान झरेर नभेट्ने खुल्ला ठाउँमा तुरुन्त जानुपर्छ ।
– भूकम्प आउँदा डराउने र आत्तिने गर्नाले झनै जोखिम हुने गर्छ । पर्याप्त ज्ञानको कमीका कारण यस्तो भएको हो । तसर्थ, सबै मानिसले भूकम्पबारे जानकारी लिन जरुरी छ । यसले आममानिसमा डर हटाउँछ र आपत्कालीन स्थितिमा पनि भूकम्पबाट जोगिन सकिन्छ ।

आउने संकेत यस्ता- भूकम्प कतिवेला, कत्रो जान्छ भन्ने ठ्याक्कै अनुमान लगाउन सकिँदैन । यद्यपि, विनाकारण कुकुर भुक्नु, चराचुरुंगी एकाएक कराउनु, गाईबस्तु आत्तिनु आदि अस्वाभाविक अवस्थालाई भूकम्प जान सक्ने संकेत मानिन्छ ।