प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
2023/06/21, 1:39
 
11

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम विद्यालयस्तरीय कविता महोत्सव मङ्गलवार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवको प्रमुख अतिथि प्रा डा देवी नेपाल रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रा।डा  नेपालले विद्यालयले प्रथम कविता महोत्सव आयोजना गरेर अत्यन्त राम्रो कार्यको थालनी गरेको बताए ।

साहित्यको क्षेत्रमा विद्यालयले गर्दै आएको प्रयास उल्लेखनीय रहेको उनले बताए ।    विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रा।डा। नेपालले सुदूरपश्चिममा सिर्जना र संस्कृतिको थालनी देशकै लागि सुखद रहेको उल्लेख गरे। कार्यक्रममा बोल्दै सुप प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले सुप प्रज्ञा प्रतिष्ठानद्वारा यही वर्ष बाल साहित्य महोत्सव आयोजना गर्ने बताए ।

कविता महोत्सवमा महाकाव्यकार मनिराज जोशी,रामचन्द्र नेपाल,प्याब्सन कैलालीका अध्यक्ष एबम साहित्यकार टोपेन्द्र शाह,हेमन्ती जोशी,धनगढी वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर ऐर, पुनर्वास नगरपालिका ११ का वडा अध्यक्ष तुलसी अर्याल, उदाउँदा युवा कवि विभूति अधिकारी लगायतले मन्तव्य राखेका थिए।

विद्यालयका संस्थापक प्राचार्य राम प्रसाद उपाध्यायले विद्यालयले गरेको कविता महोत्सवलाई आगामी दिनहरूमा अझै उत्कृष्ट ढङ्गले आयोजना गर्ने बताए । धनगढीका १६ वटा विद्यालयका विद्यार्थीहरूले कविता वाचन गरेको महोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।