बैतडी समाज कैलालीको रक्तदान कार्यक्रममा ११८ जनाद्धारा रगतदान
2023/08/13, 10:28
 
बैतडी समाज कैलालीको रक्तदान कार्यक्रममा ११८ जनाद्धारा रगतदान

धनगढी - बैतडी समाज कैलालीको आयोजनामा भएको ११ औँ बृहत रक्तदान तथा खीरखाने कार्यक्रम सम्पन्न भएको छ । धनगढीको पदमा नर्सिङ कलेजसँगै रहेको समाजको सचिवालय प्राङ्गणमा आज रक्तदान तथा खीर खाने कार्यक्रम आयोजना गरिएको थियो।

बिहान ८ बजे देखि सुरु गरिएको रक्तदान कार्यक्रममा १० महिला र १ सय ८ जना पुरुष गरी ११८ जनाले रक्तदान गरेको बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले बताए । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ समाजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजका अध्यक्ष भट्टले जानकारी दिए ।बैतडी समाज कैलालीले रगतको अभाव भएको बेला र अन्य समयमा पनी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ।

विगतमा पनि यस्ता थुप्रै कार्यक्रम गरिसकेको रक्तदान संयोजक राज बहादुर चन्दले जानकारी दिए ।बैतडी समाज कैलालीले हरेक वर्ष बैतडीका ग्रामीण र दुर्गम भेगमा स्वास्थ्य शिविरको पनि आयोजना गर्दै आएको छ । यसअघि समाजले बैतडीको पाटन र मेलौलीमा दुई वटा बृहत स्वास्थ्य शिविरको आयोजना सम्पन्न गरिसकेको छ । बैतडीको पाटनमा आयोजना भएको स्वास्थ्य शिविरमा ३२ सय जना र मेलौलीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ५७ सय ६० जनाले स्वास्थ्य जाँच गराएका थिए भने आज सम्म १ हजार २३ जनाले रक्तदान गरेको संयोजक चन्दले बताए।

यो समाज बैतडी जन्म घर भई हाल कैलालीमा आई बस्नेहरुको, कामगर्नेहरुको र पढ्ने विध्यार्थीहरुको साझा समूह हो,उनले भने । रचनात्मक कार्यक्रम देखि लिएर तालिम गोष्ठी,संस्कृति संरक्षणका साथै वृक्षारोपण र रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले जनाएको छ। आयोजकले रक्तदान गर्ने सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो।